कारोबार


बनिनसक्दै भासियो तीन करोडको रोशी पुल

बनिनसक्दै भासियो तीन करोडको रोशी पुल

नेपालखबर
साउन ५, २०७६ आइतबार १०:११,

निर्माण भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो। रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ।

पुल साल्मिटारतर्फ करीब एक फिटसम्म र बल्थलीतर्फ करीब छ इन्च भासिएको छ। पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन्। उक्त पुल जेठ महिनामा निर्माण सम्पन्न भएको हो।

पूर्वाधार कार्यालय प्रमुख इन्जिनियर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको, पुलको दायाँबायाँ जमीनसँग जोड्ने स्ल्याबमात्रै भासिएको बताए। ‘प्राविधिकले हेरिसक्नुभएको छ, निर्माणका बेला ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको रिपोर्ट आएको छ’, उनले भने। उनका अनुसार निर्माण कम्पनीले सम्पूर्ण क्षति पुनःनिर्माण गर्नेछ।

पुल निर्माणको एक वर्षसम्म ‘त्रुटि सच्याउने अवधि’को प्रावधान भएकाले सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिए। उनले पहिला क्षतिको विवरण सङ्कलन गरिएकाले अब पुलको गुणस्तरबारे परीक्षण गरिने बताए। उनले भने ‘सम्झौताअनुसारको गुणस्तर नभए निर्माण कम्पनीलाई कारवाही गरिनेछ।’

त्रुटि सच्याउने अवधि (एक वर्ष) सकिएपछि सम्झौताअनुसारको पुल निर्माण कम्पनीले जिल्लास्थित प्राधिकरणको पूर्वाधार कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ। तर निर्मााण कम्पनीले भने पुल निर्माणार्थ सम्झौताअनुसारको रकम लिइसकेको छ।

निर्माण सम्पन्न भएलगत्तै पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका खम्बा लडेपछि स्थानीयवासीले नपा कार्यालयमा गुनासो गरेका थिए। तत्कालीन अवस्थामा नपाको एक टोलीले गरेको अगुगमनमा पुल गुणस्तरीय नबनेको जानकारी ल्याएको नपा प्रमुख भीम न्यौपानेले बताए। उनले भने ‘हाम्रो अनुगमन टोलीले गत असारमै पुल गुणस्तरसँग नबनेको प्रतिवेदन पेश गरेको थियो, अहिले भासियो।’

न्यौपानेले दाता र निर्माण कम्पनीबीच पुल निर्माण सम्बन्धमा गम्भीर छलफल गर्नुपर्ने बताए। ‘सम्बन्धित निकायलाई पुल निर्माणमा त्रुटि भएको जानकारी गराउँदा पनि बेवास्ता गरियो, सम्झौताअनुसारको गुणस्तरमा पुल नबनेको भए हामी जिम्मा लिँदैनौँ’, उनले भने। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad