नेपाल राष्ट्र बैंकले स्थानीय सरकारले जारी गरेको निषेधाज्ञाकै बीच पनि आधारभूत बैंकिङ सेवा जारी गर्न बुधबार निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कायमै रहने गरी निषेधाज्ञा आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको हो।
जसअनुसार बैंक तथा वित्तीय संस्थाले बिहीबारदेखि विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी ग्राहकलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गराउनुपर्नेछ। त्यस्तै एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ।
अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि निर्देशनमा भनिएको छ। यस्तै सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी यथासम्भव निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबारहरु नगद भुक्तानी÷जम्मा, बैंक, ट्रान्सफर, चेक क्लियरिङ आदि) सुचारु गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई भनेको छ ।
त्यस्तै, खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेबसाइटमा अद्यावधिक गर्नुको साथै बन्द रहने शाखाको मूलढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि निर्देशनमा भनिएको छ।

प्रतिक्रिया