सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु. ७५ करोड बराबरको रु.१०० दरका ७५ लाख कित्ताको जम्मा रु.७५ पचहत्तर करोड रूपैयाँको सेयर सार्वजनिक निष्काशनका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे।
अधिकृत पूँजी रु. ३०० करोड रहेको कम्पनीमा संस्थापक सेयरधनीबाट रु १७५ करोड चुक्ता भईसकेको र सर्वसाधारणका लागि छुट्टाईएको रकम रु ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई सेयर जारी गरी कम्पनीको चुक्ता पूँजी रु. २५० करोड पुग्ने जनाएको छ।
यसरी प्राथमिक सेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको यस आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी रु. ३३ करोड ८३ लाख पु-याउन सफल भएको छ।
जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम मध्ये करिब ९१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ।
यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ।
हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्र्दैै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

प्रतिक्रिया