कारोबार


त्रिभुवन विमानस्थलमा समानान्तर ट्याक्सी वे निर्माण गर्न साढे २ अर्ब विनियोजन

त्रिभुवन विमानस्थलमा समानान्तर ट्याक्सी वे निर्माण गर्न साढे २ अर्ब विनियोजन

नेपालखबर
साउन २७, २०७७ मंगलबार ८:७,

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको उत्तर र दक्षिणमा समानान्तर ट्याक्सी वे निर्माणको लागि साढे २ अर्ब बजेट विनियोजन गरेको छ।

प्राधिकरणले धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी वे र दक्षिणतर्फ टेक्सी वे निर्माण गर्न उक्त बजेट विनियोजन गरेको हो।

धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी वे निर्माणको लागि १ अर्ब ९१ करोड २३ लाख विनियोजन गरिएको छ। विमानस्थलको धावनमार्गको दक्षिणतर्फ समानान्तर ट्याक्सी वे निर्माणका लागि १ अर्ब ४६ करोड १ लाख बजेट विनियोज गरेको छ।

एप्रोन भनेको हवाइ यात्रु चढाउने/ओराल्ने वा पार्किक स्थल हो भने ट्याक्सी वे भनेको रन वे, एप्रोन, ह्याङगर, टर्मिनल भवन जोड्ने पहुँचमार्ग हो।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक एयरपोर्टको अवधारणाअनुरुपको बाँकी काम ‘क्यानोपी स्ट्रक्चर’ र टर्मिनल भवनहरुको रिनोभेसन तथा साजसज्जाको कार्य यो वर्षभित्र सम्पन्न गर्ने दाबी गरेको छ।

बुटिक एयरपोर्टको अवधारणाअनुसार बाँकी काम पूरा गर्नका लागि क्यानोपी/आन्तरिक टर्मिनल भवन निर्माणका लागि २८ करोड बजेट विनियोजन गरेको छ।

प्रधिकरणले टर्मिनल भवन विस्तार तथा स्तरोन्नतिका लागि ४० करोड, विमानस्थलको रिमोर्ट पार्किङ वेमा हाई मास्ट विथ लिड लाइटका लागि ३ करोड र ब्यागेज ह्यान्डलिङ सिस्टम जडानका लागि ५ करोड ६० लाख बजेट विनियोजन गरेको छ।

त्रिभुवन विमानस्थलको पूर्वाधार विकासको लागि प्राधिकरणले त्रिभुवन विमानस्थलको पूर्वाधार निर्माणको लागि मात्रै ३ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ भने विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड बजेट विनियोजन गरिएको छ।

महामारीबाट बच्न स्वास्थ्य सुरक्षा अपनाइने
प्राधिकरणले महामारीको जोखिमबाट बच्न यो वर्षबाट त्रिभुवन विमानस्थलसहित अन्य विमानस्थ्लमा सुरक्षा विधि अपनाइने जनाएको छ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ले विमानस्थलहरुमा परेको प्रतिकूल प्रभावबाट शिक्षा लिई त्रिभुवन विमानस्थललगायतमा महामारी रोगबाट सुरक्षित रहन सम्बन्धित निकायसँग समन्वय तथा सहकार्य गरी विमानस्थलबाट अपनाउनुपर्ने स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक सबै सुरक्षा उपायहरु अपनाई सुरक्षित आवागमनको व्यवस्था मिलाइने बताएको छ।

त्रिभुवन विमानस्थललाई चौबीसै घण्टा सञ्चालन योग्य राखिने दाबी गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रित वायुयान आधारस्थललाई क्रमशः हब एयरपोर्टमा स्थानान्तरण गर्ने कार्य थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्रिभुवन विमानस्थलमा गत वर्ष के–के काम भए?
प्राधिकरणले लामो समय सम्पन्न हुन नसकेका धेरै काम सकिएको बताएको छ। लकडाउनको अवसरलाई छोप्दै टर्मिनल भवनसहित एप्रोन र धावनमार्ग विस्तार गरेको जनाएको छ।

विमानस्थलको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत धावनमार्ग तथा ट्याक्सीमार्गको विश्वमा प्रचलित आधुनिक प्रविधि तथा सामाग्रीको प्रयोग गरी पुनरुद्धार गर्ने कार्य सम्पन्न गरिएको प्राधिकरणको दाबी छ।

आर्थिक वर्ष २०७६÷०७७ मा विमानस्थलमा थप २ वाइडबडी विमान विसान (पार्किङ) क्षमताको एप्रोन निर्माण सम्पन्न भएको छ। धावनमार्गको लम्बाइ ३ सय मिटर बढाई रनवे सेफ्टी एरिया बनाउने कार्य पनि सकिएको छ।

विमानस्थलमा नयाँ प्रस्थान कक्षको निर्माणसम्पन्न भई सञ्चालनमा ल्याइएको छ र पुरानो प्रस्थान कक्षका टहराहरुलाई हटाइएको छ।

विमानस्थलको आन्तरिक टर्मिनलमा ब्यागेज हेन्डलिङ सिस्टम सञ्चालनमा ल्याइएको छ। यसबाट आन्तरिक उडानका हवाइ यात्रुको सरसामान लिन सहज भएको बताएको छ।

अन्तर्राष्ट्रिय यात्रु चेक–इन क्षेत्रमा इन लाइन ब्यागेज स्क्रिनिङ सिस्टम जडान गरी सञ्चालनमा ल्याइएको छ।

विमानस्थलमा २४ वटा आन्तरिक वायुयान विसान (पार्किङ) क्षमताको एप्रोन निर्माण र ट्याक्सी मार्गलाई उत्तरतर्फ धावनमार्गको अन्तिम भागमा जोड्ने निर्माणको लागि सम्झौता भएको छ।

बुटिक विमानस्थलको अवधारणाअनुरुप टर्मिनल भवनको बाहिरपट्टि सिलिकन पेन्टिङ, बगैँचा निर्माण, ब्यागेज क्लेम एरियामा कलात्मक मूर्तिहरु तथा आगमन स्थानमा बाहिर बुद्धको आकर्षक ठूला धातुको कलात्मक मूर्ति राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad