ज्योति विकास बैंक लिमिटेडले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मरसम्बन्धी परियोजनामा सहकार्य गर्ने सम्झौता गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले आफ्नो १२औँ वार्षिकोत्सवको अवसर पारेर साउन ९ गते नै सहकार्य गर्ने घोषणा गरेअनुसार सोमबार दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा महावीर पुनले हस्ताक्षर गरेका हुन्। सम्झौताबमोजिम ज्योति विकास बैंकले १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउनको लागि आवश्यक ८ लाख रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ भने ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई प्रदान गरिनेछ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको बेबी वार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो।
नेपाली समाजमा स्थानीय तहमा सुषूप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ। हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब लगानी गरेको छ।

प्रतिक्रिया