ad ad

कारोबार


पर्यटन मन्त्रालयले तयार गर्‍यो अन्तर्राष्ट्रिय उडानको मापदण्ड, कसले के पालना गर्ने?

पर्यटन मन्त्रालयले तयार गर्‍यो अन्तर्राष्ट्रिय उडानको मापदण्ड, कसले के पालना गर्ने?

वसन्त अर्याल
साउन २५, २०७७ आइतबार १३:५२,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ देखी अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरी मापदण्ड तयार पारेको छ।

पर्यटन मन्त्रालयले स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयहरुसँग मिलेर मापदण्ड तयार पारेको हो।

सो मापदण्डअनुसार कोरोनाको पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट सहित नेपाल आउन चाहने व्यक्ति सबै आउन पाउने व्यवस्था गरिएको छ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले पीसीआर नेगेटिभ भएको जुनसुकै देशको नागरिक पनि नेपाल आउन पाउने प्रस्ताव गरेको बताएका छन्।

साउन ५ गते मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने मापदण्ड बनाउने जिम्मेवारी दिएको थियो।

‘मन्त्रालयले तयार पारेको मापदण्ड स्वीकृत गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको छ,’ सहसचिव आचार्यले नेपालखबरसंग भने ‘सीसीएमसीले प्रोटोकल स्वीकृत गर्‍यो भने भदौ १ देखि नै पाँच उडान भएपनि सुरु गर्ने तयारी गरेका छौं।’

उनले मन्त्रिपरिषदले भदौ १ देखि उडान गर्ने निर्णय गरेको भन्दै वैदेशिक रोजगारीमा गएका नेपाली ल्याउन पनि नियमित उडान आवश्यक भएको बताए।

उनले नियमित उडान गर्दा हवाई भाडादरमा प्रतिस्पर्धा भई मिलेमतो नहुने बताए।

‘थोरै भएपनि नियमित उडान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो र सोहिअनुसार तयारी गरिएको हो,’ उनले भने ‘संक्रमित बढी भएको देशमा उडान गर्दैनौं। भारत, बैंकक, सिंगापुर जस्ता देशमा अहिले सुरु गर्दैनौं।’

तर सीसीएमसीको निर्देशन के हुन्छ त्यो अनुसार अघि बढ्ने उनले बताए। आइतबारकाे सीसीएमसी र साेमबार बस्ने मन्त्रिपरिषद् बैठककाे निर्णयपछि मात्र मन्त्रालयकाे प्रस्तावबारे टुंगाे लाग्नेछ।

के छ मापदण्डमा?
नेपाल आउनको लागि पीसीआरको रिपोर्ट अनिवार्य हुनुपर्ने र कुन संस्थाले दिएको रिपोर्ट हो सो प्रष्ट खुलाउनुपर्ने मापदण्डमा उल्लेख छ।

नेपाल आउने विदेशीले सीसीएमसीको अनलाइनमा फर्म भर्नुपर्ने, नेपाल आउँदा सात दिनको लागि होटल बुक गर्नुपर्ने व्यवस्था गरिएको छ।

विदेशी पर्यटक १४ दिन क्वारेन्टिनमा बसेपछि कुन प्रयोजनका लागि नेपाल आएको हो त्यसमा संलग्न हुन पाउने व्यवस्था रहेको आचार्यले जानकारी दिए।

नेपालमा कुटनीतिक नियोगका सदस्य आएपनि १४ दिन होटल क्वारेन्टिन बस्नुपर्ने र त्यसपछि परराष्ट्र मन्त्रालयलाई जानकारी दिनुपर्ने मापदण्डमा उल्लेख छ।

गैरआवासीय नेपाली (एनआरएन) हरु आउँदा भने ७ दिन होटल बस्नैपर्ने र ७ दिनपछि होम क्वारेन्टिन गरी जम्मा १४ दिन बस्नुपर्ने व्यवस्था गरिएको छ।

विदेशमा रोकिएका नेपाली नागरिकलाई भने होटल क्वारेन्टिनमा बस्नुपर्ने छैन।

‘नेपाली नागरिक स्वदेश आउँदा पीसीआरको रिपोर्ट नेगेटिभ हुनैपर्छ। उनीहरु सिधै घरजान सक्छन्। १४ दिन बसेको जानकारी त्यहाँको स्थानीय सीसीएमसीमा दिनुपर्छ,’ आचार्यले भने।

मन्त्रालयले आन्तरिक उडान गरेपनि यात्रा निरुत्साहित गर्ने मापदण्ड भएको बताएको छ।

‘आन्तरिकमा यात्रालाई निरुत्साहित गर्न खोजेका छौं। हवाई यात्रागरी कुनै गन्तव्यमा गए आफु कुन ठाउँमा बस्ने हो, त्यसबारे सरकारी निकायमा जानकारी गराउनुपर्छ। सात दिन होम क्वारेन्टिनमा बस्नुपर्छ भन्ने प्रस्ताव गरेका छौं,’ उनले भने।

यात्रा गर्दा कुनैपनि यात्रु उड्दा यात्रुको तापक्रम नापिने, सामाजिक दुरी कायम गर्ने, ल्याउने सामानहरु स्यानिटाइज गर्ने र मास्क अनिवार्य लगाउनै पर्ने लगायतका प्रावधान राखिएको छ।

याे पनि: 
हवाई उडानबारे सीसीएमसी अनिर्णित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .