उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजीनामा दिएका ज्ञानेन्द्रलाल प्रधान नेपाल उद्योग परिसंघमा प्रवेश गरेका छन्। परिसंघको ऊर्जा विकास परिषद् संयोजकको रुपमा उनको प्रवेश भएको हो।
महासंघको कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयलाई लिएर करिब दुई वर्षअघि उनले महासंघ छोडेका थिए। महासंघको अनियमितताको विषयमा अडियो टेप नै बाहिर आएको थियो।
परिसंघका अनुसार ऊर्जा विकास परिषद् पुनर्गठित गरेर उनलाई संयोजकको जिम्मेवारी दिएको हो। परिसंघले समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारको लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्न परिसंघभित्रको ऊर्जा विकास परिषद्को पुनर्गठन गरेको जानकारी दिएको छ।
ऊर्जा क्षेत्रमा देखिएको थप सम्भावना र चुनौतीहरूको विश्लेषण गरी ऊर्जा क्षेत्रको रणनीतिका साथै नीतिगत व्यवस्था एवं छलफलमार्फत ऊर्जा क्षेत्रको विकास र विस्तार गर्न परिषद् पुनर्गठन भएको सीएनआईले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया