कारोबार


ठूलाे लगानी होइन, चार साथीको पसिनाले जन्मिएकाे थियाे- खल्ती

ठूलाे लगानी होइन, चार साथीको पसिनाले जन्मिएकाे थियाे- खल्ती

सन्तोष न्यौपाने
साउन २०, २०७७ मंगलबार ११:१४,

कुनै बेला एक राजाले आफ्नो दरबारमा एउटा कुकुर पालेका थिए। कुकुर जर्मन सेफर्डजस्तो ज्याङ्गो थियो। उसको पालनपोषणमा लाखौँ खर्च हुन्थ्यो।

एक दिन दरबारमा मृग पस्यो। राजाले सहयोगीलाई तुरुन्त अह्राए, ‘कुकुर लगाएर यो मृग मारेर ल्याऊ।’

कुकुरले मृगलाई लखेट्यो। तर कति गर्दा पनि मृग मार्न सकेन। मृग दरबारबाट भाग्यो। बाहिर सडक पेटीमा भुस्याहा कुकुर थियो। उसले मृगलाई देख्यो र पछ्यायाे।

अन्ततः भुस्याहा कुकुरले मृग मारेर भोक मेट्यो। यो देखेर राजा रिसाए।

‘हाम्रो यस्तो बलियो कुकुरले त्यो मृग किन मार्न सकेन?’, सहयोगीलाई राजाले सोधे।

सहयोगीले राजालाई अनुरोध गरे, ‘हाम्रो कुकुर हजुरको भोकको लागि दौडिरहेको थियो तर बाहिरको कुकुर आफ्नो भोकको लागि दौडियो। त्यही भएर मृग मर्‍यो।’
000

यो कथा ‘खल्ती मोबाइल वालेट’ सुरु गर्दैगर्दाको प्रसंग हो।

Khalti office

खल्तीको तयारी गरिरहँदा अमित अग्रवालले आफ्नो पार्टनर मनिषलाई सोधेका थिए, ‘यार, हामीसँग पैसा नै छैन। मोबाइल वालेट चलाउन ठूलो लगानी गर्नुपर्छ। मिहिनेत उत्तिकै चाहिन्छ। हामी गर्न सक्छौँ त?’

प्रश्न सुनेपछि मनिषले अमितलाई सामुन्नेमा राखेर यही ‘राजाको कथा’ सुनाए।

कम्पनी चलाउन बजारमा कस्ता ‘प्लेयर’ छन् भनेर चिन्ता लिने हो भने कहिल्यै सुरु हुँदैन। सबैभन्दा महत्वपूर्ण कुरा त्यो व्यवसायप्रति हामी आफैँ कति ‘भोको’ छौँ भन्नेमा भर पर्छ।

खल्ती सुरु गर्दा अमित र उनका साथीहरु त्यस्तै ‘भोका’ थिए। कुनै पनि मोबाइल वालेट सञ्चालन गर्न ठूलो लगानी चाहिन्छ। तर, उनीहरु लगानीका हिसाबले तयार थिएनन्।

पहिलेको व्यवसायबाट केही रकम जम्मा गरेका थिए। त्यसले छेउटुप्पो हुनेवाला केही थिएन।

‘आर्थिक विश्लेषकलाई सोधेको भए, यस्तो प्रोजेक्ट त सुरु नै नगर भन्थे,’ आइतबार बखुन्डोलको खल्ती कार्यालयमा निर्देशक अमितले खल्तीको कथा सुनाए, ‘नयाँ स्टार्टअप सुरु गर्न हामीजस्तै मान्छे चाहिन्छ। ‘बौलाहा मान्छे’।’

Amit agrawal3

खल्ती सुरु गर्न चार ‘बौलाहा’ मान्छेको समूह बनेको थियो। जसले लगानीभन्दा पसिनालाई धेरै विश्वास गर्छन्।

रातदिन पसिना बगाउने हो भने सानो लगानीले पनि ठूलो काम गर्न सकिन्छ भन्ने उनीहरुले प्रमाणित गरेका छन्। दरबारको कुकुरले नमारेको मृग मार्न सकिन्छ भन्ने विश्वास चारै जना पार्टनरलाई थियो।

त्यो विश्वास सत्य साबित हुने क्रममा छ। खल्ती सुरु भएको तीन वर्षपछि चारतले बिल्डिङको एक कोठामा बसेर यी चार साथीहरुले मुलुकको डिजिटल बजारलाई हस्तक्षेप गरिरहेका छन्।

नेपालीको हरेक घरघरमा पुग्ने लक्ष्यका साथ १३५ भन्दा धेरै कर्मचारीलाई परिचालन गरिरहेका छन्। दश लाख एप डाउनलोड भएको छ भने दुई दर्जन बैंक तथा वित्तीय संस्थाले उनीहरुसँग सहकार्य गरिरहेका छन्। थपिने क्रम जारी छ।

मृग मार्न अझै बाँकी छ। त्यही लक्ष्यमा पुग्ने आधार बनाउँदै छन् चार ‘दोस्त’हरु– अमित अग्रवाल, मनिष मोदी, ध्रुव अधिकारी र अरविन शाह।

Khalti owner group pic

एसएमएसमा यसरी जोडिएका थिए चार साथी
सुबिसुमा काम सुरु गरेको तीन महिना मात्र भएको थियो। छोटो समयमै अमितलाई लाग्यो– आईटी भनेको उनको ‘कप अफ टी’ होइन। आईटीभन्दा मार्केटिङ, बिजनेस, डेभलपमेन्टमा काम गर्न सक्छु भन्ने उनलाई लाग्यो।

यता पुल्चोक इन्जिनियरिङ पढ्दै गरेका तीन साथीहरु मनिष, ध्रुव र अरविनले ‘जानकी टेक्नोलोजी’ सुरु गरिसकेका थिए। अमित पनि उनको कलेजको अन्तिम वर्षको प्रोजेक्टको लागि जानकी टेक गइरहन्थे।

साथीहरुको तीन कोठाको फ्ल्याट थियो। दुई कोठामा दुई पार्टनर मनिष र अरविन बस्थे। एउटा कोठालाई कार्यालय बनाएका थिए। एउटा कम्प्युटर र एउटा टेबल थियो।

सुबिसुमा काम सुरु गरेका अमित तीन महिनामै सन् २००९ नोभेम्बरमा जानकी टेकमा आए। त्यो बेलासम्म जानकी टेकले आउट सोर्सिङको काम गर्थ्याे।

विस्तारै उनीहरुलाई लाग्यो– बाहिरको काम गर्नुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ।

‘यहीँको प्रडक्ट बनाऊँ र यहीँको समस्या समाधान गरौँ भन्ने लाग्यो,’ अमित भन्छन्।

मार्च २० विश्व भंगेरा दिवसको अवसर थियो। यही दिन पारेर सन् २०१० मा उनीहरुले ‘स्पारो एसएमएस’ सेवा सुरु गरे। अमित पनि व्यवसायको पार्टनर बने।वर्षेनी दशौँ लाख एसएमएस जनतामाझ पुर्‍याउन थाले। एसएलसी परीक्षाफलदेखि संस्थागत रुपमा एसएमएस पठाउने काम सुरु भयो।

Khalti office 7

पहिला एसएमएस पठाउने ‘ट्रेन्ड’ फरक थियो। सुत्ने बेलामा शुभरात्रि म्यासेज पनि एसएमएसबाट जान्थ्यो। कुनै पनि चाडपर्वमा शुभकामना एसएमएसबाटै हुन्थ्यो।

लोडसेडिङ परिवर्तन हुँदा पनि हजारौं एसएमएस आदानप्रदान हुन्थे। महिनामा चार÷पाँचपटक लोडसेडिङ तालिका परिवर्तन हुन्थ्यो।

त्यो बेला इन्टरनेट र स्मार्टफोन खासै फस्टाएको थिएन। फिचर फोनबाट सानो–सानो जानकारी लिन पनि एसएमएस गरिन्थ्यो।

उनीहरुले एसएमएस सेवा सुरु गर्दा पनि बजारमा ठूला ‘प्लेयर’ थिए। अहिले खल्ती सुरु गर्दाजस्तै। कान्तिपुर मिडियाले समेत एसएलसीको परीक्षाफल जानकारी दिने एसएमएस सेवा दिएको थियो।

विस्तारै इन्टरनेटको जमाना आयो। स्मार्टफोनको पहुँच बढ्यो। एसएमएसलाई सामाजिक सञ्जालले प्रतिस्थापन गर्न थाल्यो। अहिले त धेरै सरकारी र निजी कार्यालयहरुको वेबसाइट सुरु भएको छ। ग्राहकको नम्बर ‘भेरिफाई’ गर्ने एसएमएसको संख्या वृद्धि भएको छ।

बैंकमा कारोबारदेखि विभिन्न एपमा दर्ता गर्दा आउने जानकारी सबै एसएमएस हुन्। यसलाई ‘एटुपी’ अर्थात् एप्लिकेसन टु पिपुल भनिन्छ।

‘पहिला इन्बाउन्ड एसएमएस बढी थियो’, अमितले भने, ‘अहिले कुनै सफ्टवेयरले पठाउने एटुपी एसएमएस वृद्धि भएको छ।’ बल्क एसएमएस, ट्रान्जेक्सन एसएमएस पठाउने काम बढेको छ। यो अझै बढ्छ।

अहिलेसम्म उनीहरुले ३ हजारदेखि ४ हजार कम्पनीहरुलाई एसएमएस सेवा दिइरहेका छन्। विभिन्न सरकारी निकायहरु राजस्व विभाग, गृह मन्त्रालय, लोकसेवा आयोगजस्ता संस्थाले स्प्यारो एसएमएसको सेवा लिइरहेका छन्।

hjhdjf

खल्तीको सुरुवात
सन् २०१७ मा क्यान इन्फोटेक मेला सुरु हुँदै थियो। मेलामा आउने हजारौं दर्शकमाझ पुग्नसके ठूलो उपलब्धि हुनेछ भन्ने उनीहरुलाई लागेको थियो।

त्यसैले क्यान इन्फोटेकको टिकट पछाडि पहिलोपटक जानकारी गराए–खल्ती डटकम।

क्यान इन्फोटेक सुरु हुनै लागेको थियो तर खल्ती सुरु भइसकेको थिएन। सुरु गर्न धेरै काम गर्नु थियो।

टिकटको पछाडिको विज्ञापनले उनीहरुलाई ठूलो प्रेसर भयो। दर्शकहरुले इन्टरनेटमा खल्ती डटकम खाेज्दा भेट्टाएनन् भने सुरुवात नै खराब हुनेवाला थियो।

तयारी तीव्र बनाए। ८ वटा स्लिपिङ ब्याग किने। अफिसमै किचन बनाए। अफिसको अगाडिको होटलमा कोठा लिए। थकालीमा खाना खाए।

‘त्यो बेला हाम्रो टेक्नोलोजी टिम १५ दिनसम्म घरमै गएन’, अमितले ती दिन सम्झिँदै भने, ‘हामीले एक–एक काम आफैँ उपस्थित भएर गर्नथाल्यौँ।’

उनीहरुसँग ठूलो लगानी थिएन। दश वर्षसम्म स्प्यारो एसएमएस सञ्चालन गर्दा केही पैसा बचत भएको थियो।

चार साथीले संस्थामा बचत भएको पैसा घर, गाडी किन्नतिर लागेनन्। बरु नयाँ के गर्न सकिन्छ, त्यतातिर लागे। एसएमएस व्यवसायमा धेरै समय खर्चिनुपर्ने थिएन। व्यवसाय लिडिङ पोजिसनमा स्थापित भइसकेको छ।

अब नयाँ के गर्ने त?

चारै जनालाई लाग्यो– नेपालको कुल कारोबारको ३ प्रतिशत पनि डिजिटल छैन। यसमा केही गर्न सकिन्छ। त्यही सोचले मोबाइल वालेट चलाउने योजना बनाए। ठूलो लगानी नहुँदा हरेक सानो–सानो काममा खर्च बचाउनुपथ्र्यो। त्यसैले अफिसका फर्निचरसमेत मिस्त्री बोलाएर अफिसमै बनाउन लगाए।

चार जनाले कम तलबमा काम गरे। खल्ती सुरु गर्दाको कति महिना तलब नै नराखेको उनी बताउँछन्।

Amit agrawal khalti Mainimage3

‘यी सिसा मनिषको ससुराका पसलबाट ल्याएका हौँ’, अग्रवालले झ्यालतिरको पर्दा हटाउँदै भने, ‘अहिलेसम्म पैसा क्लियर भएको छैन।’

उनीहरुको चुक्ता पुँजी ५ करोड थियो। त्योभन्दा ठूलो लगानी दिनरातको मिहिनेत पनि छ। ‘हामीले बगाएको पसिनाको मूल्य कति हुन्छ?’, अमित भन्छन्, ‘यो पनि लगानी हो। पैसा भन्दा पनि पसिनाले बनाएको कम्पनी हो–खल्ती।’

त्यही भएर छोटो समयमा खल्तीले प्रगति गरेको उनी ठान्छन्।

बजारमा दश वर्ष पुराना प्रतिस्पर्धी थिए। भविष्यमा बजारमा ठुल्ठूलो कम्पनीसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने पनि थाहा थियो उनीहरुलाई। ‘विदेशी अलि पे, पे टीएम, नेपालको ठूलो बैंक, नेपाल टेलिकम वा एनसेल पनि पनि आउनसक्छ’, उनीहरुलाई लागेको थियो।

‘गोलकिपर नभएको पोष्टमा गोल हानेर के मजा?’, अमित भन्छन्, ‘जहाँ गोलकिपर छ, त्यहाँ गोल हान्न पो मजा हो त!’

तर, यसमा मुख्य चाहिने भनेको टेक्नोलोजी टिम हो। जो दिनरात खटिन सक्छ। ठूलो समूहले यस्तो व्यवसाय सुरु गर्दा उसको दशवटा व्यवसायमध्ये एउटा हुन्छ। अमितको टिमलाई भने ‘सर्वस्व’ नै यही थियो।

Khalti office 3

उनीहरुलाई लाग्यो– सबैभन्दा ठूलो प्रतिस्पर्धा भनेको क्याससँग हो। अहिले क्यासले ९७ प्रतिशत बजार लिएको छ। लड्नुपर्ने यहीसँग हो। त्यसमध्ये १० प्रतिशत मात्र बजार डिजिटल गर्नसके ठूलो उपलब्धि हुनेछ।

खल्ती सुरु भएको तीन वर्ष भयो। चार साथीमध्ये टेक्नोलोजीतर्फको काम मनिष र ध्रुवले हेर्छन् भने ननटेक्निकल पार्ट (गैरप्राविधिक पक्ष) अरविन र अमितले हेर्छन्।

उनीहरुले गत वर्ष मात्रै राष्ट्र बैंकबाट पूर्णरुपमा अनुमतिपत्र पाए।

त्योभन्दा अगाडि एलओआई पाएका थिए। एलओआईमात्र हुँदा बैंकहरुले उनीहरुसँग सहकार्य गर्न हिच्किचाउँथे। उनीहरुले ‘पूर्ण अनुमति आएपछि गरौँला’ भन्थे।

प्रशासनिक ढिलासुस्तीका कारण पूर्ण रुपमा उनीहरुले काम गर्न पाएका थिएनन्। बैंकहरुसँग सहकार्य गरिदिनुस् भनेर दौडिरहनुपर्थ्याे।

‘गत वर्ष लाइसेन्स दिएपछि बल्ल काम गर्न पाएका छौँ’, अमितले भने, ‘दुई वर्षसम्म मजाले काम गर्न पाइएन।’

अबको ६ महिनामा धेरै काम गर्ने उनको लक्ष्य छ।

अहिले वित्तीय कम्पनीहरु खल्तीलाई पनि राखौं भनेर आउन थालेका छन्। अहिले २० बैंकसँग आबद्ध भइसकेका छौँ। अब दुई/तीन महिनामा १० बैंक थपिँदै छन्।
000

Amit agrawal6 1

अहिले मुलुकको डिजिटल पेमेन्टमा सबैभन्दा ठूलो समस्या सुस्तगति हो। प्रविधि तीव्र गतिमा दौडिरहेको छ तर सरकारी तहबाट हुने काम निकै सुस्त छ।

यो प्रविधि भविष्य हो भन्ने सबैलाई थाहा छ। तर, त्यो वर्तमान कहिले बन्छ भन्नेमा एकीन छैन। भविष्य कति टाढा छ भन्न नसकिने अमितको भनाइ छ।

कतिपय वालेटले दुई वर्षमा त्यो भविष्य आउला भनेर आएका हुन्छन् तर पाँच/सात वर्षमा पनि आउन सक्दैन। हरेस खाएर लगानी धान्न नसकेर बन्द हुन्छन्।

तैपनि केही काम भइरहेका छन्। सरकारी तहबाट नेसनल गेट वे सार्वजनिक गर्ने तयारी छ।

यो वर्ष सबै किसिमका कर भुक्तानी डिजिटल हुँदै छन्। उनी भन्छन्– त्यसपछि मुलुकमा ‘डिजिटाइजेसन’को लहर आउँछ।

आगामी वर्षमा स्थानीय निकाय पनि त्यही लहरमा आउनेछन्। यति भयो भने अहिलेको डिजिटल पेमेन्ट १५ प्रतिशतसम्म पुग्नसक्छ।

‘तीन प्रशितबाट १५ पुग्न गाह्रो हो’, अमित भन्छन्, ‘१५ बाट ३० पुग्न गाह्रो छैन।’

Khalti office 6

‘खल्ती’ नाम खोज्दा...
चार साथीले मोबाइल वालेट सुरु गर्ने निर्णय गरे तर नाम के राख्ने? अलमल थियो। ब्रान्डको नामले ठूलो अर्थ राख्छ। सम्पूर्ण व्यवसायसँग पनि जोडिएको हुन्छ। के राख्ने त?

उनीहरुले बजारमा हेरे- कतिले नामको अगाडि ‘इ’ राखेका थिए, कतिले पछाडि पुच्छर जोडेका हुन्थे।

‘हामीले कुनै ‘प्रिफिक्स’ वा ‘सफिक्स’ नराख्ने भनेका थियौँ’, उनले भने।

सुरुमा ४० वटा नाम छाने। प्रत्येक नाम कस्तो छ भनेर आन्तरिक भोटिङ गरे। स्प्यारो एसएमएस चलाइरहेकाले ‘स्प्यारो पे’ नाम राख्ने भनेर पनि छलफल भयो।

नेपाली सेवा भएकाले ठेट नेपाली नाम चाहिन्छ भन्ने उनीहरुको ‘बटमलाइन’ थियो।

नामको सूचीमा खल्ती पनि एउटा थियो। जुन ठेट नेपाली नाम, जो प्रत्येक नेपालीको पैसासँग जोडिएको नाम थियो।

सबै सहमत भए– मोबाइल वालेटको नाम ‘खल्ती’ नै राखौँ।

‘खल्ती’ नाम राखेपछि सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए।

कति मान्छेको प्रतिक्रिया नेपालबाहिर जाँदा खल्ती नाम ठीक भएन भन्ने थियो। कुनै पनि ‘फिनटेक सलुसन’ कम्पनी बाहिर जाँदा विदेशीसँग परिचित नाम हुनुपर्छ भन्ने उनीहरुको तर्क थियो।

अमितको तर्क थियो, ‘कुनै पनि विदेशी नाम जस्तो कि सामसङ, सोनी जस्ता नेपालमा चल्छन् भने खल्ती पनि विदेशमा चलाउन सकिन्छ।’

खल्ती उनीहरुले सोचेअनुसार नै चलेको छ। तीन वर्षसम्म आइपुग्दा उनीहरु सन्तुष्ट छन्। गर्नुपर्ने काम धेरै छन्– केही वर्षमा पब्लिक कम्पनीमा जाने, अन्तर्राष्ट्रियस्तरको फिनटेक कम्पनी बनाउने।

अमितलाई विश्वास छ– भोकाएको कुकुरले मात्र मृग मार्छ।

उनीहरु पनि भोकाएका छन्।

भिडियाे - 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad