कारोबार


प्याब्सनको परिपत्रप्रति टेलिकमको आपत्ति

प्याब्सनको परिपत्रप्रति टेलिकमको आपत्ति

नेपालखबर
साउन १८, २०७७ आइतबार १४:५,

नेपाल टेलिकमले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले टेलिकमको इ–लर्निङ प्याकेजका विषयमा जारी गरेको परिपत्रप्रत्ति आपत्ति जनाएको छ। 

प्याब्सनले साउन १५ गते ‘इ–लर्निङको प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्र नेपाल टेलिकम विरुद्ध भएको भन्दै टेलिकमले आपत्ति जनाएको हो।

नेपाल टेलिकमसँग सम्झौताको तयारी गरिरहेको बेला प्याब्सनले एनसेलसँग सम्झौता गरेको थियो। टेलिकमकाे ढिलासुस्तिका कारण नेपाल टेलिकमसँग सहकार्यकाे तयारीलाई निरन्तरता दिन नसकेकाे प्याव्सनकाे परिपत्रमा उल्लेख छ।

प्याब्सनले एकपक्षीय रुपमा नेपाल टेलिकमसँगको सहकार्य तोडेको टेलिकमको भनाइ छ। कम्पनीलाई कुनै पनि जानकारी नगराइ गैरजिम्मेवारी रुपमा कम्पनीलाई दोषारोपण गरेर परिपत्र गरेको प्रति टेलिकमले आपत्ति जनाएको टेलिकमको विज्ञप्तिमा उल्लेख छ।

‘कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको छ,’ टेलिकमले भनेको छ, ‘आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमती व्यक्त गर्छ।’

प्याब्सनसँग सहकार्य गर्न पत्राचार गरेपश्चात विभिन्न चरणमा छलफल भएको र कम्पनी र संगठनबीच भएको सकारात्मक छलफल पश्चात तत्कालको लागि कम्पनीले उपलब्ध गराइरहेको इ–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको टेलिकमले जनाएको छ। साथै अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको जनाइएको छ।

विश्वभरी नै कोरोना भाइरस कारणले उब्जिएको विषम परिस्थितिमा मुलुकभर पुनः पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको अवस्थामा सो संगठनसँगको छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगिसकेको टेलिकमको भनाइ छ।

सो अवस्थामा अनपेक्षित रुपले प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई परिपत्र गरेको टेलिकमको आरोप छ।

कम्पनीका ग्राहकवर्ग तथा अनलाइन अध्ययनका लागि पहल गरी प्रतिबद्ध रहेका शैक्षिक संस्था तथा विद्यार्थीवर्गप्रति आभार व्यक्त गर्दै जस्तोसुकै विषम परिस्थितिमा पनि कम्पनीले आफ्ना सेवासुविधाहरु सदा झैं जिम्मेवारीपूर्वक उपलब्ध गराइरहने प्रतिबद्धता समेत टेलिकमले व्यक्त गरेको छ।

नेपाल टेलिकमले कोभिड–१९ महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान/प्रदान गर्नका लागि इ–शिक्षा प्याकेज २०७७ बैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो।

अप्रत्यासित रुपले बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको छ। यस प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका क्रियाकलाप सुचारु गरिरहेका छन्।

अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी ५०० रुपैयाँमा १८ जिबी डाटा इ–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको टेलिकमले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad