ad ad

कारोबार


वैदेशिक ऋण तिर्ने म्याद सार्ने नेपालको प्रस्ताव चीनले मानेन, भारत र अमेरिका चुपचाप

वैदेशिक ऋण तिर्ने म्याद सार्ने नेपालको प्रस्ताव चीनले मानेन, भारत र अमेरिका चुपचाप

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १४:१४,

सरकारले कोरोना महामारीका कारण दातृराष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट लिएको ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्ने मिति परिवर्तन गर्न ती देश र निकायसँगको छलफललाई तीव्रता दिएको छ।

देशभित्रको कर्जा र ब्याज तिर्ने भाका सार्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको सरकारले सोसम्बन्धी कार्यविधि समेत बनाइसकेको छ तर आफैँले विदेशबाट लिएको ऋण तथा सहयोगको भने भाका सार्ने विषयमा अहिलेसम्म निर्णय गराउनसकेको छैन।

अर्थ मन्त्रालयका अनुसार उक्त विषयमा सहयोगी देश र निकायहरुसँग छलफल भने भइरहेको छ।

म्याद अवधि सार्न अर्थमन्त्री डा. युवराज खतिवडा आफैँले वैदेशिक ऋणको सावाँ–ब्याज भुक्तानीको समय केही वर्ष पर सार्न आग्रह गरिरहेका छन्।

उनले विश्व बैंक, आईएमएफ, अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार विकास बैंकजस्ता बहुपक्षीय विकास संस्थालगायत संयुक्त राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीसँग कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको असर र नेपालले गरेको प्रयासका वेबिनार छलफल समेत गरिरहेका छन्। उनीहरुले प्रतिबद्धता समेत व्यक्त गरिरहेको अर्थको भनाइ छ।

चीनले मानेन नेपालको प्रस्ताव
तर सरकारी पहलका बाबजुद द्विपक्षीय सहयोगी राष्ट्रहरुले भने यसमा सकारात्मक प्रतिक्रिया दिएका छैनन्। चीन, भारत, अमेरिकाजस्ता देशसँग अर्थ मन्त्रालयले छलफल गरिसके पनि उनीहरुले सकारात्मक प्रतिक्रिया नदिएका हुन्।

भारत र अमेरिकाले यसबारे कुनै निर्णय नै गरेका छैनन्। तर चीनले भने अहिलेलाई भाका सार्न र ब्याज मिनाहा दुवै गर्न नसकिने जवाफ दिएको छ।

अर्थ मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार चीनले यसबारे लिखित जवाफ नै बुझाएको छ।

यस्तो थियो नेपालको आग्रह –
द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृमुलुकले सदाशयता देखाउनुपर्ने धारणा नेपालले राख्दै आएको छ। अन्तर्राष्ट्रिय दातृनिकायले यस्तो सहुलियत दिएमा नेपालजस्तो सीमित स्रोत र साधन भएका मुलुकहरुले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्नसक्ने मन्त्रालयको भनाइ छ।

अर्थका ती अधिकारीका अनुसार नियमित रुपमा उपलब्ध भइरहेको र अतिरिक्त थप स्रोत साधनबाट मात्र यो संकट समाधान हुनसक्छ। विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने नेपालले ती देशलाई आग्रह गरेको थियो।

द्विदेशीय सहयोगको अहिले पनि उत्तिकै आवश्यकता रहेकोले विकास साझेदारहरुले नेपालमा हालसम्म गरेका कार्यहरुको सराहना गर्दै नेपाल सरकारले गर्ने प्रयासमा पनि सबैको साथ र सहयोग रहने विश्वाससाथ आग्रह गरिएको थियो।

कति छ वैदेशिक ऋण?
सरकारलाई अहिले १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ ऋण मात्रै रहेको छ। त्यसमध्ये आन्तरिक ऋण ५ खर्ब ९४ अर्ब १८ करोड रहेको छ। यो ऋण नेपाली बैंकहरुबाट नै उठाइएको हो। यसको ऋण तिर्ने अवधि १ वर्षदेखि १० वर्षसम्म छ। त्यस्तै, वैदेशिक ऋण ७ खर्ब १८ अर्ब ५३ करोड छ।

गत आर्थिक वर्ष २०७६/०७७ मा सरकारले ३५ अर्ब रुपैयाँ आन्तरिकतर्फको ऋण भुक्तानी गरेको थियो भने विदेशी ऋणतर्फ २० अर्ब रुपैयाँ भुक्तानी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .