संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ।
सांसद सोम प्रसाद पाण्डे संयोजक रहने गरी समितिले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको हो।
समितिका अन्य सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, अमृता अग्रहरी, प्रकाश रसाइली र सरिता गिरी रहेका छन्।
समिति सभापति विमलप्रसाद श्रीवस्तवका अनुसार उपसमितिले १५ दिनभित्र सम्बन्धि निकाय, विभाग, मन्त्रालय र सम्बन्धित व्यक्तिहरुसँग छलफल गरी आफ्नो राय पेश गर्ने बताए।
समितिको छलफलमा सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीहरुले नेटवर्किङ व्यवसायकै रुपमा अगाडी बढेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए।
ऐनअनुसार अनुमति दिने काम रोक्न सांसदहरुले माग गरेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्री फरक भएको बताए। अहिले दर्ता भएका कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइएमा कुनै पनि हालतमा छुट नदिने बताए।
सरकारले ल्याएको ऐन अनुसार अहिले ७ वटा कम्पनीले अनुमति प्राप्त गरेका छन् । ती कम्पनीहरुबाट उपभोक्ता नठगिने र गुणस्तरिय वस्तुको विक्रि वितरण हुने उनले बताए।

प्रतिक्रिया