ad ad

कारोबार


अब नेपाल टेलिकमका सबै सेवा अनलाइनबाटै गर्न सकिने, वेबसाइट पनि परिमार्जन

अब नेपाल टेलिकमका सबै सेवा अनलाइनबाटै गर्न सकिने, वेबसाइट पनि परिमार्जन

नेपालखबर
साउन १२, २०७७ सोमबार ८:६,

नेपाल टेलिकमले उपभोक्तालाई दिने हरेक सेवा अनलाइनमार्फत दिने सुविधासहित आफ्नो वेबसाइटलाई परिमार्जन गरेको छ। उपभोक्तालाई आवश्यक पर्ने सबै सेवा उपलब्ध हुने गरी वेबसाइटलाई अपडेट गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

टेलिकमको वेबसाइट डब्लुडब्लुडब्लु डट एनटीसी डट नेट डट एनपीको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ। सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिने टेलिकमले जनाएको छ।

आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ। त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सबारे समेत जानकारी लिन सकिन्छ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिन्छ।

नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाइसी फर्मस पनि भर्न सकिन्छ। कम्पनीबाट उपलब्ध रोमिङ सेवा, विभिन्न प्याकेज बारेमा जानकारी लिन पनि सकिन्छ।

कम्पनीद्वारा उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताबारे यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ।

कम्पनीका विविध गतिविधिहरुको जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटर समेत यहीँबाट अध्ययन गर्न सकिन्छ।

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ ।

आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनै पनि सेवाको बारेमा खोजी गर्न अर्थात् सर्च गर्न सकिने सुविधा समेत वेबसाइटको होमपेजमै उपलब्ध छ । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुबारे विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरुको जानकारी उपलब्ध छ। यहींबाट आफूलाई आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ । पछिल्लो समयमा लोकप्रिय मानिएका डाटा प्याकेजहरुलाई क्रमशः राखिएकाले धेरै ग्राहकले यसको प्रयोगलाई सहज मान्ने गरेका छन् ।

यसको अलावा नेपाल टेलिकम मोबाइल एपको बारेमा जानकारी पनि कम्पनीको वेबसाइटमा उपलब्ध छ। मोबाइल एपको प्रयोग गरेर सहज रुपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिन्छ। साथै डाउनलोडमा गएर कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फारामहरु, बोलपत्र आव्हान आदि प्राप्त गर्न सकिन्छ भने न्युज एण्ड अपडेटबाट कम्पनीको वार्षिक स्मारिका, महत्वपूर्ण सूचनाहरु तथा विभिन्न शैक्षिक कार्यक्रमका नतिजाहरु सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन, एफटीटीएच तथा एडीएसएल सेवाका बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि प्रयोग हुने विभिन्न सर्ट कोड पनि वेबसाइटबाट प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .