कारोबार


७०० रोपनी क्षेत्रफलमा खुला वन्यजन्तु उद्यान बनाउँदै गाउँपालिका

७०० रोपनी क्षेत्रफलमा खुला वन्यजन्तु उद्यान बनाउँदै गाउँपालिका

कृष्ण दवाडी
साउन ११, २०७७ आइतबार ९:३३,

जंगली जनावरलाई निश्चित क्षेत्रमा थुनेर चिडियाखाना तथा उद्यानको रुपमा विकास गरिएका देशभित्र तथा बाहिर थुप्रै ठाउँ छन्। पर्यटन विकासका लागि हिंस्रक जंगली जनावरलाई खोरभित्र राखेर चिडियाखानाको रुपमा विकास गरिएभन्दा पृथक रुपमा यहाँको मादी गाउँपालिकाले भने ‘जनावर मेरो साथी’ को अवधारणासहित खुला वन्यजन्तु पार्क निर्माण शुरु गरेको छ।

गाउँपालिकाको गौरवको आयोजनाको रुपमा वडा नं ६ को तप्राङमा एक हजार ७०० रोपनी क्षेत्रफलमा ‘तप्राङ खुला वन्यजन्तु पार्क’ निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी गत आर्थिक वर्ष २०७६/७७ बाट निर्माण प्रक्रिया शुरु गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताए। उनका अनुसार सो पार्कमा देश तथा विदेशमा भएका चिडियाखानामा जस्तो जंगली जनावरलाई थुनेर व्यवस्थापन गर्ने भन्दा भिन्नरुपमा तोकिएको क्षेत्रभित्र अहिंस्रक र जोखिममुक्त जनावरलाई खुला छाडेर उनीहरुको ‘इकोसिस्टम’ प्रकृतिबाटै हुने गरी प्राणी उद्यानको विकास गरिनेछ।

गाउँपालिकाले खुला वन्यजन्तु पार्कका माध्यमबाट अधिकतम स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवद्र्धनका माध्यमबाट रोजगारी अभिवृद्धि तथा स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेको छ। सो उद्यानलाई गाउँपालिका तथा समग्र प्रदेशकै एक महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्ने गरी काम शुरु गरिएको छ।

‘चिडियाखाना र निकुञ्जभन्दा भिन्न रहेर मृग, खरायो, कस्तुरीलगायतका अहिंस्रक वन्यजन्तु खोरमा नथुनिकन स्वतन्त्र रुपमा खुला छाडेर प्राणी उद्यानको विकास गर्न लागेका हौँ।’

गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘उद्यानका माध्यमबाट पर्यटक आकर्षित गरी प्रकृति र वन्यजन्तुप्रेमीको गन्तव्य बनाएर प्रदेशकै पर्यटनको ‘हव बनाउने योजना छ।’

उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको समपुरक अनुदान रु एक करोड तथा प्रतिनिधिसभा सांसद खगराज अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारीको रु एक करोड गरी दुई करोड बजेटबाट बोलपत्र आह्वान गरी पहिलो चरणको निर्माण कार्य शुरु भएको गाउँपालिकाले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमासमेत परिचित सिक्लेस पोखरा सिक्लेस सडक खण्डमा पोखराबाट २० किमीको दूरीमा अवस्थित तप्राङमा निर्माण हुने उद्यान पर्यटन प्रवद्र्धन तथा वन्यजन्तुको अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ। सो स्थल हिमसृंखला, सिक्लेस, नामार्जुङ तथा मादीको सुन्दर दृश्यावलोकनका लागि समेत उपयुक्त रहेको र पक्की कालोपत्र सडक निर्माणाधीन रहेकाले आगामी दिनमा पर्यटन विकासका लागि प्रचुर सम्भावना रहेको बताइन्छ।

केही वर्षअघिको पहिराका कारणले तप्राङ गाउँका आधा भन्दा बढी परिवार अन्यत्र विस्थापित भएको तथा कृषियोग्य जमीन पहिराले लगेकाले सो उद्यानबाट स्थानीयवासीको आयआर्जनमा सघाउ पुग्ने तथा गाउँ छाडेर गएकालाई समेत पुनः फर्काउन सकिने विश्वास गाउँपालिकाको छ।

अध्यक्ष गुरुङले भने, ‘तप्राङ पहिरो पीडित गाउँ हो, पहिराले आधाभन्दा बढी बस्ती बसाइँसराइ गरेर अन्यत्र गए, गाउँमा भएकासमेत परम्परागत कृषिमा आवद्ध छन्, उनीहरुलाई वैकल्पिक पेशातर्फ आकर्षित गर्न र आयआर्जनमा उद्यानले सघाउने छ।’

गाउँपालिकाले उद्यानका लागि रु छ करोड बराबरको डीपीआर तयार गरेको थियो। पहिलो चरणको निर्माणका लागि रु दुई करोडको बोलपत्र आह्वान गरिएकामा एमएनसी लोयल जेभी पोखराले रु एक करोड ४३ लाख ३४ हजारमा निर्माण कार्यको जिम्मा लिएको छ।

पहिलो चरणमा प्रवेशद्धार, टिकट काउन्टर, तारजालीको काम (बाउन्ड्री वाल) पिकनिक स्पष्ट, ढुङ्गाको सिँढी (फुट ट्र्याक) लगायतका काम भइरहेको सोही वडाका वडाध्यक्ष पसबहादुर बाँस्तोलाले जानकारी दिए। हाल केही स्थानीयवासीले सीमांकनका बारेमा संशोधन माग गरेकाले सरोकार भएकासँग छलफल गरी निर्माण कार्य अघि बढाइने बाँस्तोलाको भनाइ छ। स्थानीय तहको निर्वाचनलगत्तै गाउँ कार्यपालिकाले गौरवको योजनाको रुपमा प्राणी उद्यान बनाउने सर्वसम्मत निर्णय गरी गाउँसभाले त्यसलाई अनुमोदन गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad