नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सबस्टेसनहरुको क्षमता बढाएको छ।
दमकको पाडाजुँगीस्थित सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थपी शनिबारबाट संचालनमा (चार्ज) ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए। त्यहाँ अहिले ३० एमभीएको ट्रान्सफर्मर थियो। अब नयाँ थप गरिएपछि ट्रान्सफर्मको क्षमता ९३ एमभीए पुगेको छ। अब दमक क्षेत्रको विद्युत आपूर्ति विश्वसनीय हुने चौधरीले बताए।
यसैगरी, नवलपरासीको बर्दघाट सबस्टेसनको क्षमता बढाउन १३२/११ केभी, २२.५ एमभीएको पावर ट्रान्सफर्मर राखिएको छ। ७ एमभीएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभीएको राखिएको हो। त्यहाँ २२.५ र ७ एमभीएका ट्रान्सफर्मर थिए। अब सस्टेसनमा रहेका ट्रान्सफर्मरको क्षमता ४५ एमभीए पुगेको छ।
प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ। यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारणलाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ।

प्रतिक्रिया