कारोबार


पूर्वी चितवन १३२ केभी सबस्टेसन निर्माण सकियो, प्राविधिक चुहावट ५ प्रतिशतले घट्ने

पूर्वी चितवन १३२ केभी सबस्टेसन निर्माण सकियो, प्राविधिक चुहावट ५ प्रतिशतले घट्ने

नेपालखबर
साउन ११, २०७७ आइतबार ७:२०,

पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ। चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो।

निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकाली (लाइन इन लाइन आउट) सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो।

‘सबस्टेसन राखिएका १३२/३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिनेछ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३/११ केभी, १६.६ एमभीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको (सबस्टेसन अटोमेसन सिस्टम) सञ्चालन र ११ केभी फिडरबाट एकहप्ताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं।’

उनले सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करिब ४/५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य हुने बताए।

अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ। लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो। पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुनेछ।

नेपाल सरकाको लगानीमा राप्ती नगरपालिका–६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो। आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ। आयोजनाको आर्थिक वर्ष २०७२/०७३मा सुरु भएको थियो। गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सबस्टेसनको निर्माण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण प्रभावित हुँदा केही ढिला भएको हो।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारणलाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad