भैरहवामा प्रधान कार्यालय रहेको सिद्धार्थ यातायात प्रालिले आजदेखि भैरहवा–बुटवल रुटमा बस सञ्चालन गरेको छ। जिल्लाभित्रै सामाजिक दूरी कायम गरेर बस सञ्चालन गर्न दिने सरकारले अघिल्लो हप्ता नै निर्णय गरे पनि यहाँका ठूला भनिएका बस समितिले यातायात सञ्चालन गरेका छैनन्।
तर, सिद्धार्थले भने यात्रुको आवश्यकतालाई ध्यानमा राखी आजदेखि बस सेवा सुरु गरेको प्राालिका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए। ‘४ महिनासम्म थन्किएका गाडीको मर्मतसम्भार गर्दा केही दिन ढिला भयो। केही गाडी मर्मत गरेर आजदेखि नागरिकलाई सेवा दिन थालेका हौँ’, सारुमगरले भने।
बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म ३० मिनेटको फरकमा भैरहवाको मेडिकल कलेज अघिबाट बस छुटी बुटवल गोलपार्क पुगेर बेलहिया हुँदै पुनः मेडिकल कलेज आउने प्रालिले जनाएको छ। तत्कालका लागि प्रालिले ७ वटा बस संचालन गरेको छ। २४ वटा बस रहेको प्रालिले विस्तारै यात्रुको चाँप बढ्दै गएमा थप बस संचालन गर्ने जनाएको छ।
हप्ता दिन अघिबाट लुम्बिनी मेट्रोसिटी यातायात प्रालिले बुटवल–भैरहवा रुटमा बस संचालन गरिरहेको छ। तर यहाँ सबैभन्दा धेरै गाडी रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालि र सिद्धार्थ बस व्यवसायी समितिले भने अहिलेसम्म बस संचालनको कुनै निर्णय गरेका छैनन्।
अध्यक्ष सारुमगरले प्रालिले बस सञ्चालन गर्न सरकारले तोकेका सबै मापण्ड पूरा गर्ने जनाए। यात्रुले बसमा यात्रा गदा मास्क अनिवार्य लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने छ। यस्तै प्रालिले विद्यालय तथा कलेजहरु सञ्चालन नभएकाले विद्यार्थी छुट नदिने भएको छ। तर बृद्ध तथा अपांगहरुका लागि भने परिचय पत्रका आधारमा छुट दिइने छ।
भौतिक दूरी कायम राखेर सिटमा यात्रु बसाल्नु पर्ने भएकाले भाडा सरकारले तोकेअनुसार दोब्बर लाग्ने जनाइएको छ। रुपन्देहीका मुख्य शहर बुटवल, भैरहवा, तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी लगायतका ठाउँमा लकडाउन खुकुलो भएसँगै निजी तथा मालबाहक सवारीको चाप ह्वात्तै बढेको छ।
उद्योगधन्दा तथा अन्य व्यवसाय पनि खुलेका छन्। तर सार्वजनिक यातायात सञ्चालनमा नहुँदा निजी सवारी नहुनेले अस्पताल जाँदासमेत निकै सास्ती खेप्नु परेको थियो। विस्तारै सार्वजनिक यातायात सञ्चालन हुन थालेपछि सर्वसाधरणलाई सहज भएको छ।

प्रतिक्रिया