नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता)को आवेदन रद्द गरेको छ।
नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५ आवेदन रद्द गरिएको निगमले जनाएको छ।
जनसङ्ख्या, भूगोल, सवारी साधनको सङ्ख्या एवं सडक घनत्वका आधारमा आवेदन नपरेको निगमले जनाएको छ। नयाँ बिक्रेताका लागि प्राप्त धेरैजसो निवेदन हाल पेट्रोल पम्प भई रहेकै ठाउँमा परेकाले यथास्थितिमा नयाँ बिक्रेता नियुक्त गर्दा उपयुक्त नदेखिएको बताइएको छ।
यही असार १६ गते बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ बिक्रेताका लागि प्राप्त आवेदन रद्द गर्ने निर्णय गरेको हो। निगमले नयाँ बिक्रेता नियुक्तिका लागि २०७६ वैशाख १७ गते र २०७६ भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो। उक्त सूचनाका आधारमा मुलुकभरबाट एक हजार २५ आवेदन प्राप्त भएका निगमले जनाएको छ।
निगमले आवेदन रद्द भएकाले सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवेदन शुल्क फिर्ता लैजान अनुरोध गरेको छ। निगमले आगामी दिनमा साधारण बिक्रेता नियुक्ति प्रक्रियालाई समयसापेक्ष तथा थप व्यवस्थित बनाउने पनि जनाएको छ। जिल्लागत, स्थलगत, स्थानीय तहगत र राजमार्गगतरुपमा निगमलाई आवश्यक थप बिक्रेताको सङ्ख्या यकिन गरिने निगमको भनाइ छ।
नयाँ बिक्रेता नियुक्तिका लागि निवेदन माग गर्दा सम्भावित बिक्रेताको लागत लाभसमेतको व्यावसायिक योजना माग गरी बिक्रेता नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ। रासस
Shares

प्रतिक्रिया