कारोबार


डीडीसीले घटायो घ्यु, नौनी र धुलो दूधको मूल्य

डीडीसीले घटायो घ्यु, नौनी र धुलो दूधको मूल्य

समुन्द्रा घिमिरे
असार ११, २०७७ बिहिबार ७:२१,

बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डीडीसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ।

यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर रु २०, नौनीमा रु ८० र धुलो दूधमा रु १० छुट दिइएको छ।

घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डीडीसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार थोक मूल्य प्रतिलिटर रु ८३० का दरमा तीन सयदेखि पाँच सय लिटर घ्यु किन्दा एक प्रतिशत छुट दिइएको छ। यसैगरी पाँचदेखि एक हजार लिटरमा दुई, एक हजारदेखि तीन हजारसम्म चार, तीन हजारदेखि पाँच हजारसम्म चार र पाँच हजार लिटरदेखि माथि घ्यु किन्दा पाँच प्रतिशतसम्म छुट दिइएको छ।

यो छुट डीडीसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरिद गर्दा मात्र पाइने जनाइएको छ। एक हजार लिटरभन्दा बढी नौनी खरिद गर्नेलाई रु ८० र धुलो दुध खरिद गर्नेलाई रु १० छुट दिइएको डीडीसीका अर्थविज्ञ अज्जन अधिकारीले जानकारी दिए। उनका अनुसार यसअघि नौनी प्रतिलिटर रु ७८० र धुलो दूध प्रतिलिटर रु ६ सय थियो।

डीडीसीका आयोजना केन्द्र लौनचौर, बालाजु, विराटनगर, जनकपुर, ढल्केबर, हेटौँडा, बुटवल, कोहलपुर, अत्तरिया र कैलालीबाट नौनी र धुलो दूध खरिद गर्दा मात्र छुट हुनेछ। यसैगरी नेपाली सेनालाई बिक्री गरिने होलमिल्क (घ्युसहितको दूध) एक हजारभन्दा बढी खरिदमा रु १० छुट दिइएको छ। यसअघि थोकमूल्य रु ७५० थियो।

असार ३ गतेअघि बट्टाको घ्यु प्रतिलिटर रु ९२० तथा प्याकेटमा राखिएको घ्यु प्रतिलिटर रु नौ सयमा बिक्री गरिएको थियो।

१२ प्रतिशतले कमी
बन्दाबन्दी केही खुकुलो भएसँगै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा क्रमिक रुपमा सुधार हुँदै आएको महानिर्देशक पौडेलले जानकारी दिए। डीडीसीको तथ्यांकानुसार बन्दाबन्दी समयभन्दा हाल चार प्रतिशतले दूध खपतमा वृद्धि भएको तथा अन्य पदार्थको खपतमा कमी आएको छ।

बन्दाबन्दीअघिको तुलनामा काठमाडौँ उपत्यकामा मात्र दैनिक १२ प्रतिशत दूध खपतमा कमी आएको जनाइएको छ। उनका अनुसार बन्दाबन्दीअघि काठमाडौँ उपत्यकामा मात्र दैनिक ८७ हजार लिटर दूध बिक्री हुँदै आएकामा आज ७६ हजार लिटर बिक्री भएको छ। दूधसँगै दही खपतमा ४० प्रतिशतले कमी आएको जनाइएको छ।

दुई महिनादेखि भुक्तानी रोक
बन्दाबन्दी समयमा नियमित रुपमा कृषकबाट दूध संकलन भए तापनि समस्या भएकाले डेरी सञ्चालकले दुई महिनादेखि भुक्तानी रोकेका छन्। सामान्यतया १५÷१५ दिनमा भुक्तानी हुँदै आए पनि डेढ महिनादेखि भुक्तानी नभएको महानिर्देशक पौडेलले जानकारी दिए। ‘एक महिनाको भुक्तानी बाँकी हुनुपर्ने हो तर खपतमा कमी हुँदा डेढ महिनाको रु ३० करोड भुक्तानी रोकियो, जति छिटो बिक्री हुन्छ त्यति छिटो भुक्तानी गरिनेछ’, उनले भने, ‘सम्भवतः १५ दिनको भुक्तानी दुईतीन दिनभित्र गरिनेछ।’

बन्दाबन्दीका कारण दुग्धजन्य पदार्थको मौज्दातमा वृद्धि हुँदा कृषकलाई भुक्तानीमा समस्या भएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए। उनका अनुसार दुई महिनाको रु ७० करोड भुक्तानी बाँकी छ। डीडीसी र निजी क्षेत्रबाट गरी रु एक करोड भुक्तानी बाँकी छ।

पछिल्लो समय ४० देखि ४५ प्रतिशतसम्म दूध तथा दुग्धजन्य पदार्थको खपतमा वृद्धि भएको तथा रु पाँच अर्ब बराबरको मौज्दात सामग्री रहेको दाहालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad