कारोबार


लगानी बोर्डले स्वीकृत गर्‍यो ७ परियोजनाका लागि १८५ अर्ब ४३ करोडको लगानी

लगानी बोर्डले स्वीकृत गर्‍यो ७ परियोजनाका लागि १८५ अर्ब ४३ करोडको लगानी

नेपालखबर
असार ५, २०७७ शुक्रबार १६:२२,

लगानी बोर्डले सात वटा परियोजनाहरुका लागि कुल १८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

लगानी स्कीकृति पाएका मध्ये पाँचवटा जलविद्युत र दुईवटा सिमेन्ट परियोजना छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको शुक्रबारको बैठकले ३२७ मेगावाटको अपर मर्स्याङदी हाइड्रोपावर–२ परियोजनाका लागि करिब ७८ अर्ब ६५ करोड रुपैयाँ, आँखु खोला हाइड्रोपावर (४२.९ मेगावाट) को लागि ६ अर्ब ३० करोड रुपैयाँ, म्याग्दीखोला हाइड्रोपावर (५७.३ मेगावाट) को लागि १० अर्ब ३१ करोड रुपैयाँ, इसुवाखोला हाइड्रोइलेक्ट्रिक (९७.२ मेगावाट) को लागि १३ अर्ब ५७ करोड रुपैयाँ र कालिगण्डकी गर्ज हाइड्रोपावर (१६४ मेगावाट) परियोजनाका लागि करिब २८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

‘त्यसैगरी सो बैठकले दाङ सिमेन्ट इन्डष्ट्रिज परियोजनाको लागि ३२ अर्ब ५० करोड रुपैयाँ र सम्राट सिमेन्ट इन्डष्ट्रिज परियोजनाका लागि १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

बैठकले बाँके जिल्लाको कोहलपुर र कपिलवस्तु जिल्लाको वाणगङ्गामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमता सहितको १२५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक-निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिंगापुर जेभी प्राइभेट लिमिटेडलाई सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी विश्वभर फैलिएको कोभिड-१९ को महामारीका कारण काबु बाहिरको परिस्थिति सृजना भएकोले चाइना-नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क, दमक, मुक्तिनाथ केवल कार, मल्टिमोडल लजिस्टिक पार्क र प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्ड ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधि थप गर्ने निर्णय गरेको छ।

बैठकमा लगानी बोर्डको कार्यालयले परियोजना प्रवर्द्धन र सहजीकरणका लागि गरिरहेका काम र यस क्रममा देखिएका समस्याहरुको बारेमा कार्यायलका सहसचिव बलराम रिज्यालले जानकारी गराएका थिए।

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा युवराज खतिवडा, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा‍‍डा पुष्पराज कंडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरु भवानी राणा, राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा, बालकृष्ण शिवाकोटी, चन्द्रप्रसाद ढकाल तथा नेपाल सरकारका वरिष्ट अधिकारीहरुको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad