समाज


मुग्लिन सडकः सास्तीमाथि सास्ती

मुग्लिन सडकः सास्तीमाथि सास्ती

नारायण ढुंगाना
असार ५, २०७७ शुक्रबार १६:११,

चितवनको नारायणगढ–मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन्।

एक त पटकपटक पहिरो खसेर सास्ती बेहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए। एकतर्फी सञ्चालन भइसकेको यातायात आज भने बिनासूचना दिउँसो पाँच घण्टा आवागमन बन्द गर्दा यात्रु थप मारमा परेका थिए। जसका कारण झण्डै २० किलोमिटर लामो गाडीको लाइन बनेको थियो।

आज मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाँच घण्टा सडक बन्द गरेर काम गर्दा एउटा एम्बुलेन्सलाई समेत छिर्न दिइएन, न त आयोजनाले दिउँसो काम गर्नका लागि बाटो बन्द हुन्छ भन्ने सार्वजनिक सूचना नै जारी गर्न आवश्यक ठान्यो। जसका कारण यात्रुहरुले सास्तीमाथि सास्ती पाए।

गाडी चलिरहेको बेलामा पाँचपाँच घण्टा सडक बन्द गर्नुपर्ने भएपछि गाडीहरुलाई निश्चित ठाउँमा रोक्नुपर्नेमा स्थानीय प्रशासन र नारायणगढ मुग्लिन आयोजना त्यसमा समेत चुकेको देखिएको थियो। मध्याह्न १२ बजेसम्म एकतर्फी खुलिरहेको सडक एक्कासी गाडी रोक्दा आइपुगेका यात्रुले दिन भर आक्रोश पोखेका थिए। दर्जनौँ एम्बुलेन्स रोकिएर बस्न बाध्य भए। ट्राफिक प्रहरीसँग यात्रुहरुले आक्रोश पोखे पनि कुनै सुनुवाई भएन। तीन दिनदेखिको जामका कारण १५ किलोमिटर भन्दा बढी लामो सवारीको लाइनमा आज दिउँसो पाँच घण्टा यातायत अवरुद्ध हुँदा झण्डै उतिनै गाडी थपिएको थियो।

साँझ खुले पनि अहिले राति ९ बजेसम्म मुग्लिन सडकमा जाम नघटेको चितवनका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दयाकृष्ण भट्टले बताए। उनका अनुसार हिजोदेखि क्युमा बसेका सवारी भने पास भए पनि आज जाममा थपिएर बसेका गाडीहरु पास हुन सकेको छैन। अहिले क्रमशः गाडी गइरहेका छन्।

अब पहिरो खसेन भने शनिबार दिनभरमा भने सवारी हल्का हुने अनुमान प्रहरीको छ। तर बिनासूचना एक्कासी गाडी अवरुद्ध गरिनु चाहिँ आयोजनाको र स्थानीय प्रशासनको लापरवाही भएको भन्दै यात्रुहरुले दुखेसो पोखेका थिए। एकजना यात्रु शान्ति थापाले दुःख पोख्दै भने, ‘कि भएका गाडीहरु एक लट पठाएर काम गर्नुपर्दथ्यो, होइन भने सूचना दिनुपथ्र्यो, बिनाजानकारी एक्कासी गाडी रोकेर यात्रुलाई दुःख दिनु लापरवाहीको हद हो, अब यस्तो नहोस्।’

चारकिलोको पहिरो पन्छाए पनि जलबिरेको घुम्तिमा पहिरो पूर्ण हटाइएको छैन। यहाँ खसेको पहिरोले बाटो थुनेर ताल बनाएको छ। दोहोरो गाडी चल्न सक्ने अवस्था छैन। जसका कारण सवारी राम्ररी गन्तव्यमा जान पाएको छैन। बिहीबारको तुलनामा आज शुक्रबार भने ट्राफिक प्रहरीले जनशक्ति थपेको देखिएको छ। तर सवारी व्यवस्थापन अझै प्रभावकारी हुन सकेको छैन।

पहिरो चार किलोमा बुधबार बिहान ४ः१५ बजे खसेको थियो। त्यसपछि सवारी आवागमनमा प्रत्यक्ष असर परिरहेको छ। त्यसदिन साँझ ७ बजे एकतर्फी बाटो खुलेर केही मिनेटमा पुनः पहिरो खसेर बन्द हुनपुग्यो। त्यसपछि राति १० बजे पहिरो पन्छाएर सडक एकतर्फी नियमित गरिएको थियो।

शुक्रबार बिहान ९ बजे पुनः रोकेर पहिरो पन्छाउने प्रयास भएको थियो। त्यसपछि दिनभर नै एकतर्फी गाडी चलेपनि १५ किलोमिटर गाडीको लाइन घटेन। आज बिहानसम्म एकतर्फी भएको सडक १२ बजेपछि भने बिनासूचना एक्कासी पाँच घण्टा दुईतर्फी बन्द गरेर पहिरो पन्छाउने काम गरिएको थियो।

यसअघि आयोजनाले गाडी अवरुद्ध गर्दा सार्वजनिक सूचना जारी गरेर काम गर्ने गरेको थियो। तर आज त्यसो नगर्दा यात्रुहरु थप मारमा परेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad