कारोबार


लकडाउन पछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान

लकडाउन पछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान

नेपालखबर
असार ५, २०७७ शुक्रबार १५:१४,

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन्।

अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ। सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए।

उनले भने, ‘नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ पछि बन्दाबन्दीको अवधि जेठ ३२ र पछिल्ला उडानमध्ये सम्भवतः आज धेरै उडान हो, बन्दाबन्दीको दोस्रो र तेस्रो साता यात्रु चार्टर्ड र कार्गो गरी दैनिक सरदर पाँचदेखि सात अन्तर्राष्ट्रिय उडान भएका थिए।’

महाप्रबन्धक केसीका अनुसार सामान्य अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक दुवै गरी ५०० देखि ५५० उडान हुन्थे। यसमा अन्तर्राष्ट्रियतर्फ उडान तथा अवतरण गरी करिब १०० र आन्तरिकमा झण्डै ३५० उडान हुने गरेका थिए। अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि नेपालमा पनि झण्डै तीन महिना बन्दाबन्दी भयो। अहिले पनि बन्दाबन्दी पूर्णरुपमा खुलिसकेको छैन। यो अवधिमा अन्तर्राष्ट्रिय हवाई उडान पनि हाललाई स्थगित गरिएको छ। पछिल्लो पटक हवाई प्रतिबन्ध जेठलाई असारको अन्तिम सातासम्मका लागि लम्ब्याइएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई साताअघि कूटनीतिक माध्यमबाट हुने बाहेकका सबै व्यावसायिक चार्टर्ड उडान बन्द गरेको छ। तथापि विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्काउन पछिल्लो पटक १० दिनका लागि चार्टर्ड उडान गर्न दिइएको हो।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै नेपालका तर्फबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उद्धार उडान गरी नेपाली ल्याइरहेका छन। दुवै एयरलाइन्सले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्टर्ड उडानको कार्यतालिका बनाएर धमाधम उडान गरिरहेका हुन्।

आज मात्रै नेपाल एयरलाइन्सले दुबईबाट १४८ नेपाली ल्याएको छ। यस्तै हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५३ नेपाली ल्याएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

त्यसैगरी जजिरा एयरले कुवेतबाट १५० नेपाली चार्टर्ड उडानमार्फत नेपाल ल्याएको छ। यस्तै कतार एयरवेजले दोहाबाट ४३ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका तीन जहाजले आज दोहाबाट कार्गो उडान गरी काठमाडौँ ल्याएको विज्ञप्तिमा उल्लेख छ।

यता हिमालयकै न्यारोबडी जहाजले आज साँझ माल्दिभ्सबाट नेपाली काठमाडौं ल्याएको छ। यात्रु सङ्ख्याको विवरण आएको छैन। अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ः०० बजे इटाली एयरलाइन्सले ९२ यात्रु लिएर इटाली प्रस्थान गर्ने तालिका छ। नेपाल एयरलाइन्सले जापानको नारिताका लागि राति ९ः०० बजे उडान भर्ने तालिका रहेको छ।

आन्तरिकतर्फ आज श्री एयरको हेलिकोप्टरले बाग्लुङ, तारा एयरले भैरहवा, समिट एयरले लुक्ला, कैलाश हेलिकोप्टरले लाङटाङ र बुद्ध एयरको लोकल पीपीसी उडान भएको विमानस्थलले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो। त्यस्तै २४ सम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ। निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो। निगमले जुन १५ देखि जुन २९ सम्मको उद्धार उडानको नयाँ कार्यतालिका बनाएको छ। बिहीबार आठ उडान भएका थिए।

कतारमा आममाफी पाएका ४३ नेपाली फर्किए
विमानस्थलका अनुसार आज भएको अन्तर्राष्ट्रिय उडानमध्ये कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश फर्किएका छन्। कतार एयरवेजको जहाजमार्फत उनीहरु दिउँसो काठमाडौँ आइपुगेका हुन्। कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाइएको छ।

सोही जहाजमा कतारमा बन्दाबन्दीको अवधिमा मृत्यु भएका २० र हिमालयको कुवेत तथा माल्दिभ्सबाट एक÷एक नेपालीको शव पनि ल्याइएको छ। यस्तै नेपाल एयरलाइन्सले दुबईबाट एक शव ल्याएको थियो। जजिरा एयरलाइन्सले कुबेतबाट दुई शव ल्याएको थियो। शनिबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् भने विदेशी एयरलाइन्सले पनि उडान भर्ने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad