अर्थमन्त्री डा. युवराज खतविडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा ‘भी सेप रिकभरी’ हुने स्थिति अझै पनि रहेको बताएका छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थतन्त्रको ‘रिकभरी भी सेप’मा हुनसक्ने बताएका हुन्।
इन्भेष्टोपेडियाका अनुसार अर्थतन्त्रमा द्रुतगतिको मन्दी र द्रुतगतिको पुनरुत्थान नै भी शेप्ड रिकभरी हो। जब अकस्मात् मन्दीको अवस्था सिर्जना हुन्छ, त्यसविरुद्ध चालिने प्रभावकारी कदमले अर्थतन्त्र अकस्मात् पुरानै अवस्थामा फर्किन्छ। अमेरिकामा सन् १९२०–२१ र सन् १९५३ मा आएको मन्दीसँगै अर्थतन्त्र यही आकारमा पुरानै लयमा फर्किएको थियो।
उनले भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदा समेत अर्थतन्त्रलाई भी सेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भी सेपको रिकभरी सम्भव भएको बताए।
उनले भने, ‘भूकम्पपछिको पुनर्निर्माणमा पनि यो धेरै विषय चलेको थियो। अब अर्थतन्त्र थला प¥यो उठनै सक्दैन भन्ने विषय उठेको थियो । त्यो बेला हाम्रा आर्थिक संरचनाहरु पनि भत्किएका थिए। तर हामीले भी सेपको रिकभरी ग¥यौं। भूकम्पपछिको पुननिर्माणको चरणमा। त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासहरुलाई हेर्ने हो भने हामी फेरीपनि भीसेपको रिकभरीमा जान सक्छौं।’
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सबल पक्षहरु कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृङ्खलालाई सहज बनाउन सजिलो हुने बताए। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरुमा सरकारले सहजिकरण गरिरहेको समेत बताए।
बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युत्मा छुट दिनेलगायतका विषयमा सरकारले जोड दिएको स्पष्ट पारे। उनले मुलुकमा झण्डै तीन चौथाइ लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सिन नसक्ने बताए। उनले मुलुकको खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, रोजगारीको सुरक्षा र स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा आत्मनिर्भर हुने गरी आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए।
यस्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको समेत अर्थमन्त्री खतिवडाले जवाफ दिएका छन्। कोभिडको जोखिमले अर्थतन्त्रमा ल्याएको शिथिलताको अवस्थामा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए।
उनले सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्ने समेत स्पस्ट पारे। निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुल्ला गरिएको अर्थमन्त्री खतिवडाले बताए।
उनले मुलुकभरीमा आम्दानीको उपभोगलाई कटाएर रहेको रकमको एक तिहाइजति सरकारले लिन खोजेको बताए।
उनले भने, ‘त्यो लगानीको अनुपातमा हो । निजी क्षेत्रलाई बाहिरबाट लगानी ल्याउन प्रोत्साहित गर्नको लागि बाहिरबाट जुन ऋण ल्याउनुहुन्छ हाम्रो बैंकिङ प्रणालीको मित्रहरुले त्यो ल्याउने ऋणमा त्यसलाई निक्षेपको रुपमा लिने हो भने टीडीएसको रुपमा घटाइदिएको छ। ता कि बैंकहरुले पनि विदेशबाट ऋण परिचालन गरेर पनि लगानी बढाउन सकून्।’
सोही कारण अरु स्रोतहरु प्नि निजी क्षेत्रको लागि खुला गरिदिएको उनको भनाइ छ। उनले भने, ‘त्यसैले सरकारले बजारबाट पैसा आफ्नो विकास खर्च पूरा गर्न उठाइरहँदा निजी क्षेत्रलाई पुग्ने गरी र नपुग भएमा विदेशबाट समेत परिचालन गर्ने व्यवस्था गरेको छ।’
त्यसले गर्दा सरकारले आन्तरिक ऋण उठाउने कारणले निजी क्षेत्रलाई उपलब्ध हुने स्रोत संकुचित नहुने उनले बताए।
ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमा भएको छलफलमा उठेका प्रस्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारले जमानत बस्दा व्यावसायिक सम्भावना भएका क्षेत्रहरु हेर्ने पनि उनले स्पष्ट पारे।
वित्तीय रुपमा सबल भएका सार्वजनिक संस्थाले आफैँ ऋण परिचालन गर्न सक्ने र वित्तीय अवस्था सुदृढ नभएको संस्थालाई उकास्नुपर्ने भएमा सोचेर मात्रै सरकारले काम गर्ने उनको भनाइ छ।

प्रतिक्रिया