कारोबार


भोगाधिकारमा व्यक्ति, संस्था र निकायलाई दिएका जग्गा अब लिजमा परिणत हुने

भोगाधिकारमा व्यक्ति, संस्था र निकायलाई दिएका जग्गा अब लिजमा परिणत हुने

नेपालखबर
साउन ७, २०८३ बिहिबार १३:३८, काठमाडौँ

सरकारले साबिकमा भोगाधिकारस्वरुप दिएका जग्गालाई अब लिजमा परिणत गर्ने भएको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले व्यक्ति, संस्था वा निकायहरुले लिएका त्यस्ता जग्गा लिजमा परिणत गर्न प्रक्रिया अघि बढाएको हो। 

बिहीबार सबै भूमि प्रशासन कार्यालयलाई पत्राचार गरी विभागले मालपोत नियमावली २०३६ (नवौँ संशोधन २०८३) को नियम २३ झ १९ को उपनियम १ सम्झाएको छ। सो उपनियमअनुसार साबिकमा भोगाधिकारमा जग्गा प्राप्त गरेका व्यक्ति, संस्था वा निकायले नियम प्रारम्भ भएको गत जेठ २८ देखि ६ महिनाभित्र हालसम्मको भोगाधिकारबापत तिर्न बुझाउनुपर्ने कुनै रकम बाँकी भए त्यस्तो रकम दाखिला गरी उक्त जग्गा लिजमा परिणत गर्न कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था छ। 

सोही नियमको उपनियम २ मा उपनियम १ अनुसार प्राप्त हुन आएका निवेदनमाथि कार्यालयले आवश्यक जाँचबुझ गरी भोगाधिकारमा लिएका जग्गा यसै नियमावलीअनुसारको प्रक्रिया पूरा गरी लिजमा परिणत गर्न आवश्यक कारबाही सुरु गर्नुपर्ने उल्लेख छ। 

सोहीअनुसार विभागले भूमि प्रशासन कार्यालयहरुलाई आआफ्नो कार्यक्षेत्रभित्र साबिकमा भोगाधिकारमा जग्गा पाएका व्यक्ति, संस्था, वा निकायलाई मालपोत नियमावली २०३६ (नवौँ संशोधन २०८३) को नियम २३ झ १९ को उपनियम १ अनुसार कार्यालयबाट सम्बन्धितलाई अविलम्ब पत्राचार गर्न भनेको छ। त्यसको जानकारी विभागमा पठाउन पनि भनिएको छ। 

त्यसबाहेक लिजमा परिणतको लागि कार्यालयमा आएका निवेदनमाथि आवश्यक जाँचबुझ गरी नियम २३ झ ५ देखि नियम २३ झ ९ सम्मको (आवश्यक भए नियम २३ झ १० समेत) प्रक्रिया पूरा गरी नियम २३ झ ८ अनुसार गठित सिफारिस समितिबाट निर्णय गराई कार्यालयको राय (निर्णय) साथै पठाउन भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad