कारोबार


नेपाल-भारत विद्युत् व्यापार बढाउने निर्णयप्रति कुलमान खुसी, सरकारलाई दिए शुभकामना

नेपाल-भारत विद्युत् व्यापार बढाउने निर्णयप्रति कुलमान खुसी, सरकारलाई दिए शुभकामना

नेपालखबर
असार ३२, २०८३ बिहिबार १२:२६, काठमाडौँ

पूर्वऊर्जामन्त्री कुलमान घिसिङले नेपाल-भारतबिच विद्युत् व्यापार बढाउने निर्णयप्रति खुसी व्यक्त गरेका छन्। 

बुधबार पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान-प्रदानको क्षमता बढाउने निर्णय गरेको छ।

यसले नेपाल स्वच्छ र हरित ऊर्जाको दक्षिण एसियाली क्षेत्रीय हब बन्न सक्ने आधार थप मजबुत बनाएको भन्दै लामो समय नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरेका घिसिङले सरकारको प्रशंसा गरेका हुन्। 

‘असार ३१ गते पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय १३औँ बैठकले दुई देशबिचको व्यापारलाई थप विस्तार गर्ने दिशामा महत्त्वपूर्ण सहमति गरेको छ। विशेषगरी प्रसारण पूर्वाधारको विस्तार र सुदृढीकरणसम्बन्धी निर्णयले भविष्यमा आयात–निर्यात क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्ने अपेक्षा गरिएको छ’, उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जल उत्पादनको अपार सम्भावना बोकेको नेपाल स्वच्छ र हरित ऊर्जाको दक्षिण एसियाली क्षेत्रीय हब बन्न सक्ने बलियो आधार यसले थप मजबुत बनाएको छ।’

बैठकका अधिकांश विषय विगतका सहमतिहरूको निरन्तरता भए पनि यसले नेपालको ऊर्जा क्षेत्रलाई क्षेत्रीय तथा उपक्षेत्रीय बजारसँग अझ प्रभावकारी रूपमा जोड्ने अवसर सिर्जना गरेको घिसिङले उल्लेख गरेका छन्।

‘अब सहमतिलाई कागजमा मात्र सीमित नराखी शीघ्र कार्यान्वयन गर्नु दुवै पक्षको साझा जिम्मेवारी हो। साथै, देशभित्र खपत बढाउन प्रसारण तथा वितरण प्रणालीलाई अझ आधुनिक, भरपर्दो र प्रभावकारी बनाउँदै आन्तरिक खपत बढाउन सरकारले नीति र कार्यक्रम बनाई लागु गर्न आवश्यक छ’, उनले लेखेका छन्, ‘वर्षायाममा आन्तरिक खपतपछि बाँकी रहने अतिरिक्त भारत, बंगलादेश र भविष्यमा चीनसम्म निर्यात विस्तार गर्न राजनीतिक, प्रशासनिक तथा कूटनीतिक तहमा थप सक्रिय पहल अपरिहार्य छ। निर्णय सफल कार्यान्वयनका लागि शुभकामना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad