कारोबार


सेफ सन्तोष साहको सचिवालयले भन्यो: यति सानो रकमका लागि पक्राउ गर्नुको कारण भविष्यमा खुल्नेछ

सेफ सन्तोष साहको सचिवालयले भन्यो: यति सानो रकमका लागि पक्राउ गर्नुको कारण भविष्यमा खुल्नेछ

नेपालखबर
असार २, २०८३ मंगलबार १४:३२, काठमाडौँ

सेफ सन्तोष साहको सचिवालयले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत जाने हदम्याद रहँदै ‘अकस्मात् उनलाई पक्राउ गरेर मानमर्दन र प्रतिष्ठामा आँच पुर्‍याइएको’ दाबी गरेको छ। 

ठगी आरोपमा ३ दिन जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखी साहलाई सोमबार बेलुका हाजिरी जमानीमा रिहा गरिएपछि उनको सचिवालयले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो। 

‘जहाँसम्म पक्राउ परेको विषय छ, त्यो जम्मा ४ लाख ५० हजार रुपैयाँका लागि हो। हामी जिल्ला अदालत काठमाडौँले उक्त रकम भुक्तानी गर्नुपर्ने भनी गरेको फैसलाका विरुद्धमा उच्च अदालत जाने तयारीमा थियौँ। जुन हाम्रो अधिकार पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘उच्च अदालतमा जाने हदम्याद रहँदै अकस्मात् षड्यन्त्रपूर्वक प्रहरी हिरासतमा लिने काम भएको छ। साथै यति सामान्य रकमका लागि फोन गरेर बोलाउन पनि सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई पक्राउ गर्नका लागि जनकपुरसम्म पठाइएको छ। सञ्चारमाध्यममा त साह फरार भन्ने विषय पनि आएको छ, जबकि एक साताअगाडि साह भद्रकालीस्थित प्रहरी कार्यालय नै पुग्नुभएको थियो। तत्कालीन समयमा पक्राउ नगरी अहिले यति सानो रकमका लागि पक्राउ गर्नुको पछाडि के कारण हो, त्यो भविष्यमा पक्कै खुल्नेछ।’

साहको सचिवालयले 'प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो' लेखे पनि उनलाई वास्तवमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरेको थियो।

यस क्रममा साहको सचिवालयले विवादको पृष्ठभूमि पनि विस्तारमा बताएको छ। 

विज्ञप्तिअनुसार नेपालमा मिथिला समुदायको खाना प्रवर्द्धन गर्ने उद्देश्यले सेफ सन्तोष साहले जनकपुरमा मिथिला थाली नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्। सोही रेस्टुरेन्टको विस्तार र मिथिला खानाको थप प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनले काठमाडौँको गैरीधारामा पनि शाखा खोलेका छन्।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तत्कालीन समयमा गैरीधारामा आर्जव होल्डिङ्स प्रालिले सिला नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेको थियो। सञ्चालकले उक्त रेस्टुरेन्ट सञ्चालन गर्न नसकेको, बैंकको ऋण पनि तिर्न नसकेको र जग्गाधनीले समेत लामो समयदेखि पैसा तिर्न ताकेता गर्दै रेस्टुरेन्टमा ताला लगाएर भवन खाली गरिदिन आग्रह गरेको समयमा रेस्टुरेन्टसँग भएको सम्पूर्ण सम्पत्ति खरिद गरी मिथिला थाली रेस्टुरेन्ट सुरु गर्नुभएको थियो। सिला रेस्टुरेन्टको सम्पत्ति लिएबापत मिथिला थाली र आर्जव होल्डिङ्सबिच दुई करोड २५ लाख रुपैयाँमा सम्झौता भएको थियो। त्यसमध्ये आर्जव होल्डिङ्सले पहिले रेस्टुरेन्ट सञ्चालन गर्दाको अवधिको घरभाडा वक्यौताबापतको ४० लाख रुपैयाँ र सोही समयको विद्युत् महसुल वक्यौताबापतको २ लाख ७७ हजार ९९७ रुपैयाँ मिथिला थालीले सम्बन्धित घरधनी र विद्युत् प्राधिकरणलाई आर्जव होल्डिङ्सका तर्फबाट भुक्तानी गरी सहजीकरण गरेको थियो। सोही रेस्टुरेन्ट सञ्चालन गर्दा आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्तासमेत पटकपटक मिथिला थालीले नै भुक्तानी गरी सहजीकरण गरिदिएको थियो। त्यस्तै विभिन्न मितिमा चेकबापत पनि भुक्तानी भइरहेको छ।’

साहको सचिवालयका अनुसार पछिल्लोपटक सञ्चारमाध्यममा चर्चा भएको २५ लाख रुपैयाँको कहानी भने अर्कै छ।

आर्जव होल्डिङ्सले लिएको २५ लाख रुपैयाँको चेक एकमुस्ट भुक्तानी नभई कम्पनीका प्रतिनिधिले दिएका आर्जव होल्डिङ्सकै नबिल बैंकमा रहेको खातामा दुईवटा चेकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा दुईवटा चेकमार्फत ६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमा चारवटा चेकमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी भुक्तानी गर्नुपर्ने रकमभन्दा बढी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको दाबी साहको सचिवालयले गरेको छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आर्जव होल्डिङ्सको प्रतिनिधि दाबी गर्दै शकुन्तला थापाले पटकपटक आफ्नो व्यक्तिगत खातामा भुक्तानी माग गरेको तर मिथिला थालीले सम्झौताअनुसार नै कम्पनीका नाममा भुक्तानी गर्दै आएको छ। सम्झौताअनुसार मिथिला थालीले आर्जव होल्डिङ्सको मातहतमा रहेको सामान खरिदको भुक्तानी गरिरहे पनि सोबापत आर्जव होल्डिङ्सका तर्फबाट कुनै पनि बिल जारी नभएको अवस्था छ। आर्जव होल्डिङ्स र मिथिला थालीबिच खरिद-बिक्रीको प्रक्रिया भइसकेपछि सो कम्पनीको कर चुक्ता कागजात पाउनुपर्नेमा पटकपटक माग गर्दा पनि होल्डिङ्सका तर्फबाट मिथिला थालीलाई प्राप्त भएको छैन।’

यस विषयमा सेफ साहले सञ्चारमाध्यमलाई थप जानकारी दिने पनि उनको सचिवालयले जानकारी गराएको छ।

हेर्नुहोस् सेफ साहको सचिवालयले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै

बीबीसी मास्टर सेफ सन्तोष साह पक्राउको विषय र सोसम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित सामग्रीका विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। साहलाई जुन ढंगले हतार मानसिकतामा पक्राउ गरिएको छ, त्यो निन्दनीय छ।

यसले सेफ साहले जीवनभर आर्जन गरेको मान, सम्मान, इज्जत, प्रतिष्ठा र गरिमामा ठूलो आघात पुर्‍याएको छ। यो कार्य सेफ साहको मानमर्दन र उहाँको प्रतिष्ठामा आँच पुर्‍याउने  नियोजित उद्देश्यले षड्यन्त्रपूर्वक गरिएकामा हामी स्पष्ट छौँ।

सेफ सन्तोष साहले नेपालमा मिथिला समुदायको खाना प्रवर्द्धन गर्ने उद्देश्यले सेफ सन्तोष साहले जनकपुरमा मिथिला थाली नामक रेस्टुरेन्ट सञ्चालन गर्नुभएको सबैलाई विदितै छ। उक्त रेस्टुरेन्टको विस्तार र मिथिला खानाको थप प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सेफ साहले गैरीधारामा मिथिला थाली रेस्टुरेन्ट सञ्चालन गर्नुभएको हो। तत्कालीन समयमा गैरीधारामा आर्जव होल्डिङ्स प्रालिले सिला नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेको थियो। सञ्चालकले उक्त रेस्टुरेन्ट सञ्चालन गर्न नसकेको, बैंकको ऋण पनि तिर्न नसकेको र जग्गाधनीले समेत लामो समयदेखि पैसा तिर्न ताकेता गर्दै रेस्टुरेन्टमा ताला लगाएर भवन खाली गरिदिन आग्रह गरेको समयमा रेस्टुरेन्टसँग भएको सम्पूर्ण सम्पत्ति खरिद गरी मिथिला थाली रेस्टुरेन्ट सुरु गर्नुभएको थियो।

सिला रेस्टुरेन्टको सम्पत्ति लिएबापत मिथिला थाली र आर्जव होल्डिङ्सबिच दुई करोड २५ लाख रुपैयाँमा सम्झौता भएको थियो। त्यसमध्ये आर्जव होल्डिङ्सले पहिले रेस्टुरेन्ट सञ्चालन गर्दाको अवधिको घरभाडा वक्यौताबापतको ४० लाख रुपैयाँ र सोही समयको विद्युत् महसुल बक्यौताबापतको दुई लाख ७७ हजार ९९७ रुपैयाँ मिथिला थालीले सम्बन्धित घरधनी र विद्युत् प्राधिकरणलाई आर्जव होल्डिङ्सका तर्फबाट भुक्तानी गरी सहजीकरण गरेको थियो।

सोही रेस्टुरेन्ट सञ्चालन गर्दा आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्ता समेत पटकपटक मिथिला थालीले नै भुक्तानी गरी सहजीकरण गरिदिएको थियो। त्यस्तै विभिन्न मितिमा चेकबापत पनि भुक्तानी भइरहेको छ।

पछिल्लोपटक सञ्चारमाध्यममा चर्चा भएको २५ लाख रुपैयाँको कहानी भने अर्कै छ। आर्जव होल्डिङ्सले लिएको २५ लाख रुपैयाँको चेक एकमुस्ट भुक्तानी नभई कम्पनीका प्रतिनिधिले दिएका आर्जव होल्डिङ्सकै नबिल बैंकमा रहेको खातामा दुईवटा चेकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा दुईवटा चेकमार्फत ६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमा चारवटा चेकमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी भुक्तानी गर्नुपर्ने रकमभन्दा बढी कल रु २८ लाख २५ हजार बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको छ।

आर्जव होल्डिङ्सको प्रतिनिधि दाबी गर्दै शकुन्तला थापाले पटकपटक आफ्नो व्यक्तिगत खातामा भुक्तानी माग गरेको तर मिथिला थालीले सम्झौताअनुसार नै कम्पनीका नाममा भुक्तानी गर्दै आएको छ। सम्झौताअनुसार मिथिला थालीले आर्जव होल्डिङ्सको मातहतमा रहेको सामान खरिदको भुक्तानी गरिरहे पनि सोबापत आर्जव होल्डिङ्सका तर्फबाट कुनै पनि बिल जारी नभएको अवस्था छ।

आर्जव होल्डिङ्स र मिथिला थालीबीच खरिदबिक्रीको प्रक्रिया भइसकेपछि सो कम्पनीको कर चुक्ता कागजात पाउनुपर्नेमा पटकपटक माग गर्दा पनि होल्डिङ्सका तर्फबाट मिथिला थालीलाई प्राप्त भएको छैन।

जहाँसम्म पक्राउ परेको विषय छ, त्यो जम्मा ४ लाख ५० हजार रुपैयाँका लागि हो। हामी जिल्ला अदालत काठमाडौँले उक्त रकम भुक्तानी गर्नुपर्ने भनी गरेको फैसलाका विरुद्धमा उच्च अदालत जाने तयारीमा थियौँ। जुन हाम्रो अधिकार पनि हो। उच्च अदालतमा जाने हदम्याद रहँदै अकस्मात् षड्यन्त्रपूर्वक प्रहरी हिरासतमा लिने काम भएको छ। साथै यति सामान्य रकमका लागि फोन गरेर बोलाउन पनि सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई पक्राउ गर्नका लागि जनकपुरसम्म पठाइएको छ।

सञ्चारमाध्यममा त साह फरार भन्ने विषय पनि आएको छ, जबकि एक साताअगाडि साह भद्रकालीस्थित प्रहरी कार्यालय नै पुग्नुभएको थियो। तत्कालीन समयमा पक्राउ नगरी अहिले यति सानो रकमका लागि पक्राउ गर्नुको पछाडि के कारण हो त्यो भविष्यमा पक्कै खुल्नेछ।

साह प्रहरी हिरासतबाट हिरासतमुक्त हुनुभएको छ। साह पक्राउ परेको सन्दर्भ र रेस्टुरेन्ट खरिद तथा कारोबारमा विषयमा सेफ साहले थप जानकारी सञ्चारमाध्यमलाई दिनुहुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad