निजी क्षेत्रको एक मात्रै दूरसञ्चार सेवा प्रदायक एनसेलले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा सरकारलाई १४ अर्ब ५९ करोड रुपैयाँ राजस्व बुझाएको छ। एनसेलले विभिन्न ११ शीर्षकमा सरकारलाई उक्त कर तिरेको हो।
कम्पनीले उपलब्ध गराएको विवरणअनुसार, एनसेलले चालु वर्षको नौ महिनामा जीएसएम लाइसेन्स शुल्क बापत ३ अर्ब २९ करोड रुपैयाँ तिरेको छ।
वर्षैपिच्छे सरकारले आफ्नो खाताबाट पैसा तानेर लगेपछि दूरसञ्चार प्राधिकरणले चालु वर्ष एनसेलबाट अग्रिम भुक्तानी लिएको थियो। प्राधिकरणको आग्रह मान्दै एनसेलले लाइसेन्स नवीकरण बापतको किस्ता शीर्षकमा २ अर्ब रुपैयाँ दुई महिना अघि नै भुक्तानी गरेको थियो।
हरेक वर्षको भदौ १५ सम्म बुझाउनुपर्ने नवीकरण शुल्कमध्ये खुमलटारको जग्गा किन्न प्राधिकरणलाई एनसेलले असार २६ मै उक्त रकम भुक्तानी गरेको थियो।
इन्टरनेट सेवाको लाइसेन्स शुल्क बापत दुई लाख ७० हजार रुपैयाँ नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ। दूरसञ्चार सेवा शुल्क (टीएससी) बापत एनसेलले चालु वर्षको नौ महिनामा २ अर्ब १२ करोड रुपैयाँ भुक्तानी गरेको छ।
स्वामित्व कर शीर्षकमा ३४ करोड ९८ लाख रुपैयाँ, भ्याट बापत १ अर्ब ७४ करोड रुपैयाँ एनसेलले सरकारलाई बुझाएको छ। भन्सार शुल्क शीर्षकमा १ अर्ब रुपैयाँभन्दा बढी र टीडीएसमा ८९ करोड ५४ लाख रुपैयाँ एनसेलले चालु आर्थिक वर्षको नौ महिनामा तिरेको छ।
एनसेलले चालू वर्ष अग्रिम कर भनेर १ अर्ब २५ करोड रुपैयाँ बुझाएको छ। यस्तै, रोयल्टी शीर्षकमा एक अर्ब २९ करोड, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा ६४ करोड ९६ लाख रुपैयाँ र फ्रिक्वेन्सी शुल्क एक अर्ब ९६ करोड रुपैयाँ एनसेलले चालु आर्थिक वर्षको नौ महिनामा बुझाएको जनाएको छ।
एनसेलले आफ्नो स्थापनाकाल आर्थिक वर्ष २०६१/६२ देखि २०८१/८२ सम्म कुल ३ खर्ब ५७ अर्ब रुपैयाँ कर राज्यलाई बुझाइसकेको छ।
Shares

प्रतिक्रिया