वित्तीय घोटालामा संलग्न भई सम्पत्ति आर्जन र शुद्धीकरण गरेको अभियोगमा व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २६ अर्ब ६३ करोड २७ लाख बिगो मागदाबी गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
बिहीबार भट्टसहित ३९ प्रतिवादीविरूद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको थियो। भट्टले हिमालयन रि–इन्स्योरेन्स समेतका बीमकबाट रकम हिनामिना एवं आर्थिक दुरुपयोग गरी बीमा ऐनअन्तर्गतको कसुर गरेर नेपाल रिइन्सुरेन्सलगायतका कम्पनीको सेयर खरिदमा प्रयोग गरी गैरकानुनी स्रोतलाई शुद्धीकरण गर्न तीन अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा लगानी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।
कसुरबाट प्राप्त सम्पत्तिको रुपान्तरण गरी वैधानिक स्रोतबाट आर्जन भएको रकम देखाउने नियतले डिबेन्चर खरिदबिक्री गरी त्यस्तो रकमको उत्पत्तिको स्रोतबाट रकमलाई अलग गरी वैधानिक सम्पत्ति देखाउन कर समेत दाखिला गर्न सोही रकम पुनः नेपाल रि–इन्स्योरेन्स सेयर खरिद गरी सम्पत्तिको स्रोत, स्वरुप एवं प्रकृति समेत बदलेर भट्टले ८० करोड ३५ लाख २१ हजार ८७ रुपैयाँ ४० पैसा शुद्धीकरण गरेको आरोप लगाइएको छ।
भट्टले गरेको वित्तीय कारोबारलाई नियमित एवं स्वाभाविक व्यावसायिक प्रकृतिको देखाउन नेपाल रि–इन्स्योरेन्सको सेयर घाटामा विक्री गरेको भ्रमपूर्ण तथ्य सिर्जना गरी सोही रकम प्रयोग गरी पुनः नेपाल रि–इन्स्योरेन्सकै सेयर खरिदमा लगानी गरेको देखाएर १२ करोड ७० लाख ७१ हजार २२० रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोग पत्रमा उल्लेख छ।
त्यसैगरी, भट्टले गैरकानुनी सम्पत्तिलाई वैधानिक सम्पत्ति देखाउनका लागि विभिन्न कारोबारबाट प्राप्त नगदलाई सेयरमा रुपान्तरण गरी सम्पत्तिको स्वरुप परिवर्तन गरेर गैरकानुनी स्रोत लुकाई शुद्धीकरण गरेर डिम्याट खातामा दुई अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बराबरको सेयर मौज्दात रहेको अभियोगपत्रमा उल्लेख छ।
त्यसबाहेक भट्टले धितोपत्र कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग पनि लगाइएको छ। नेपाल रि–इन्सुरेन्सको धितोपत्रको मुल्य प्रभावित पारी व्यक्तिगत लाभका लागि योजना बनाउने एवं कसुर गर्न प्रयोग गरेको हिमालयन रि–इन्सुरेन्स, हिमालयन क्याप सर्भ, हिमालयन लाइफ इन्सुरेन्स समेतको १७ अर्ब ४८ करोड २ लाख ८८ हजार २२० रुपैयाँ ९६ पैसा सम्पत्ति शुद्धीकरण गरेको आरोप भट्टमाथि लागेको छर
सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ्ग) निवारण ऐन, २०६४ अनुसार सम्पत्तिको गैरकानुनी स्रोतको प्राप्ति गरेबाट नै सम्पत्ति शुद्धीकरणको कसुरको स्थापित हुने आधार खडा भएको अभियोगपत्रमा उल्लेख छ।
त्यतिमात्रै होइन, भट्टले बैंकिङ कसूर गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग पनि लगाइएको छ। व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा दुरुपयोग गरी ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ ७ पैसा शुद्धीकरण गरेको पुष्टि भएकोले यसलाई बीगोमा समावेश गरिएको भनिएको छ।
भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्गसले हिमालयन रिइन्सुरेन्समा संस्थापक लगानीको रुपमा गरेको ४५ करोड रुपैयाँ पनि सम्पत्ति शुद्धीकरणबाट आर्जन भएको दावी अभियोगपत्रमा गरिएको छ।
त्यसैगरी, इन्फिनिटी होल्डिङ्गसको नाममा हिमालयन रिइन्सुरेन्समा गरेको लगानीबाट प्राप्त सेयरबाट लाभांश प्राप्त गरी बढाएको तीन करोड ९० लाख ६० हजार रुपैयाँलाई पनि विगो मानेर भट्ट विरुद्ध मुद्दा दर्ता भएको छ।
भट्ट सञ्चालक रहेको ईन्फिनिटी होल्डिङसको खातामार्फत कारोवार गरी कसुरजन्य कार्यमा प्रयोग गरेको १९ करोड ९६ लाख १० हजार ९०० रुपैयाँलाई पनि विगो मानिएको छ।
दीपक भट्टको नाममा सिद्धार्थ बैंकमा रहेको खाता दुरुपयोग गरी ९ करोड ११ लाख ५२ हजार १३४ रुपैयाँ पनि सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा प्रयोग भएको भनिएको छ।
त्यसैगरी, इन्फिनिटी होल्डिंग्सको कार्यालयमा प्रहरीले छापा मार्दा भेटिएको १४ लाख ९३ हजार रुपैयाँलाई पनि बिगो मानेर मुद्दामा उल्लेख गरिएको छ।
त्यसैगरी भट्टले ४ लाख ३८ हजार ६२० रुपैयाँ विदेशी विनिमयको कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ।
जगदम्बा मोटर्सको नाममा ६ करोड ३० लाख रुपैयाँमा गाडी किनेर भट्टले प्रयोग गरेको थिए। उक्त गाडी खरिद गरेको रकम पनि सम्पत्ति शुद्धीकरणबाटै आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको छ।
त्यसैगरी, ग्रिन डेभलपर्सको सेयर खरिदबिक्रीको आवरणमा नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई समेत झुक्याएर भट्टले गार्डियन माइक्रो लाइफ र नेपाल माईक्रो इन्सुरेन्सको सेयर खरिदमा २४ करोड ८९ लाख ९४ हजार लगानी गरेकोले त्यसलाई भट्टबाट विगोको रुपमा असुल गर्नुपर्ने मागदावी गरेर मुद्दा दर्ता भएको छ।
यसरी दीपक भट्टलाई मात्रै २६ अर्व, त्रिसठ्ठी करोड २७ लाख ७१ हजार ५९ रुपैया ६८ पैसा विगो मागदावी र यसको दोब्बर जरिवान हुनुपर्ने माग अभियोग पत्रमा उल्लेख छ।
दीपक भट्टविरुद्ध दाबी गरिएको बिगो



Shares

प्रतिक्रिया