सरकारले सम्पत्ति शुद्धीकरणको नाममा व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति निजी क्षेत्रले आपत्ति जनाएको छ। झन्डै दुई तिहाइको सरकारको यस्तो रवैयाले निजी क्षेत्रको मनोबल घट्ने पनि उनीहरूको धारणा छ।
नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष अञ्जन श्रेष्ठ र पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिले निजी क्षेत्र संशयको चौबाटोमा उभिएको र त्यसको कारक भनेको सरकारको कार्यशैली भएको बताएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारण सभापछि अध्यक्षमा पदस्थापित भएका अध्यक्ष श्रेष्ठले वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहे पनि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ला भन्ने आशा पलाएको उनको भनाइ थियो।
आइतबार पोखरा उद्योग वाणिज्य संघले आफ्नै सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नवप्रवर्तन र युवामैत्री नीतिहरू बजेटका राम्रा पक्ष भएको पनि बताए। यद्यपि उनले सम्पत्ति शुद्धीकरणको नाममा उद्योगी/व्यवसायीमाथि भएको धरपकडप्रति भने चिन्ता व्यक्त गरे।
देशलाई अन्तर्राष्ट्रिय नियमनकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्सको चेतावनीपछि कालोसूचीबाट बाहिर निकाल्ने नाममा सरकारले निजी क्षेत्रमाथि धरपकड बढाएको बताउँदै उनले भने, ‘हामी जिम्मेवार हुनुपर्छ, हामीमाथि पनि औँला ठड्याउने काम भइरहेको छ तर राज्यले पहिला सुन्ने अनि थुन्ने प्रक्रिया अपनाउनु पर्छ। अरूलाई क्षमादान दिने राज्यले किन व्यवसायीको हितबारे सोच्दैन?’
अध्यक्ष श्रेष्ठले देशमा संविधान संशोधनको बहस चलिरहँदा सामाजिक न्यायसहितको अर्थव्यवस्थाका लागि महासंघले आवाज उठाउने बताए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिलेको सरकारले ल्याएको बजेटले अर्थतन्त्रको रुपान्तरण गर्छ भन्ने पत्याउँदै गर्दा बहुमतलाई अगाडि सारेर जे पनि गर्न खोजेको आरोप लगाए। देशलाई कालोसूचीमा पर्नबाट जोगाउनको लागि भन्दै उद्योगी/व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाएर सरकारले त्यस्तो छनक दिएको उनको आशय थियो।
‘निजी क्षेत्रले पब्लिक पल्स (जनताको चाहना) बुझ्नुपर्छ। उपभोक्ताको चाहना सम्बोधन गर्नुपर्छ। हामी सबै अपराधलाई संरक्षण गर्न सक्दैनौँ तर सरकारबाटै कानुनको उल्लंघन हुँदा त्यसलाई जायज भन्न सक्दैनौँ,’ उनले भने, ‘राज्य र प्रशासन निजी क्षेत्रप्रति निर्मम हुन्छ। अहिले ब्यूरोक्रेसी सत्तासँग नजिक हुन खोजेको र त्यही बाटोमा अगाडि बढेको छ। त्यसमा हामी गम्भीर हुनुपर्छ।’
सरकारले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानको नाममा निजी क्षेत्रमाथि प्रहार गर्दा मौन समर्थन नगर्न पनि उनले महासंघको नेतृत्वलाई खबरदारी गरे। विदेशसम्म पनि संयन्त्र भएको महासंघले देशलाई कालोसूचीमा पर्नबाट जोगाउन कूटनीतिक पहल गर्नुपर्ने सुझाव पनि उनको थियो।
उनले संविधान संशोधनको मुद्दामा महासंघ प्रस्ट हुनुपर्ने बताउँदै अगाडि भने, ‘संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र लेखिँदासम्म त्यसलाई संसारले स्वीकार्दैन। तपाईं जति चिच्याउनुस्, लगानी आउँदैन। यसमा निजी क्षेत्र प्रष्ट हुनुपर्छ। तीनखम्बे आर्थिक नीतिले पनि लगानी बढाउँदैन। यी विषय सच्याउन पहल गर्नुपर्छ।’
पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक पोखराबाट दोस्रोपटक अध्यक्ष बनेकोमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले खुसी जताए। उनले केन्द्रीय अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य ,जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्णप्रसाद शर्मासहित केन्द्रीय सदस्यहरूलाई स्वागत गर्दै उनले निजी क्षेत्रको मनोबल उकास्न र व्यावसायिक वातावरण निर्माणका लागि अञ्जन श्रेष्ठको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया