कारोबार


पोखरा विमानस्थल सञ्चालनमा कूटनीतिक पहल र निजी क्षेत्रको साथ खोज्नुको अर्थ

पोखरा विमानस्थल सञ्चालनमा कूटनीतिक पहल र निजी क्षेत्रको साथ खोज्नुको अर्थ

वाशुदेव मिश्र
जेठ २०, २०८३ बुधबार १५:८, पोखरा

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत् ‘गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गरिने’ घोषणा गर्‍यो।

त्यसपछि आएको बजेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्ने’ घोषणा गरे।

विमानस्थल व्यवस्थापनको जिम्मेवारी कसरी निजी क्षेत्रलाई दिने र निजी क्षेत्रको भूमिका कस्तो रहने भन्नेबारे बजेटले बोल्ने कुरा भएन। तर नीति तथा कार्यक्रममा पोखरालाई अन्तर्राष्ट्रिय विमानस्थल भनेकोमा बजेटले त्यसलाई क्षेत्रीयमा खुम्चाइदियो।

नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा सुरुमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकै रूपमा निर्माण सुरु गरिँदा क्षेत्रीय अन्तर्राष्ट्रिय भनिए पनि नागरिक उड्डयन प्राधिकरणले यसलाई पछिल्लो समय अन्तर्राष्ट्रियको दर्जा दिएको छ।

अर्थमन्त्रीले नियमित अन्तर्राष्ट्रिय यथार्थतालाई मध्यनजर गर्दै र निजी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरका विमानस्थल ‘ह्यान्डल’ गर्न दिँदा आउने प्रश्नबाट तर्किनका लागि जानाजान ‘क्षेत्रीय अन्तर्राष्ट्रिय’ शब्दावली प्रयोग गरेको कूटनीतिक वृत्तले अनुमान लगाए।

साँच्चै भन्ने हो भने पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। सामान्यतया: वायुसेवा कम्पनीहरू व्यावसायिक लाभ हुने संसारका जुनसुकै विमानस्थलमा पनि जान इच्छुक हुन्छन्। तर, किन गौतम बुद्ध र पोखरा विमानस्थलमा निजी विमान कम्पनीहरू आकर्षित भएनन् र उनीहरूलाई बोलाउन कूटनीतिक पहल आवश्यक पर्‍यो? यो प्रश्नको उत्तर खोज्न पोखरा र गौतम बुद्ध विमानस्थलको निर्माणदेखि भूराजनीतिक जटिलता पनि बुझ्नुपर्ने हुन्छ।

पोखरा एयरपोर्टको निर्माण चिनियाँ ऋण सहयोगमा चिनियाँ कम्पनीबाटै भएको हो। २०६७ जेठ १९ गते मन्त्रिपरिषद्को बैठकले चिनियाँ सहुलियत दरको ऋण लिई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने निर्णय गरेसँगै त्यही वर्षको कात्तिकमा अर्थ मन्त्रालयले २० मिलियन अमेरिकी डलर ऋण सहयोगका लागि चीन सरकारसमक्ष प्रस्ताव पेस भएपछि विमानस्थल निर्माणले गति लिएको थियो।

२०६८ सालमा चिनियाँ राष्ट्रपति हु जिन्ताओको नेपाल भ्रमणको क्रममा हस्ताक्षर हुने सहयोग सूचीमा चढे पनि त्यो बेला यो निर्णय हुन पाएन। नागरिक उड्डयन प्राधिकरणले २०६८ माघ २६ गते ईपीसी (इञ्जिनियरिङ प्रोक्युरमेण्ट एण्ड कन्ट्रक्सन) मोडलमा विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान गरेपछि चिनियाँ कम्पनी चाइना सीएएमसीले ३०५ (त्यो बेलाको सटही दर अनुसार २१ अर्ब ६० करोड रुपैयाँ) मिलियन डलरमा निर्माणको ठेक्का पायो।

तर, भाँजो हाल्ने काम रोकिएन। कतिसम्म भने नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले नै २०६९ साउन ४ मा पोखरा विमानस्थल निर्माण गरिए त्यसको ऋण तिर्न नसकिने र प्राधिकरणनै संकटमा पर्ने विज्ञप्ति जारी गरे। त्यो विज्ञप्तिपछि पोखरेलीहरू विरोधमा उत्रिए।

पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले लामो रिले अनशन गर्‍यो। सिंहदरबार घेर्नेसम्मका कार्यक्रम भए।  निरन्तरको नागरिक दबाब, मित्रराष्ट्र चीन र निर्माण कम्पनीको ताकेतापछि २०७१ जेठ ८ गते नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापार सम्झौता अनि २०७२ चैत ८ मा चीन सरकार र नेपाल सरकारबीच एक्जिम बैंकबाट ऋण लिने सहमति भयो।

२०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरे। निर्माण कम्पनीले २०७४ मंसिरदेखि काम थालेको घोषणा गर्‍यो। तर, कोभिड १९ लगायतका कारण देखाउँदै निर्माणमा ढिलाइ भयो।

चिनियाँ पक्षले २०७९ पुस १७ गते (१ जनवरी २०२३) मा पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण गर्‍यो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्धारण गरेको ‘फोर डी क्याटोगरी’ अनुसारको यो विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय उडान भर्ने न्यारोबडी र आठ वटा आन्तरिक उडानका साना विमान पार्किङ गर्न सकिन्छ।

यो विमानस्थलबाट न्यारोबडी जेट विमानले ५ देखि ६ घण्टासम्म दूरीको उडान भर्न सक्छन्। यसको मतलब यहाँबाट भारतको दिल्ली, कलकत्ता, बनारस, मुम्बई, चीनको चेङ्दु, खुनमिङ, ग्वाङ्झाओ, ल्हासा, सांघाई, थाइल्यान्डको बैंकक कोरियाको सोल, कतारको दोहा, सिंगापुर, भुटानको पारो, श्रीलंकालगायतका ठाउँमा यहाँबाट उडान भर्न सकिन्छ।

तर, निर्माण सम्पन्न भएको लामो समयसम्म पनि पोखराबाट अन्तर्राष्ट्रिय नियमित उडान सम्भव भएको छैन।

पोखरा एयरपोर्टमा चिनियाँ लगानीप्रति भारत सन्तुष्ट नभएको कुटनीतिक वृत्तमा चर्चा चलिरह्यो। काठमाडौँ एयरपोर्टबाट बनारस उडान भरिरहेको बुद्ध एयरले पोखराबाट त्यस्तै उडानको लागि गरेको प्रयत्नमा भातरको नागरिक विमान महानिर्देशनालय (डीजीसीए) ले अनुमतिनै दिएन।

बुद्धको अभियान सुस्तायो। भारतले सार्वजनिकरूपमा पोखरा एयरपोर्ट सञ्चालनबारे केही बताएको छैन। उता २०८० को असोजमा भएको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा जारी संयुक्त  वक्तव्यमा ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप हवाई उडान तथा रुटका लागि दुवै देशले प्रोत्साहन र पहल गर्ने’ बुँदा समेटियो।

त्यही बुँदामा टेकेर सिचुवान प्रान्तको हवाई कम्पनी सिचुवान एयरलायन्सले पोखरा–सिचुवानबीच केही चार्टर्ड उडान भर्‍यो। भुटानको ड्रागन एयरको पारोसम्मको चार्टड उडान, यही जेठ ६ गते श्री एयरलायन्सले पोखराबाट गरेको मेडिकल रेस्क्यू उडानलाई नै अन्तर्राष्ट्रिय उडान मान्नुपर्ने अवस्था छ।

पोखराको चरक हस्पतालमा रहेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई लिएर जाने क्रममा श्रीएयरले मध्यप्रदेशको राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

‘कनेक्टिभिटी’ खोज्दै पोखरा

पोखरा एयरपोर्टबाट उडान भर्ने र यहाँ ‘होल्ड’ हुने विमानका लागि शुल्कमा भारी छुट छ। इन्धन मूल्य पनि सस्तो गरिएको छ तर यी छुटले काम गरिरहेका छैनन्।

नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू भारतीय सद्भावबिना पोखरा र भैरहवा विमानस्थलबाट दिगो अन्तर्राष्ट्रिय उडान सम्भव नभएकोमा प्रस्ट छन्। त्यसैले उनीहरूले सरकार र पर्यटनमन्त्रीसँग विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल जरुरी भएको सम्झाइरहेका छन्।

सरकारले वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गर्नुको कारण पनि यही भएको स्रोतहरूको भनाइ छ। अर्कोतर्फ निजी क्षेत्रलाई सञ्चालनको अनुमति दिने घोषणालाई कुनै विदेशी कम्पनीलाई सञ्चालनको अधिकार दिने तयारीको रूपमा बुझ्न सकिने पनि नागरिक उड्डयन प्राधिकरण स्रोतले बतायो।

‘कुनै विश्वासिलो निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिँदा उसले नै बजार खोज्ने र भारतलगायत देशमा उडानको तारतम्य मिलाउन सक्छ,’ नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो, ‘नेपालकै हकमा त्यस्ता कम्पनी देखिएका छैनन्, तर नेपाल–भारत संयुक्त कम्पनीलाई जिम्मा लगाउँदा भारतीय बजारमा पहुँच बढाउने सम्भावना छ।’

यसमा पनि कूटनीति मिसिएको र यसमा चिनियाँ चासो स्वाभाविक हुने उनी बताउँछन्। तर नेपाललाई हस्तान्तरण भइसकेको अवस्थामा सतर्कतापूर्वक अगाडि बढ्न सके असम्भव भने नरहने उनको भनाइ छ।

नेपाल सरकारले पर्यटन प्रवर्द्धनका लागि भिजिट नेपाल वर्ष २०८५ र नेपाल आरोग्य वर्ष २०२७ घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा चीन र भारतबाट पोखरा घुम्न आउने पर्यटकको संख्या ५ गुणा बढाउन प्रवर्द्धनात्मक कार्यक्रम सार्वजनिक गरको छ।

संघीय सरकारले पृथ्वी राजमार्गको ४ लेन सडक शीघ्र सम्पन्न गरिने र बुटवल–पोखरालाई द्रुतमार्ग बनाउने घोषणा पनि पोखराको कनेक्टिभिटी अनि पर्यटन प्रवर्द्धनसँगै जोडिएको छ।

महानगर मेयरको हुटहुटी

ठूलो लगानीको विमानस्थल सञ्चालनमा आओस् र यहाँबाट सजिलोसँग भारतका सहर जान पाइयोस् भन्ने आमनागरिकको चाहना छ। र, यो चाहना बोकेर पोखराका मेयर धनराज आचार्यले पटक–पटक छिमेकी राष्ट्रहरूसँग संस्थागत र व्यक्तिगत पहल गरिरहेका छन्।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको सन्दर्भ उप्काउँदै मेयर आचार्य भन्छन्, ‘पर्यटनका लागि कनेक्टिभिटी महत्त्वपूर्ण हुन्छ। कम्तीमा एयरपोर्ट राम्रोसँग चलोस् भन्ने हाम्रो चाहना हो। महानगरले यसका लागि सबै पक्षको ध्यानाकर्षण गराएको छ। विकास साझेदारहरूसँग औपचारिक र अनौपचारिक बैठकमा पनि यो विषय उठाउँदै आएको छु।’

दुबई उडानको तयारी  

यही उपक्रममा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) को ‘फ्लाई दुबई’को जोखिम व्यवस्थापन हेर्ने उपाध्यक्ष एड्रियन लुकाससहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण गरेको मेयर आचार्यको भनाइ छ।

उनका अनुसार निरीक्षणपछि उपाध्यक्ष लुकासले पोखराबाट दुबईसम्म दैनिक उडानका सम्भाव्यताबारे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल गरेको थियो।

सो क्रममा टोलीले विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूबारे जानकारी लिएको मेयर आचार्यले बताए। उनका अनुसार ​लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका सबै हिसाबले ‘पूर्णरूपमा सही र तयार’ रहेको बताउँदै छिटोभन्दा छिटो उडान भर्ने प्रतिबद्धता जनाएका थिए।

​‘हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको ६ घण्टा लामो विस्तृत निरीक्षण गर्‍र्यौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्णरूपमा सही र तयार छ। हामी पोखरा र दुबईबीच दैनिक उडान सुरु गर्न इच्छुक छौँ,’ लुकासको भनाइ उद्धृत गर्दै मेयर आचार्यले नेपालखबरसँग भने।

मेयर आचार्यका अनुसार आउँदो २/३ महिनाभित्रै पोखराबाट दुबई उडान भर्ने तयारी गरिएको छ। फ्लाइ दुबईले पोखराबाट उडान भरेमा पोखरा अन्तर्राष्ट्रिय ट्रान्जिटको रूपमा रहेको मुख्य सहरसँग जोडिने र त्यहाँबाट विश्वका अन्य तीन सय वटा सहरसँग पनि सम्बन्ध विस्तार हुनेछ।

‘दुबई नेपालीको श्रम गन्तव्य हो नै, त्यो भारतीयसहित विश्वभरका ३ सय बढी प्रमुख सहरका नागरिकको आकर्षणको केन्द्र पनि हो,’ आचार्यले भने, ‘उडान सुरु भए संसारका तीन सयभन्दा बढी प्रमुख सहरहरूसँग सिधा पहुँचमा पुग्नेछ, जसले युरोप, अमेरिका र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सहजै पोखरा आउन सक्नेछन्।’

यो पनि

भारतले ल्यान्ड गर्ने अनुमति दिएन, चीनले जहाज नै ल्याएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad