सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ। गत आर्थिक वर्षमा कूल बजेट १९ खर्ब ६४ अर्ब मात्रै थियो।
कूल बजेट झण्डै २ खर्ब बढ्दा पनि गृह मन्त्रालयको भने बजेट झण्डै आधाले घटेको छ। गत आर्थिक वर्षमा गृह मन्त्रालयको बजेट २ खर्ब ८ अर्ब २४ करोड ७९ लाख थियो।
आगामी आर्थिक वर्षको बजेट भने गृह मन्त्रालयलाई १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख छ। यो भनेको एक खर्ब नै कम हो।
तर गृह सचिव राजकुमार श्रेष्ठका अनुसार मन्त्रालयको बजेट घटे पनि मन्त्रालय र मातहतले पाउने बजेट भने गत वर्षको तुलनामा बढेको छ।
‘हाम्रो बजेट घटेको होइन। मन्त्रालयहरुको पुनः संरचना गर्दा सामाजिक सुरक्षाको सबै बजेट महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा गएको छ। हाम्रो एक खर्बभन्दा बढि बजेटचाहिँ यसपालि त्यहाँ मातहत गएको हो। सुरुमा गृह मन्त्रालयलाई दिएको बजेट सिलिङ २ खर्ब १७ अर्ब थियो’, सचिव श्रेष्ठले नेपालखबरसँग भने।
उता रक्षा मन्त्रालयको पनि बजेट बढेको छ। रक्षा मन्त्रालयको बजेट झण्डै तीन अर्ब बढेको हो। चालु आर्थिक वर्षमा ६२ अर्ब १ करोड २१ लाख बजेट थियो।
आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

Shares

प्रतिक्रिया