कारोबार


ऊर्जा उद्यमी उत्तम भ्लोन लामासँग ‘तत्कालै’: प्रसारण प्रणाली सुधार्दा ५० अर्बको खाना पकाउने ग्यास विस्थापन हुन्छ

‘बिजुलीको पीक डिमान्ड घटाउन बेलुका ६ बजे अगाडि नै खाना खाने अभियान चलाउँ’

उद्धव थापा
जेठ १५ , काठमाडौँ

नेपालको जलविद्युत् परियोजना निर्माण र सञ्चालनका क्षेत्रमा सयौँ व्यवसायी संलग्न छन्, जो धेरै कफी गफमा बस्दा खोलाको नाम र अर्बको हिसाव बढी सुनाउँछन्।  

उत्तम भ्लोन लामा तिनैमध्येका एक व्यवसायी हुन्, जो उर्जा उत्पादन मात्रै होइन, त्यसको किफायती उपयोग र अन्तर्राष्ट्रिय व्यापारसम्म आफ्नो धारणा राख्छन् र, धेरै हदसम्म सरकारको उर्जा रणनीति निर्माणमा समेत हस्तक्षेपकारी भूमिका खेल्न अग्रसर हुन्छन्।  

जलविद्युत् परियोजना निर्माण, सञ्चालन र राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा उनको नेतृत्वदायी भूमिका विस्तार भइरहेको छ। 

यही क्षेत्रमा डेढ दशकभन्दा लामो समयको अनुभव हासिल गरेका ऊर्जा उद्यमी उत्तम भ्लोन लामाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)मा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।

इप्पानको नयाँ नेतृत्व चयन गर्ने साधारणसभा जेठ २९ गतेका लागि बोलाइएको छ। भ्लोनले इप्पानको नेतृत्व लिनका लागि आफ्नो भिजन र टिम समेत घोषणा गरिसकेका छन्। 

नेपालको जलस्रोत र ऊर्जा क्षेत्रको नीति निर्माण तहमा पनि इप्पानमार्फत योगदान गरिरहेका लामा भन्छन्, ‘हामीले चाहेजस्तो नीति बन्नसकेको छैन। तर हाम्रो निरन्तर पहलकै कारण नेपालको ऊर्जा र जलस्रोत क्षेत्रको नीति सुधार हुँदै आएको छ। आगामी दिनमा नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने नीति लबिङको नेतृत्व गर्न चाहन्छु।’

व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका लामा पूर्वाधार परियोजनाहरूमा विशेषज्ञता हासिल गरेका गतिशील तथा सफल उद्यमी हुन्। उनीसँग पूर्वाधारको वित्तीय व्यवस्थापन तथा ईपीसी (इन्जिनियरिङ, खरिद तथा निर्माण)मा समेत दक्षता छ। यसबाहेक, उनी खाद्य प्रशोधन, व्यापार तथा कृषिलगायतका विभिन्न क्षेत्रमा पनि सक्रिय छन्।  

नेपाल पावर एक्सचेन्ज (नेपेक्स)का बोर्ड सदस्य तथा सीईडीबी होल्डिङ्स लिमिटेडका सञ्चालक समिति सदस्य रहेका लामाले ६०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् परियोजनाहरूको नेतृत्व गरिरहेका छन्।

नेपालको जलविद्युत् क्षेत्रमा भएको लगानी र बढेको उद्यमशीलतालाई उनी ‘न्यू ब्रिड अफ आन्ट्रप्रेनरसिप’ भन्छन्। 

यसलाई थप प्रस्ट्याउँदै उनले भने, ‘जलविद्युत् क्षेत्रमा जस्तो उद्यमशीलता भएको मान्छे नेपालमा छँदै थिएन। धेरै मानिसहरु व्यापारमा लागेका थिए। उत्पादनमूलक उद्योगमा संलग्न भएका व्यक्ति असाध्यै कम थिए। दश वर्षको अवधि यो क्षेत्रमा विताएका व्यक्तिहरूले करिब ७० अर्ब रुपैयाँबराबरको जलविद्युत् परियोजनाको नेतृत्व गरिरहेका छन्।’

जलविद्युत् क्षेत्रको यो दक्षताले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने लामाको भनाइ छ।

‘विद्युत उत्पादनका कारण देशको आयात प्रतिस्थापन हुन्छ, विद्युत् निर्यातबाट विदेशी मुद्रा आर्जन हुन्छ र समग्रमा देशको अर्थतन्त्र सबल बन्दै जान्छ। आगामी दिनमा यो क्षेत्रलाई थप व्यवस्थित बनाउँदै अघि बढ्न आवश्यक छ’, लामा भन्छन्।

एनएमबी बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य समेत रहेका लामालाई इप्पानको २५ जनाको कार्यसमितिका ८० प्रतिशतभन्दा बढी सदस्यले साथ दिएर नेतृत्वका लागि अघि बढाएको उनी निकटहरूको भनाइ छ। 

को भनाइ पनि यही छ, ‘अहिले मैले कार्यसमितिका ८० प्रतिशत साथीहरुको समर्थन पाएको छु। तर, कोही साथीहरूले उपयुक्त कारण देखाएर मलाई हुँदैन भन्नुभयो भने र ऊर्जा क्षेत्रले अपनत्व लिने कोही व्यक्ति आउनुभयो भने त्यसबेला छलफल गर्न पनि तयार छु। अब कम्तीमा १५ वर्ष यो क्षेत्रमा लाग्छु भनेर प्रतिबद्ध भएर आएको व्यक्ति हुँ। यो क्षेत्रको नेतृत्व गर्न सक्षम पनि छु।’

नेपालको ऊर्जा क्षेत्र चाँडै आत्मनिर्भरको बाटोमा रहेको र आगामी दिनमा सरकारले वितरण प्रणाली सुधारमा ध्यान दिनुपर्ने उनी बताउँछन्। 

‘विद्युतको वितरण प्रणाली कमजोर भएका कारण मानिसहरुले विश्वस्त भएर विद्युतमै निर्भर हुन सकेका छैनन्। खाना पकाउनका लागि इन्डक्सन प्रयोग गर्न हिचकिचाउँछन्। त्यही कारण वर्षमा ५० अर्ब हाराहारीको खाना पकाउने ग्यास आयात भइरहेको छ। विद्युत वितरण प्रणाली सुधार हुँदा एलपीजीका लागि विदेश जाने पैसा रोक्न सकिन्छ’, लामा भन्छन्। 

सरकारले जलविद्युत् उत्पादन, प्रसारण लाइन निर्माण र विद्युत विक्रीको काम समेत निजी क्षेत्रलाई नै दिनुपर्ने उनी बताउँछन्। सरकार भने वितरण प्रणाली सुधार र क्रस–बोर्डर प्रसारण लाइन निर्माणमा मात्रै केन्द्रित हुनुपर्ने उनको भनाइ छ।  

‘क्रस–बोर्डर प्रसारणलाइन निजी क्षेत्रले बनाउन सम्भव छैन। त्यसमा सरकारले लगानी गर्नुपर्छ। त्यसबाहेक, विद्युत् उत्पादन, प्रसारणलाइन निर्माण र विद्युत् विक्रीसम्मको अधिकार निजी क्षेत्रलाई नै दिनुपर्छ’, उनले भने।

देशभरका जलविद्युत् आयोजनालाई ग्रिडमा जोड्का लागि आवश्यक प्रसारण लाइन बनाउन सरकारले कम्तीमा दुई खर्ब रुपैयाँ लगानी गर्नुपर्ने अवस्था रहेको र सरकारका लागि यो असम्भव प्रायः रहेको उनको भनाइ छ। 

‘सरकारको पुँजीगत खर्च करिब चार खर्ब हाराहारी छ। देशभरको प्रसारणलाइन बनाउन मात्रै दुई खर्ब लगानी चाहिन्छ। यो सबै रकम सरकारले लगानी गर्न सम्भव नै छैन। यी काम निजी क्षेत्रलाई दिनुपर्छ’, लामा भन्छन्।

त्यति मात्रै होइन, भविष्यमा बिजुलीभन्दा पानीको मूल्य महंगो पर्ने अवस्था आउने पूर्वानुमान सार्वजनिक भइरहेको बेला पानीको अधिकतम उपयोग हुने गरी राज्यले नीति बनाउनुपर्ने उनी बताउँछन्।  

विद्युत् प्रयोगको नेपालीहरुको बानी सुधार गर्न पनि सरकारले अभियान नै चलाउनुपर्ने उनले बताए। नेपालीहरुले साँझको खाना ६ बजेभन्दा अगाडि नै खाँदा करिब पाँच सय मेगावाट विद्युत् बचत हुने देखिएको उनले बताए। 

‘विद्युतको पिक डिमान्ड बिहान र बेलुका हुन्छ। खाना पकाउने, पानी तान्नेदेखि घरका धेरैजसो काम बिहान बेलुका हुने भएकाले धेरै विद्युतको माग पनि त्यति नै बेला हुन्छ। खाना खाने समय बेलुकाको ६ बजेभन्दा अगाडि ल्याउने अभियान नै चलाउन आवश्यक छ। उज्यालैमा खाना खाँदा करिब पाँच सय मेगावाट जतिको पीक डिमान्ड घट्छ। यो भनेको करीब दुई हजार मेगावाट थप विद्युत उत्पादन गरे बराबर हुन्छ’, उनले भने।

नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा रहेकाले आगामी दुई वर्षपछि आयात गर्नुपर्ने अवस्था नरहेको लामा बताउँछन्। ‘अहिले पीपीए भएका नौ सय मेगावाट मध्ये पाँच सय मेगावाटका आयोजना मात्रै आगामी दुई वर्षमा बनिसक्दा त्यसपछि नेपालले हिउँदमा पनि विद्युत आयात गर्नै पर्दैन। निर्यात मात्रै गर्ने हो,’ लामाले भने।  

नेपालखबर ‘तत्कालै’मा ऊर्जा उद्यमी उत्तम भ्लोन लामासँगको कुराकानी :

जेठ १५, २०८३ शुक्रबार ७:१०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad