कारोबार


यातायात क्षेत्रमा प्रविधि, अनुशासन र पूर्वाधार सुधार अनिवार्य: अध्यक्ष सिटौला

यातायात क्षेत्रमा प्रविधि, अनुशासन र पूर्वाधार सुधार अनिवार्य: अध्यक्ष सिटौला

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार २०:१३, काठमाडौँ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अबको अनिवार्य आवश्यकता भएको बताएका छन्।

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई आधुनिक र मर्यादित बनाउन व्यवसायीहरू पछाडि फर्कने अवस्था नरहेको स्पष्ट पारेका हुन्। अध्यक्ष सिटौलाले सवारी साधनहरूमा जीपीएस प्रणाली, अनलाइन टिकेटिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

दुर्घटनाको समयमा यथार्थ विवरण पत्ता लगाउन र सडकमा हुने विवाद अन्त्य गर्न पनि प्रविधि आवश्यक रहेको उनको तर्क थियो। उनले सवारी जाँचपास र रुट पर्मिट नवीकरण गर्दा जीपीएस प्रणालीलाई अनिवार्य गर्न सरकार र ट्राफिक प्रहरीलाई आग्रह समेत गरे।

सडकमा जथाभाबी पार्किङ गर्ने र यात्रु चढाउने प्रवृत्तिले सडक व्यवस्थापनमा चुनौती थपेको भन्दै उनले देशभरका सवारी साधन अनिवार्य रूपमा तोकिएका बसपार्कबाटै सञ्चालन हुनुपर्ने बताए। काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कका साथै पोखरा, इटहरी, बुटवल, धनगढी लगायतका सहरमा बनेका बसपार्कहरूलाई पूर्ण उपयोगमा ल्याउनुपर्ने उनको भनाइ छ।

राजमार्गमा सञ्चालित होटलहरूले यात्रुलाई अस्वस्थकर खाना खुवाउने र चर्को शुल्क लिने गरेकोप्रति अध्यक्ष सिटौलाले आपत्ति जनाए।

होटलहरूको नियमित अनुगमन गरी गुणस्तरीय र स्वस्थकर खानाको सुनिश्चितता गर्न उनले सरकारको ध्यानाकर्षण गराए। चालक र सहचालकलाई होटलको कमिसनको लोभमा नफसी यात्रुको स्वास्थ्य र सुविधालाई प्राथमिकता दिन उनले निर्देशन दिए। 

सिटौलाले मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकहरूलाई महासंघले कुनैपनि हालतमा संरक्षण नगर्ने स्पष्ट पारे। 

उनले भने, ‘हामी करोडौँका गाडी खरिद गर्छौँ भने सुरक्षा र पारदर्शिताका लागि जीपीएस र डिजिटल प्रणाली राख्न कञ्जुस्याइँ गर्नु हुँदैन । यात्रुले पनि अलिकति हिँडेर बसपार्क पुग्ने बानी बसाल्नुपर्छ र सवारी साधनले पनि सडकमा यात्रु कुरेर बस्ने अवस्थाको अन्त्य हुनुपर्छ। रातभर तास खेल्ने वा मापसे गर्ने अनि बिहानै यात्रु लिएर हिँड्ने चालकका कारण दुर्घटना बढेका छन्। यस्ता चालकलाई कारबाहीका लागि सिफारिस गरिनेछ।’

यसका साथै, बजारमा भित्रिएका नक्कली पार्टपुर्जाहरूका कारण पनि दुर्घटना बढेको भन्दै उनले वर्कसपहरूको उचित मापदण्ड तोक्न र सीमा नाकाबाट भित्रिने सामग्रीको गुणस्तर जाँच गर्न सरकारसँग माग गरे।

यातायात मजदुरहरूको सामाजिक सुरक्षा र हितका लागि महासंघले विभिन्न मजदुर संगठनहरूसँग मिलेर सरकारसँग संवाद गरिरहेको जानकारी दिँदै सिटौलाले मजदुरहरूको जीवनस्तर सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताए।

मौसमविद्को सूचनालाई प्राथमिकता दिएर सवारी चलाउन र विपद्को समयमा सचेत रहन पनि उनले सम्पूर्ण यातायातकर्मीहरूलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad