कारोबार


बुद्ध एयरले रोक्यो नेपालगञ्ज-पोखरा सिधा उडान

बुद्ध एयरले रोक्यो नेपालगञ्ज-पोखरा सिधा उडान

फाइल फोटो


नेपालखबर
जेठ ६, २०८३ बुधबार १३:३९, काठमाडौँ

करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज-पोखरा सिधा उडान केही समयका लागि स्थगित भएको छ।

भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा-नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए। 

एक महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगञ्ज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उनको भनाइ छ।

पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज पोखरा उडान हुने गरेको थियो । सो उडान मङ्गलबारदेखि स्थगित भएको हो। 

नेपालगञ्ज–पोखरा सिधा हवाई उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश देखिएका छन्। उडान रोकिएपछि अब यात्रुले फेरि सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ। एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगञ्जको पहलमा सो सेवा सञ्चालनमा आएको थियो। 

नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्ध एयरले नियमित तालिका अनुसारको उडान रोकेको आधिकारिक जानकारी भएको उल्लेख गर्दै  उडान अनिश्चित बनेको जिकिर गरे।

सरकारले गर्नुपर्ने काम निजी क्षेत्रको अग्रसरतामा भएको थियो तर सरकारले पहल लिन नसकेका कारण नै बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । पैँतिस मिनेटमै पोखरा पुग्न सकिने सिधा उडान स्थगनभएसँगै यात्रु फेरि लामो र सकसपूर्ण सडक यात्रामा निर्भर हुन बाध्य भएका छन् । बुद्ध एयरले १८ सिट क्षमताकाबीच क्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा दिँदै आएको थियो।

उडान सञ्चालनमा आउँदा पर्यटन क्षेत्रमा उल्लेखनीय उत्साह देखिएको थियो । पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र राराजस्ता पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो भने भारतको लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पोखरा आवतजावत गर्न सहज भएको थियो।

उडान सुरु हुँदा न्यूनतम भाडा रु चार हजार ९३५ देखि अधिकतम रु सात हजार ६३५ सम्म निर्धारण गरिएको थियो । यात्रुको चाप बढ्दै गए दैनिक उडानसम्म विस्तार गर्ने योजना बनाइएको थियो। इन्धनको मूल्यवृद्धिले परेको भाडादर हेरफेरपछि यात्रुको चाप घटेकाले उडान स्थगित गर्नुपरेको बुद्धएयर नेपालगञ्जले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad