देशमै ठूलो गार्मेन्ट उद्योगमध्ये एक मानिएको गार्मेन्ट गियर प्रालि आगामी कुसे औँसीमा कपडा बजारमा पुर्याउने सञ्चालन हुन लागेको छ।
रूपन्देही जिल्लाको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माण भइरहेको उक्त उद्योगको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ।
गार्मेन्ट गियर प्रालि नेपालबाट विदेशमा तयारी पोसाक निर्यात गर्ने उद्देश्यसहित निर्माण भइरहेको उद्योगका कार्यकारी निर्देशक रामकृष्ण खतिवडाले नेपालखबरलाई जानकारी दिए।
‘उद्योग निर्माणका लागि ८० प्रतिशत सभिल स्ट्रक्चरको काम सकिएको छ। यसै वर्षको कुशै औँसीका लागि तयारी पोसाक बजारमा लैजाने योजना छ,’ खतिवडाले भने।
कुसे औँसीमा बुवाको मुख हेर्दा उपहारका रूपमा दिन मिल्ने गरी सर्ट र पाइन्ट बजारमा ल्याउने तयारीसहित काम भइरहेको उनले बताए।
उक्त गामेन्ट उद्योगमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, शिक्षा, स्वास्थ्य र जलविद्युत् क्षेत्रमा लगानी गरेको व्यवसायी उमेश श्रेष्ठ, पूर्वाधार क्षेत्रमा काम गरिरहेका रामकृष्ण खतिवडा, पूर्वबैंकर किरणकुमार श्रेष्ठ र ऊर्जा व्यवसायी राजेश श्रेष्ठको लगानी छ। उक्त उद्योगमा भाटभटेनीका सञ्चालक गुरुङ र शिक्षा क्षेत्रका व्यवसायी उमेश श्रेष्ठको मुख्य लगानी छ।
उद्योगले यसै वर्षको वैशाखबाट उत्पादन बजारमा ल्याउने भनेको थियो। तर, गत भदौमा भएको जेनजी आन्दोलनमा भाटभटेनीमा ठूलो क्षति भएको र अर्थतन्त्रमा प्रतिकूल परिस्थिति बनेका कारण उद्योग निर्माणको काम घोषित समयमा सम्पन्न हुन सकेन।

उक्त व्यावसायिक समूहले प्रवर्द्धन गरिरहेका सबै आयोजना जेनजी आन्दोलनपछि ६ महिनाका लागि पछाडि सारिएको लगानीकर्ताहरूले बताएका छन्।
उक्त उद्योगलाई उत्पादन केन्द्रका रूपमा मात्र नभई नेपालको निर्यातमुखी औद्योगिक क्षेत्रलाई नयाँ दिशा दिने रणनीतिक परियोजनाका रूपमा हेरिएको छ। उद्योगले उच्च गुणस्तरका तयारी पोसाक उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको छ।
गार्मेन्ट गियरबाट उत्पादन भएका सामग्री नेपालमा भाटभेटनीमार्फत बजारमा लैजाने योजना छ। त्यसबाहेक, भारत, अमेरिका र युरोपका देशमा तयारी पोसाक निर्यात गर्ने योजना रहेको खतिवडाले बताए।
‘यो बाइ-ब्याक ग्यारेन्टी भएको उद्योग हो। उत्पादन भएका तयारी पोसाकमध्ये ४० प्रतिशत नेपाली बजारमा र ६० प्रतिशत विदेशी बजारमा लैजाने योजना छ,’ खतिवडाले नेपालखबरसँग भने।
उद्योग निर्माण तथा सञ्चालनका लागि कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी कुल १ अर्ब ३० करोड रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाको रेटिङ गराएको छ। जसमध्ये ८० करोड रुपैयाँ दीर्घकालीन र ५० करोड रुपैयाँ अल्पकालीन कर्जा सुविधा हुने गरी रेटिङ गराएको छ।
नेपालको क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन बैंक सुविधालाई ‘बीबी माइनस’ र अल्पकालीन सुविधालाई ‘एफोर’ रेटिङ प्रदान गरेको छ।

परियोजनाको ऋण-स्वपुँजी अनुपात ७५ः२५ रहने गरी परियोजना अगाडि बढाइएको थियो। जसअनुसार ६० करोड रुपैयाँ बैंक ऋणमार्फत र २० करोड ४० लाख रुपैयाँ स्वपुँजीमार्फत लगानी गरिने भनिएको थियो।
पूर्ण सञ्चालनमा आएपछि उद्योगले वार्षिक करिब ५७ लाख ६० हजार थान विभिन्न प्रकारका तयारी पोसाक उत्पादन गर्ने लक्ष्य राखेको छ। उद्योगले मुख्य रूपमा डेनिम बटम, लेगिङ, जेगिङ, ट्रेगिङ, प्यान्ट, सर्ट तथा निटवेयर उत्पादन गर्नेछ।
कम्पनीले कपडा उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ अर्थात् फ्याब्रिक चीनबाट आयात गर्ने योजना बनाएको छ।
विश्वव्यापी रूपमा इन्धनमा मूल्यवृद्धि भएको कारण चीनबाट सामान ल्याउन कन्टेनर व्यवस्थापन गर्न कठिन भइरहेको खतिवडाले बताए।
सेजमा २५ वर्षको लागि भाडामा लिएको एक लाख ३४ हजार स्क्वायर फिट जग्गामध्ये ९० हजार स्क्वायर फिटमा उद्योग क्षेत्र निर्माण भएको छ। जसमा एक हजार २०० जना कामदारले एकै पटक काम गर्न सक्ने उद्योगको क्षमता छ।
विशेष आर्थिक क्षेत्र (सेज) भित्र उद्योग स्थापना गरिएकाले कम्पनीले विभिन्न कर तथा भन्सार छुट सुविधा प्राप्त गर्नेछ।
सरकारले सेजमा सञ्चालन हुने गार्मेन्ट उद्योगलाई व्यवसाय सुरु भएको मितिले पहिलो ५ वर्षसम्म संस्थागत आयकरमा शतप्रतिशत छुट तथा त्यसपछिका थप ५ वर्षसम्म ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

त्यसैगरी, आयातित कच्चा पदार्थ र मेसिनरीमा भन्सार तथा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको सुविधा पनि उपलब्ध हुनेछ। निर्यातका लागि उत्पादन गरिएका वस्तुमा अन्तःशुल्क नलाग्ने व्यवस्था छ।
Shares

प्रतिक्रिया