टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थलमा जहाज उडान-अवतरण सुरु भएको छ।
सोमबार बिहान पौने सातबजेतिर इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको टिके ७२६ जहाजको पाङ्ग्रामा आगो देखिएपछि विमानस्थल बन्द गरिएको थियो।
‘विमानस्थल बन्द हुँदा केही विमान डाइभर्ट भएका थिए, बिहान सवा ८ बजेदेखि विमानस्थल फेरि सूचारु गरिएको छ,’ विमानस्थल कार्यालयका अधिकारी छवि ठकुल्लाले नेपालखबरसँग भने, ‘डाइभर्ट भएका विमानहरू फेरि अवतरण हुने क्रममा छन्।’
दमकलको सहायतामा आगो निभाइएको छ भने विमानलाई पनि रनवेबाट पार्किङमा लगिएको छ।
विमानमा सवार सबै यात्रु भने सकुशल रहेका उनले जानकारी दिए।
ल्यान्ड गर्ने क्रममा राइटसाइडका ह्विलहरूमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन।
विमानमा आगो लागेपछि सबै यात्रुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार थिए। जसमा ११ जना चालक दलका सदस्य हुन्।
उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोटपटक लागेको छ। रनवे बन्द हुँदा करिब डेढ घण्टा त्रिभुवन विमानस्थलमा विमान अवतरण र उडान रोकिएको थियो।
त्यसक्रममा बुद्ध एयरको जहाज सिमरा, श्रीएयरको विमान विराटनगर, एयर इन्डियाको जहाज दिल्ली र फ्याइ दुबईको जहाज लखनउ डाइभर्ट भएका छन्। विमानस्थल सुचार भएपछि ती जहान फेरि अवतरणकै क्रममा रहेका ठकुल्लाले बताए।
Shares

प्रतिक्रिया