टिभी सेवा प्रदान गर्दै आएको कम्पनी डिशहोमले लकडाउनमा घर बसेका आफ्ना ग्राहक तथा उपभोक्तालाई विभिन्न सुविधा दिएको छ।
कम्पनीले निःशुल्क च्यानल, सिनेमा घर, विद्यार्थीलाई कक्षा सञ्चालन, नयाँ च्यानलहरुको सुविधा उपलब्ध गराएको हो।
लकडाउनको बेलामा सबै ग्राहकले टिभी हेर्न पाऊन् भनेर केही महिनायता रिचार्ज नगरेका ग्राहकलाई निःशुल्क टिभी हेर्ने सुविधा दिएको डिशहोमका जीएम (सेल्स एण्ड आफ्टर सेल्स) रमेश सापकोटाले बताए।

‘अहिले हामीले विगत ६ महिनादेखि रिचार्ज नगरेका ग्राहकहरुलाई निःशुल्क च्यानल हेर्ने सुविधा दिएका छौँ’, सापकोटाले भने, ‘बाहिर भएर वा शुल्क तिर्न नसकेका त्यस्ता ग्राहकले लकडाउनको बेलामा टिभी हेर्न पाऊन् भनेर सुविधा दिएका हौं।’
१ सय ८० दिनभन्दा लामो समयदेखि रिचार्ज नगरेका त्यस्ता ग्राहक झण्डै ४ लाखको हाराहारीमा रहेको सापकोटाले बताए।
त्यस्तै, लकडाउनमा घरमा बसेका विद्यार्थीहरुलाई ध्यानमा राखेर डिशहोमले कक्षा समेत सञ्चालन गरिरहेको छ। चार कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयका कक्षा सञ्चालन गरिरहेको छ।
डिशहोमका जीएम (सेल्स एण्ड आफ्टर सेल्स) रमेश सापकोटा
‘वैशाख २० देखि १५ लाख सेटटप बक्समा यो कक्षा सञ्चालन भइरहेको छ’, सापकोटाले भने, ‘डियरवाक लर्निङ सेन्टरसँगको सहकार्यमा उक्त कक्षा सञ्चालन गरिरहेका छौं।’
बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म एउटा विषय एक घण्टासम्म कक्षा सञ्चालन भइरहेको छ। उक्त कक्षा च्यानल नम्बर ११४, ११५ र ११७ मा उक्त कक्षा सञ्चालन भइरहेको छ। दूरशिक्षा चलाउने गरी पाठ्यक्रम तयार गरेको र ग्रामीण क्षेत्रका शिक्षकले समेत यसको कक्षा लिइरहेको सापकोटाले जानकारी दिए।

लकडाउनभर यस कक्षालाई निरन्तरता दिने उनको भनाइ छ।
डिशहोमले लकडाउनमा घरभित्र बसेका व्यक्तिहरुलाई समय बिताउन र मनोरञ्जनको लागि डिशहोम सिनेमा घर नयाँ सिनेमाहरु चलाइरहेको छ। १०८ र ८८८ नम्बर च्यानलमा ‘सिनेमा घर’ सञ्चालन भइरहेको छ।
फिल्म हलमा जस्तो तीन घण्टामा परिवर्तन हुने गरी फिल्म चलिरहेको र सिनेमा हलमा नलागेका कतिपय फिल्मसमेत डिशहोममार्फत घरमै आउने कम्पनीले जनाएको छ।
डिशहोमले १०८ नम्बर च्यानल ४ वर्षदेखि र ६ महिनादेखि ८८८ नम्बरमा नेपाली फिल्महरु चलाइरहेको छ।

त्यस्तै, ८ वर्षदेखि विभिन्न भाषाका फिल्म १०३ च्यानलमा प्लस मुभी भन्ने चलाइरहेको छ। लकडाउनको अवधिमा दुईदेखि चारवटासम्म फिल्महरु चलिरहेको सापकोटाले बताए।
यसबाहेक रियालिटी टिभी भनेर नयाँ च्यानलमा पनि सुरु गरिएको छ।
कोरियन च्यानल, सिरिजहरु, भोजपुरी च्यानल पनि चलिरहेको उनले बताए।
लकडानको अवधिमा धेरैले सेटटप बक्स जडानको लागि माग गरेर पनि सेवा दिन नसकेको उनले बताए। सहरी इलाका र तराई क्षेत्रमा लकडाउन कडाइ भएकाले सेटटप बक्स जडान नभएको तर अन्य सेवा भने दिइरहेको छ। हिमाली जिल्लाहरुमा नयाँ स्टेसनको काम पनि भइरहेको उनले बताए।
मुलुकभर डिष्ट्रिब्युसन नेटवर्कका रुपमा डिशहोमको १० हजार सर्भिस सेन्टर रहेका छन्। यी सेन्टरमार्फत मर्मत र रिचार्जको सुविधा उपलब्ध छ।
रिचार्ज गर्न नसकेकाहरुलाई कस्टुमर सपोर्ट सेन्टरबाट पनि सहयोग भइरहेको छ। कार्ड प्रयोग गरेर, अनलाइन पेमेन्ट र फन्ड ट्रान्सफर सेवामार्फत ग्राहकले डिशहोमको च्यानल रिचार्ज गरिरहेका छन्।
लकडाउनको समयमा १० दिनसम्म रिचार्ज नगरे पनि चल्ने व्यवस्था गरिएको छ। १० दिनसम्म क्रिडिट लिन सकिने सापकोटाको भनाइ छ।
त्यस्तै, कोही ग्राहक बाहिर निस्किन नसकेको र रिचार्ज गर्न नसकेको अवस्था छ भने डिशहोमको भाइवर ग्रुप वा फेसबुक म्यासेन्जरमा जानकारी गराएमा नजिकका सब डिलरले सम्पर्क गरेर रिचार्ज गराइदिने व्यवस्था समेत रहेको उनले बताए।
सरकारले टिभी सेवालाई सञ्चार क्षेत्रमा राखेको भए पनि त्यसको कार्यान्वयन नहुँदा उपभोक्ताको सेवा सहज हुन नसकेको सापकोटाको भनाइ छ।
डिशहोमका हाल सक्रिय (एक्टिभ) उपभोक्ता ११ लाख रहेको र रिचार्ज नगरेका चार लाख जोड्दा झण्डै १५ लाख ग्राहकले डिशहोम हेरिरहेको सापकोटाले बताए।
Shares

प्रतिक्रिया