कारोबार


अझै कुटानी-पिसानी गर्न पानीघट्टकै भर

अझै कुटानी-पिसानी गर्न पानीघट्टकै भर

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १०:११, कञ्चनपुर

शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन्। यहाँ अन्न पिस्ने एक मात्र माध्यम यही घट्ट हो।

यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन। दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न बाध्य छन्। पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन छ। यसले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पु¥याउँदै आएको छ।

पचास वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार पनि यही घट्टमा आश्रित छ। घट्ट धामी परिवारले चलाउदै आएका छन्। कुलो मर्मत गर्ने, घट्ट व्यवस्थापनको सम्पूर्ण कार्य धामीले गर्दै आएका छन्। ‘घट्ट सञ्चालन गरेवाफत प्राप्त हुने पिठोले करिब चार महिना पुग्छ, बाँकी समय पाखो जमिनको उत्पादनले धानिन्छ’, उनले भने।

एक दशकअघि दार्चुलाको धुलीगडाबाट पहिरोका कारण विस्थापित भई आएको यो परिवार हाल धारापानी खोला नजिकैको जग्गा खरिद गरी बस्दै आएको छ। यसका अतिरिक्त धामी परिवारले सानो किराना र चियाको पसल पनि राखेका छन। त्यसबाट हुने आम्दानीले घर खर्च चलाउन सहज भएको उनी बताउँछन्।

‘पहिले धारापानी घुम्न आउने आन्तरिक पर्यटको निकै चहलपहल हुन्थ्यो कमाइ पनि ठिकै थियो’, उनले भने, ‘सडक असुविधका कारण हाल थोरै मात्रै पर्यटक आउदा आम्दानी पनि थोरै हुने गरेको छ।’

घरका युवाहरु भने कामकै खोजीमा भारततर्फ लागेको उनी बताउँछन्।

स्थानीय जयलाल धामीका अनुसार धारापानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्टको गति सुस्त हुन्छ, जसका कारण दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिन्छ। विसं २०४० देखि उहाँको परिवार यही क्षेत्रमा बस्दै आएको छ।

‘गहुँ मकै लगायतका अन्न पिस्नका लागि एक मात्रै साधन घट्टनै रहेको छ’, उनले भने, ‘कुटानीपिसानी गर्ने मिलसम्म पुग्न झण्डै तीन किलोमिटर वन क्षेत्र छिचोल्नुपर्ने हुन्छ, सडक भरपर्दो नहुँदा पैदलनै हिँड्नुपर्ने भएकाले घट्टनै एक मात्रै कुटानी पिसानीको साधनका रुपमा रहेको छ।’

गाउँका युवाहरु सबै भारततर्फ कमाउनका गएकाले गाउँमा बूढापाकाहरु मात्रै भएकाले पनि घट्टमै भरपर्नुपरेको उनले बताए।

उनका अनुसार, कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा र बागमारेका बासिन्दा पालैपालो यहाँ पुगेर पिठो पिस्ने गर्छन्।

पिसानीको सट्टा आधा किलोदेखि एक किलोसम्म पिठो दिने चलनले सञ्चालकको जीविका धानिएको छ। चारैतिर जङ्गल र नदीले घेरिएको धारापानीमा हाल १४ परिवार बसोबास गर्दै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad