कारोबार


बुवा प्रदीपजंगका पदचाप पछ्याउँदै प्रवलजंग

बुवा प्रदीपजंगका पदचाप पछ्याउँदै प्रवलजंग

महासंघको उपाध्यक्षमा विजयी भएपछि बुवा प्रदीपजंग पाण्डेसँग आर्शिवाद थाप्दै प्रवलजंग पाण्डे।


उद्धव थापा
बैशाख २३, २०८३ बुधबार १९:४४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन्। उनले बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई पराजित गरेका हुन्। 

प्रवलजंगले एक हजार ७९ मत प्राप्त गरेका छन्। प्रतिस्पर्ध ज्योत्सना श्रेष्ठले ७५० मत पाइन्। प्रवलजंगलाई अहिले महासंघको अध्यक्ष बनेका अन्जन श्रेष्ठ समूहको समर्थन थियो। 

मंगलबार सम्पन्न निर्वाचनमा एसोसियट उपाध्यक्ष पदका लागि कुल एक हजार ८३४ मत खसेको थियो। जसमा प्रवलजंगले ५८.८३ प्रतिशत मत हासिल गरेका हुन्।

महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा तीन कार्यकाल पूरा गरिसकेका प्रवलजंग लोमस समूहसँग आबद्ध छन्। औषधि, सिमेन्ट, बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा उनी लगानीकर्ता तथा सञ्चालकका रूपमा सक्रिय छन्। हाल उनी सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्षसमेत हुन्।

महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा प्रवलजंग करिब एक दशकदेखि महासंघको आन्तरिक समीकरणमा सक्रिय रहँदै आएका छन्। व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्षम व्यवसायीका रूपमा उनले आफ्नो पहिचान स्थापित गरेका छन्। 

५१ वर्षीय प्रवलजंग इन्जिनियरिङ पृष्ठभूमिका हुन्। उनले आफ्नो करियरको सुरुआत नेपाल टेलिकमबाट गरेका थिए, जहाँ प्रविधि, संरचना र व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान हासिल गरेका थिए। त्यसपछि निजी क्षेत्रमा प्रवेश गर्दै सिमेन्ट, औषधि, बैंकिङ र बीमा क्षेत्रमा आफ्नो संलग्नता विस्तार गरेका हुन्।

यो निर्वाचनमा प्रवलजंगको जीतको चर्चाको अर्को कारण भनेको पाण्डे परिवारको विरासत हो। वरिष्ठ उद्योगी प्रदीपजंग पाण्डे तीन दशकभन्दा बढी समयदेखि उत्पादन, औषधि, वित्त र ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका छन्। कसमस सिमेन्ट इन्डस्ट्रिज र लोमस फार्मास्युटिकल्स जस्ता कम्पनीहरूमा उनले नेतृत्व गर्दै आएका छन् भने महासंघमा दुई कार्यकाल उपाध्यक्ष र अध्यक्ष दुवै पद सम्हालिसकेका उद्योगी हुन् प्रदीपजंग पाण्डे।

उनी २०७० सालमा ४८औँ साधारणसभाबाट महासंघको अध्यक्ष निर्वाचित भएका थिए। त्यसबेला उनले अध्यक्षका प्रत्यासी भाष्करराज राजकर्णिकारलाई १७७ मत अन्तरले पराजित गरेका थिए। 

२०७० सालमा अध्यक्ष निर्वाचित भएपछि परिवारका सदस्यसँगै प्रदीपजंग पाण्डे।

तर, उनले महासंघमा पूर्ण कार्यकाल काम गर्न पाएनन्। उनी अध्यक्ष निर्वाचित भएपछि व्यवसायीकै एउटा खेमाले पञ्चायतकालीन मुद्दा ब्यूताएर उनलाई २०७१ चैतमा जेल पुर्‍याएको थियो। उनी पञ्चायतकालमा सरकारी कर्मचारी रहँदाको विवादमा तत्कालीन राजाबाट माफी पाइसकेको दाबी गरे पनि उक्त विषय अदालत पुर्‍याएर केही व्यवसायीले महासंघको नेतृत्वबाट विस्थापित गरेका थिए। २०७२ सालमा भने सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति रामवरण यादवले पाण्डेलाई आममाफी दिएका थिए।

त्यसयता पाण्डे भने नेपाल उद्योग वाणिज्य महासंघको गतिविधिमा सक्रिय छैनन्। उनी महासंघका कुनै पनि कार्यक्रममा सहभागी हुने गरेका छैनन्। 

महासंघको नेतृत्वमा छोरा प्रवलजंगको प्रवेशले भने बुवा प्रदीपजंग पाण्डेको निरन्तरता र परिवर्तन दुवैको सन्देश दिएको छ। बुवाको संस्थागत यात्रालाई पछ्याउँदै आएका उनी आधुनिक वित्तीय प्रणाली र कर्पोरेट सुशासनको अनुभवसहित नयाँ दृष्टिकोण ल्याउन सक्ने व्यक्तिका रुपमा व्यवसायीमाझ परिचित छन्। 

महासंघभित्र तीन कार्यकालको अनुभवले प्रवलजंगलाई संस्थागत प्रक्रिया, सञ्जाल र नेतृत्व क्षमता विकास गर्न सहयोग पुर्‍याएको छ। अघिल्लो निर्वाचनमा उपाध्यक्ष पदको दाबी गरे पनि प्यानल रणनीतिका कारण पछि हटेका उनी यसपटक स्पष्ट एजेन्डा र बलियो गठबन्धनसहित मैदानमा उत्रिएका थिए।

यतिबेला न्यून लगानी उत्साह र प्रतिकूल वातावरणका कारण निजी क्षेत्र दबाबमा छ। यस्तो अवस्थामा निजी क्षेत्रले आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने प्रवलजंग बताउँदै आएका छन्। उनको जितले अब महासंघको नेतृत्वमा परम्परागत व्यवसायिक सञ्जाल र नयाँ पुस्ताको संयोजनले कस्तो रूप लिन्छ भन्ने प्रश्नलाई थप महत्त्वपूर्ण बनाएको छ।

प्रवलजंगले चुनाव जितेपछि यसअघि बुवाले चुनाव जितेको तस्बिर फेसबुकमा शेयर गर्दै खुशी साँटेका छन्। उनले लेखेका छन्, ‘बुवा महासंघको अध्यक्ष हुँदाको त्यो क्षण र आज म आफै महासंघको उपाध्यक्ष भएर बुवाबाट आशिर्वाद ग्रहण गर्दै गरेको क्षण दुवै मेरो जीवनको अत्यन्त महत्त्वपूर्ण क्षण।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad