कारोबार


चकलेटदेखि अटोमोबाइल र स्टिलसम्म फैलिएका अञ्जन अब महासंघको सारथि

चकलेटदेखि अटोमोबाइल र स्टिलसम्म फैलिएका अञ्जन अब महासंघको सारथि

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठ


उद्धव थापा
बैशाख २३, २०८३ बुधबार ९:६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्वको जिम्मेवारी अञ्जन श्रेष्ठले पाएका छन्। आजबाट उनी देशभरिकै उद्योगी, व्यवसायीको छाता संगठनको अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।  

एफएनसीसीआईको विधानअनुसार, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका व्यवस्था छ। यसअघि महासंघको ५७औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकालले गरिरहेका थिए। श्रेष्ठ महासंघको २१औं अध्यक्ष बनेका हुन्। आगामी तीन वर्ष उनले उद्योगी व्यवसायीको नेतृत्व गर्नेछन्। 

नेपाल उद्योग वाणिज्य महासंघको देशव्यापी सञ्जाल छ। नेपाल सरकारको देशव्यापी उपस्थितिपछि सबै ठूलो संगठन र उपस्थिति भएको अर्को संस्था नेपाल उद्योग वाणिज्य महासंघ मात्रै हो। करीब ५ लाखभन्दा बढी उद्यमी व्यवसायी उद्योग वाणिज्य महासंघमा आवद्ध छन्। उनीहरुको नेतृत्व श्रेष्ठले गर्नेछन्। 

त्यसबाहेक उद्योग वाणिज्य महासंघ नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो। संसदमा दुई तिहाइ नजिकको बहुमत रहेको पार्टीले सञ्चालन गरिरहेको सरकारसँग मिलेर देशको अर्थतन्त्रलाई थप गति दिने अवसर उनलाई छ। 

श्रेष्ठ महासंघमा २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका  थिए। महासंघको विभिन्ने जिम्मेवारीमा रहेर श्रेष्ठले निजी क्षेत्रको नेतृत्व निर्वाह गर्दै आएका थिए। यसअघि उनीसँग राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरेको अनुभव छ। उनले लक्ष्मी ग्रुपको कार्यकारी निर्देशकको रुपमा उक्त ग्रुपको प्रवद्र्धन गरिरहेका छन्। 

लक्ष्मी ग्रुपको सुरुवात बुद्धिबहादुर र गणेशबहादुर श्रेष्ठले २०३० पुस ५ मा लक्ष्मी मिठाई भण्डारका रूपमा पोखराबाट सुरु गरेका थिए। पछि उनीहरुले कन्फेक्सनरी उद्योग स्थापना गरे। श्रेष्ठले २०४५ सालमा सोही कन्फेक्सनरी उद्योगबाट काम सुरु गरेका थिए। त्यसबेला सुरु गरेको कन्फेक्सनरी अहिले पोखरामा सुजल फुडका रूपमा स्थापित भएको छ। कोका अर्थात् चक्लेट आधारित कन्फेक्सनरी, वेफर्स, गम, ट्रफी, ललिपप र क्यान्डीको उत्पादन गर्ने सुजलले पछिल्लो समय नेपाली बजारको ५० प्रतिशत बजार हिस्सा एक्लैले लिएको छ।

त्यसबाहेक, लक्ष्मी ग्रुपअन्तर्गत उनले प्याकेजिङ, ट्रेडिङ, स्टिल र अटोमोबाइल क्षेत्रमा लगानी विस्तार गरेका छन्। अटोमोबाइल क्षेत्रमा नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरण गर्दै आएका छन्। पछिल्लो समय स्टिल उत्पादन र गाडी एसेम्बलसम्बन्धी उद्योग पनि सञ्चालनमा ल्याइएको छ।

हुन्डाईका गाडी नेपालमै एसेम्बल

अन्जन, निरञ्जन र निराकार श्रेष्ठ तीन दाजुभाइ छन्। त्यसबाहेक उनका ठूलोबुबाका छोराहरु पनि लक्ष्मी ग्रुपमै आवद्ध छन् तर उनीहरुले भिन्नाभिन्नै व्यवसायी सञ्चालन गरिरहेका छन्। 

लक्ष्मी ग्रुपले सन् २००८ मा हुन्डाई ब्राण्डका गाडी आफैं आयात गरेर वितरण गर्न थालेको थियो। अहिले भने हुन्डाई ब्राण्डका केही भेरियन्ट नेपालमै एसेम्बल भइरहेका छन्। अटोमोबाइल क्षेत्र भने निराकारले हेर्छन। लक्ष्मी ग्रुपले मात्रै तीन हजार दुई सय भन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि गर्ने कामको प्राथमिकताहरु श्रेष्ठले गत सोमबार नै सार्वजनिक गरेका थिए। श्रेष्ठले ५ लाखभन्दा बढी व्यवसायी जोडिएको महासंघलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। 

उद्योगी व्यवसायीको छाता संगठनको नेतृत्व आफूले सम्हालेपछि महासंघले आगामी तीन वर्ष नयाँ सरकार र सबै सरोकारवालासँग हातेमालो गर्ने बताएका छन्। 

सो क्रममा उद्यमी व्यवसायीको हितको रक्षा, मनोबल वृद्धि र अर्थतन्त्र विस्तारलाई मुख्य ध्यान दिने उनको योजना सार्वजनिक गरेका छन्। 
उनले भनेका छन्, ‘अर्थतन्त्रमा करिब ८२ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र सरकारको सहयात्री हो, साझेदार हो। आगामी तीन वर्षको मेरो कार्यकालमा यो मुख्य उद्देश्य रहनेछ।’

उद्यमी व्यवसायीको हित रक्षा र अर्थतन्त्र विस्तार

उनले पछिल्लो समय अवसर र चुनौती दुवै उत्तिकै रहेको बताउँदै ध्यान दिएर काम गर्ने बताएका छन्। स्थिर सरकार आउनु, विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा हुन् र सुशासन र भ्रष्टाचारविरुद्ध सरकार प्रतिबद्ध रहनु महासंघकै लागि पनि अवसर देखेका श्रेष्ठले पश्चिम एसिया अस्थिर हुँदा देशले मूल्यवृद्धि, इन्धन आपूर्ति र रेमिट्यान्समा प्रतिकूल असरलाई चुनौतीका रुपमा अघि सारेका छन्। 

खासगरी राजस्व र खर्चबीचको खाडल बढेको, कर्जा निजी क्षेत्रमा जान नसकेको र उद्यमी व्यवसायीको मनोबल खस्किएकामा चिन्ता जनाएका छन्।

त्यसकारण युवा आकांक्षालाई व्यावसायिक अवसरमा बदल्ने र निजी क्षेत्रको आत्मविश्वासलाई पुनस्र्थापित गर्ने दुवै काम सँगै गराउन लागिपर्ने बताएका छन्।

सरकार, नीति, प्राथमिकता र संयन्त्र फेरिएको भन्दै उनले अब अवस्था पनि फरक हुनुपर्नेंमा जोड दिएका छन्। नीतिगत स्थिरता दिने सम्भावना सरकारबाट देखिएको अवगत गर्दै उनले निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। 

उनको भनाइ छ, ‘तर अब अवस्था फरक हुनुपर्छ। स्थिर सरकारले नीतिगत स्थिरता दिने सम्भावना बढेको यस घडीमा, हामी निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न तयार हुनुपर्छ। सरकारले उचित वातावरण बनाइदिने हो भने ८२ प्रतिशत अर्थतन्त्र चलायमान गराउने जिम्मा हामी निजी क्षेत्रकै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad