अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री हुने बताएका छन्।
शनिबार बाह्रखरी मिडियाद्वारा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अब नेपालले आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्नुपर्ने बताए। सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी एक हजार पाँच सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले नेपालका लागि यो ‘आर्थिक प्रस्थान बिन्दु’ भएको उनको भनाइ थियो।
‘हामी सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्नेछौँ,’ उनले भने, ‘मैले विगत १२ वर्षदेखि भन्दै आएको तौलरहित र दूरीरहित अर्थतन्त्रको अवधारणा कार्यान्वयन गर्ने समय आएको छ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए।
‘कानुन कार्यान्वयनमा हामी निर्मम र कठोर हुनेछौँ तर इमानदार उद्यमीहरू डराउनुपर्ने अवस्था छैन,’ वाग्लेले भने, ‘आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानीको सुरक्षा, सम्पतीको रक्षा र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनेछ।’
नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भौगोलिक जटिलतालाई चिर्न डिजिटलाइजेसन नै प्रमुख अस्त्र हुने उनको भनाइ थियो। सूचना प्रविधिलाई प्राथमिकता दिनैका लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने उनले विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया