३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा भएको टी टेस्टङ प्रतियोगितामा गण्डकी प्रदेश, बागलुङ जिल्लामा अवस्थित गोल्डेन टी ईस्टेट प्राली, ताराखोला गाँउपालिका–१ शिरूवारीको २ वटा चियाले प्रथम स्थान हासिल गरेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको ३०औँ राष्ट्रिय चिया दिवसको मूल समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। जम्मा चार क्याटागोरीमा भएको चियाको स्वाद परीक्षण प्रतियोगितामा दुई क्याटागोरीमा प्रथम भएको हो। ग्रिनिस अर्थोडक्स, गोल्डेन टी, ह्वाईट टी र ग्रिन टी क्याटागोरीमा मध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको हो।

नेपालभरीका ४५ चिया उद्योगका ३२० चियाका नमूनाको अर्गानोलेप्टिक टेष्ट गरिएको थियो। भारतका वरिष्ठ टी टेस्टर कौषिक भट्टाचार्य र डेविड जोनसन साथै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका वरिष्ठ चिया प्राविधिक नविन कोइरालले चिया परीक्षण गरेका थिए। स्वाद बाट गरिने चिया परीक्षणमा सुख्खा चियाको रूप, बासना, तातोपानी डुबाईसकेपछिको रूप र बासना र स्वादलाई इन्द्रियहरूको माध्यमबाट अनुभूति गर्ने गरिन्छ।

समुद्री सतहबाट २२०० देखि २४०० मिटरमा फैलिएको चिया बगानबाट उत्पादित चिया गुणस्तरमा अब्बल सावित भएको हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको ३०औँ राष्ट्रिय चिया दिवसको मूल समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेको अध्यक्षतामा सम्मन्न कार्यक्रममा चिया क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, चिया उद्योगी, चिया किसान र चिया पारखीहरूको सहभागिता रहेको थियो।

विसं २०७२ सालमा स्थापित गोल्डेन टी इस्टेट प्रालिले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा यसै चिया सिजनबाट व्यवसायिक उत्पादन थालेको हो। गण्डकी प्रदेशको चिया उत्कृष्ट हुँदा थप उत्साह र जिम्मेबारी बढेको क्षेत्रीय कार्यालय पोखराका प्रमुख श्री चन्द्र पुरीले बताए।

विविध समस्याहरूको बाबजुद बोर्डको सहयोगमा चिया प्रशोधन शुरू गरी चियाको गुणस्तर अब्बल सावित हुँदा हौसला बढेको गोल्डेन टि इस्टेट प्रालीका अध्यक्ष सरोज दाहालले बताए। उनले यस संस्थाको अध्यक्षको रूपमा अझ बढी जिम्मेवार भएको अनुभूति गरेको र आगामी दिनहरूमा अझ समर्पण, निष्ठा र प्रतिबद्धताका साथ अघि बढ्ने दृढ अठोट व्यक्त गरेका छन्।

चिया सेवनबाट शरीरलाई सन्तुष्टि पैदा भए झैँ यो सफलताले पनि सन्तुष्टि प्राप्त गरेको बताए। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्राविधिक नगेन्द्र सुवेदीले पहाडी क्षेत्रमा चिनिया जातको चिया खेति गरिने जसबाट अर्थोडक्स, ग्रिन टी लगायतका चिया प्रशोधन गर्न सकिने बताए।
उचाई बढ्दै जाँदा चियाको उत्पादन घट्दै जाने तर गुणस्तर बढ्दै जान्छ, नेपालमा २२०० मिटरभन्दा माथि विरलै चिया बगानहरू रहेको बताउँदै उच्च उचाईको चिया उच्च गुणस्तरको हुने बताए। गण्डकी प्रदेशमा बागलुङ सँगै कास्की र लमजुङमा पनि व्यवसायिक चिया खेती रहेको बोर्डसँग तथ्यांक छ।

Shares

प्रतिक्रिया