कारोबार


सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार २१:२१, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै युवा तथा प्रविधिमैत्री इन्जिनियरसँग ‘विशेष विचार मन्थन’ कार्यक्रमको आयोजना गरेको छ।

प्राधिकरणले आफ्नो सेवालाई नवीनतम् विश्वस्तरीय प्रविधिमा रुपान्तरणका लागि ‘सरप्राइज’ र नवीन प्रयोगको सुरुआतका लागि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा उक्त कार्यक्रमको सुरुआत गरिएको हो। 

प्राधिकरणको मेरुदण्ड मानिने वितरण र प्रसारण सेवालाई आधुनिक बनाउने उद्देश्यको सुरुआतसहित यस्तो कार्यक्रमको आयोजना गरिएको प्राधिकरणको भनाइ छ। 

‘कार्यक्रममा सहभागी युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूलाई विषयवस्तुबारे पूर्वजानकारी दिइएको थिएन’, कार्यकारी निर्देशक शाक्यले कार्यक्रमबारे भने, ‘अध्ययनको समय नदिई उनीहरूमा रहेको विद्यमान ज्ञान, तत्काल समस्या समाधान गर्ने क्षमता र विश्वव्यापी प्रविधिबारेको बुझाइलाई सोझै विश्लेषण गरिएको थियो। यसले युवा इन्जिनियरहरूलाई यथास्थितिबाट बाहिर निस्केर नवीनतम् योजनाबारे सोच्न बल पुर्याउने हामीले अपेक्षा गरेका छौँ।’

प्राधिकरणले दिएको जानकारीअनुसार छलफल मुख्य गरेर तीनवटा स्तम्भमा केन्द्रित गरिएको थियो। 

‘चुस्त सेवा अर्थात् प्रशासनिक र प्राविधिक प्रक्रियालाई डिजिटल प्रविधिमार्फत छिटो–छरितो बनाउने, दुरुस्त व्यवस्थापन अर्थात् डाटा र अटोमेसनको प्रयोग गरी प्रणालीमा रहेका कमजोरी र चुहावट शून्यमा झार्ने र तेस्रोचाहिँ विश्वसनीय प्रसारण अर्थात् ट्रिपिङ र भोल्टेजको समस्यालाई आधुनिक ‘स्मार्ट ग्रिड’ प्रविधिमार्फत समाधान गर्ने विषयमा केन्द्रित भएका थियौँ’, उनले भने, ‘हामीसँग भएका ऊर्जावान युवा इन्जिनियरहरू प्राधिकरणको भविष्य हुन्। उनीहरूको प्रविधिप्रतिको लगावलाई संस्थाको कार्यशैलीसँग जोडेर नेविप्रालाई विश्वस्तरीय बनाउने हाम्रो लक्ष्यअनुसार यो कार्यक्रमको थालनी गरेका हौँ। सुरुआतमै हामी आशावादी भएका छौँ।’

प्राधिकरणले यो कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी दिएको छ।

नेपालको ऊर्जा क्षेत्रमा उत्पादन बढेसँगै अबको मुख्य चुनौती गुणस्तरीय वितरण र दिगो प्रसारण भएको भन्दै प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै प्रविधिसँग भिजेका नयाँ पुस्ताका इन्जिनियरहरूलाई ‘ड्राइभिङ सिट’ मा राखेर अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम थालनी गरिएको निर्देशक शाक्यले जानकारी दिए। 

छलफलबाट निस्किएका निष्कर्षलाई छिट्टै कार्ययोजनामा ढालेर वितरण र प्रसारण प्रणालीमा लागू गर्ने प्राधिकरणको तयारी छ। यसले ग्राहकहरूलाई दिइने सेवामा मात्र नभई, प्राधिकरणको आन्तरिक कार्यसम्पादनमा समेत एउटा ठूलो फड्को मार्ने अपेक्षा प्राधिकरणले लिएको छ।

पहिलो कार्यक्रममा प्रविधिमैत्री इन्जिनियरको सक्रिय सहभागिता हुनुलाई प्राधिकरणले सफलताको सुरुआत भनेको छ। यसले नवीन कार्यशैलीसँगै विश्वव्यापी ट्रेन्डअनुसारको प्रसारण र वितरण प्रणालीमा टेवा पुग्ने पनि प्राधिकरणको अपेक्षा छ। छलफलले विद्युत् सेवालाई थप भरपर्दो बनाउने ठोस प्रतिबद्धताका लागि आधार तयार गरेको पनि प्राधिकरणले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad