चर्चित प्रविधि कम्पनी एप्पलले १५ वर्षपछि नयाँ प्रमुख कार्यकारी (सीईओ) पाउने भएको छ। टिम कुकले राजीनामा दिने भएपछि उनलाई जोन टर्नस नयाँ सीईओ बन्नलागेका हुन्।
बीबीसीका अनुसार नयाँ सीईओ बन्नलागेका टर्नस अहिले हार्डवेयर इन्जिनियरिङका प्रमुख छन्। उनी विगत २५ वर्षदेखि एप्पलमै रहेका छन्।
आगामी सेप्टेम्बर १ देखि उनी प्रमुख कार्यकारी बन्दा कुक भने एप्पलको कार्यकारी अध्यक्ष बन्ने बताइएको छ। सन् २०११ यता कुक एप्पलको प्रमुख कार्यकारी छन्। तत्कालीन समयमा सहसंस्थापक स्टिभ जब्सले स्वास्थ्यका कारण राजीनामा दिएपछि उनी प्रमुख कार्यकारी बनेका थिए। जब्सको त्यतिबेलै निधन भएको थियो।
टर्नसलाई अब कुकले योबीचमा कार्य हस्तान्तरण गर्नुका साथै विश्वभरका नीतिनिर्माताहरुसँग कम्पनीका विविध पक्षहरुमा सहयोग गर्ने बताइएको छ।
कुकले एप्पलको नेतृत्वमा रहेर काम गर्न पाउनुलाई जीवनकै ठूलो अवसरका रुपमा लिएको बताएका छन्। उनकै नेतृत्वमा एप्पल विश्वकै मूल्यवान् कम्पनीहरुमध्ये एक बन्न सफल भएको थियो। सन् २०१८ मा एप्पल १० खर्ब डलर मूल्यवान् बन्ने पहिलो पब्लिक कम्पनी बनेको थियो। अहिले एप्पल ४० खर्ब अमेरिकी डलर मूल्यवान् बनेको छ।
कुकले टर्नसलाई कम्पनीको नेतृत्व गर्नसक्ने उपयुक्त व्यक्ति भनेका छन्।
Shares

प्रतिक्रिया