नेपाल धितोपत्र बोर्डले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिको धितोपत्र दलाल सेवा सञ्चालनसम्बन्धी अनुमतिपत्र निलम्बन गरेको छ।
पक्राउ परेका व्यवसायी दीपक भट्टको कारोबारमा जोडिएपछि भृकुटी स्टक निलम्बनमा परेको हो।
बोर्डका अनुसार धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को नियम ३१ विपरीत उक्त संस्थाको ग्राहकहरुको सेयर खरिदबिक्री तथा कोल्याट्रल (धितो)बापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको, सोही नियमावलीको नियम ३१ को उपनियम २, धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट विनियमावली २०६९ को विनियम १३, १६ र १७ को व्यवस्था पालना नगरी खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको बोर्डले जनाएको छ।
त्यसैगरी धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम (कम्तीमा २५ प्रतिशत) नलिई धितोपत्र खरिद गर्न सुविधा दिएको देखिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार भृकुटी ब्रोकिङको सन् २०२६ मार्च २६ को विवरणअनुसार उक्त संस्थाले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम ५ अर्ब ११ करोड ३ लाख ७४ हजार २ सय ३७ रुपैयाँ ५६ पैसा रहेको छ।
उधारोमा सेयर किन्न सुविधा दिई लगानीकर्ताले रकम नै नतिरी हितग्राही खातामा सेयर जम्मा गरिदिने कार्यले धितोपत्रको मूल्यमा प्रभाव पर्नसक्ने र पुँजीबजारमा प्रतिकूल असर पर्न सक्ने तथा तत्काल निलम्बन नगरी काम गरिरहन दिँदा लगानीकर्तालाई नोक्सानी हुने सम्भावना देखिएकोले बोर्डको यही चैत २३ को निर्णयअनुसार धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ८८ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ३० को उपनियम १ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड खअनुसार भृकुटी ब्रोकिङ कम्पनी प्रालिलाई निलम्बनमा राखी धितोपत्रसम्बन्धी कानुनी व्यवस्थाको पालना गरी लगानीकर्तालाई दिनुपर्ने रकम फर्छ्योट गर्ने र उक्त संस्थाबाट कारोबार गरिरहेका लगानीकर्ताले निलम्बन अवधिभर अन्य धितोपत्र व्यवसायीबाट कारोबार गर्न चाहेमा प्राविधिकलगायत अन्य कार्यमा आवश्यक व्यवस्था गर्नुपर्ने बोर्डले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया