चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ। यही चैत २३ देखि २५ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सो सम्मेलन हुने भएको हो।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्काय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासङ्घको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो। सम्मेलनका सदस्यसचिव विश्वविद्यालयका उपप्रध्यापक डा केदार देवकोटाका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा चार विधामा ४२ कार्यपत्र प्रस्तुत गरिने छन्।
उनका अनुसार सम्मेलनमा मौरीपालन, एपी थेरापी, परागसेचन र मौरीसँग सम्बन्धित रोग र किरा व्यवस्थापनको विषयमा कार्यपत्र प्रस्तुतीकरण एवं छलफल हुने छ। सम्मेलनमा नेपालसहित भारत, थाइल्यान्ड, चीन, कोरिया, अमेरिका क्यानाडा, ग्रिस, हङ्गेरी, स्विडेन, स्टोनिया, बङ्गलादेश, श्रीलङ्कालगायतका गरी १९ देशबाट विषयविज्ञ तथा कृषकको सहभागिता रहने जनाइएको छ।
सम्मेलनमा मह प्रदर्शनी तथा मेलासमेत आयोजना गरिने छ। जसमा आठ वटा स्टल रहने छन्। सम्मेलनमा हनी बार सञ्चालन गरिने आयोजकको भनाइ छ। नेपालमा पाइने मह चखाउन पनि बार सञ्चालन गर्न लागिएको हो। रासस
Shares

प्रतिक्रिया