प्रधानमन्त्री बालेन्द्र शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग सामूहिक भेट गरी उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।
त्यस अवसरमा उनले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताएका भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिए।
सो अवसरमा प्रधानमन्त्री शाहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए।
आफूहरूले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरुको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताए।
उनले भने,‘प्रधानमन्त्रीको तर्फबाट खासगरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय जो छ। त्यसलाई अगाडि बढाउने भन्ने पनि आएको छ। र गोकुलेश्वर एयरपोर्टलाई कसरी छिटो संचालनमा ल्याउन सकिन्छ, त्यो कुरा पनि आएको छ। यी दुई वटा कुराहरू महत्वपूर्ण रुपमा आएका छन्।’
बैठकमा प्रधानमन्त्री शाहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिएका थिए। धनगढी–दीपायल दूतमार्ग, अति जरुरी सडक, खानेपानी लगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री साहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताए।
उनले भने,‘धनगढी–दिपायल फाष्ट ट्रयाकलाई अघि बढाउने कुरा गरेका छौँ। जरुरी सडक, खानेपानी, नेटवर्कलगायतका विषयमा पनि हामीले राखेका छौँ। जनताको समस्याको विषयहरु सग्रतामा हामीले राखेका छौँ।’
प्रधानमन्त्री साहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदहरूसँगका भेटवार्तालाई निरन्तरता दिएका हुन्।
भेटमा उनले अति जरुरी जनचासोको योजनाहरूलाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताएको भेटमा सहभागी सांसदहरूले बताएका छन्।

प्रतिक्रिया