विश्वप्रसिद्ध कफी चेन स्टारबक्सले भारतमा आफ्नो पकड बलियो बनाउन नयाँ रणनीति अख्तियार गरेको छ।
तीव्र प्रतिस्पर्धा र बढ्दो घाटाका बाबजुद कम्पनीले अहिले नाफा कमाउनुभन्दा पनि बजार विस्तारलाई उच्च प्राथमिकता दिने नीति लिएको हो।
टाटा समूहसँगको ५०-५० प्रतिशत संयुक्त लगानीमा सञ्चालित 'टाटा स्टारबक्स' प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशान्त दासले ब्लुमबर्गसँगको कुराकानीमा भनेका छन्, ‘भारत हाम्रा लागि विश्वकै शीर्ष पाँच बजारमध्ये एक हो र यहाँ हाम्रो ध्यान अझ बढी केन्द्रित रहनेछ।’
सन् २०१२ मा मुम्बईको हर्नम्यान सर्कलबाट पहिलो स्टोर सुरु गरेको स्टारबक्सले भारतमा कफी संस्कृतिलाई नयाँ उचाइ दिएको छ। सुरुवाती दिनमा यो केवल उच्च वर्गको गन्तव्य मानिन्थ्यो, तर पछिल्ला वर्षहरूमा यसले मध्यम वर्ग र युवा पुस्तालाई लक्षित गर्दै साना सहरहरूमा पनि पाइला टेकेको छ।
ब्लुमबर्गका अनुसार स्टारबक्सले सन् २०२८ सम्ममा भारतमा एक हजार स्टोर पुर्याउने लक्ष्य राखेको छ। हाल भारतका ८१ सहरमा यसका ५०४ स्टोरहरू सञ्चालनमा छन्। यद्यपि, विस्तारको यो बाटो सहज भने छैन।
तथ्यांक प्लेटफर्म 'टोफ्लर'का अनुसार गत मार्चसम्मको वित्तीय वर्षमा टाटा स्टारबक्सको घाटा झन्डै दोब्बर भएर १ करोड ६५ लाख अमेरिकी डलर पुगेको छ। यद्यपि, राजस्वमा भने ४.८ प्रतिशतको वृद्धि देखिएको छ। सीईओ दासले यो इकाइ 'क्यास-पोजेटिभ' भइसकेको दाबी गरे पनि पूर्ण नाफामा जाने निश्चित समयसीमा भने खुलाएका छैनन्।

स्थानीय स्वाद र मेनुमा ‘ट्विस्ट’
स्टारबक्सले आफ्नो विश्वव्यापी पहिचान जोगाउँदै भारतीय उपभोक्ताको रुचि अनुसार मेनुलाई ‘स्थानीयकरण’ गरिरहेको छ। यसअघि सिंगापुरमा लुनार नयाँ वर्षका लागि 'एग रोल' ल्याएझैँ भारतमा पनि क्षेत्रीय स्वादहरू थपिएका छन्।
अहिले स्टारबक्सको मेनुमा दक्षिण भारतको ‘मालाबार एग रोस्ट’, कोलकाताको ‘कोषा मांशो’बाट प्रेरित र्याप र मुम्बईको लोकप्रिय ‘वडा पाव’ शैलीका बनहरू उपलब्ध छन्। यसका साथै कम्पनीले 'प्रोटिन फोम कफी' जस्ता नयाँ प्रडक्टहरू मार्फत स्वास्थ्य सचेत उपभोक्तालाई पनि तानिरहेको छ।
तीव्र प्रतिस्पर्धा
सिएटल, अमेरिका मुख्यालय रहेको स्टारबक्सले हाल विश्वभर विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ।
अमेरिकामा सञ्चालन सुव्यवस्थित गर्ने प्रयास, पश्चिम एसियाकम उपभोक्ताले गरिरहेको बहिष्कार र चीनको व्यवसायमा ६० प्रतिशत हिस्सा बिक्री गरेपछि स्टारबक्सको ध्यान भारततर्फ मोडिएको हो।

भारतभित्रै पनि स्टारबक्सलाई स्थानीय ब्रान्डहरूले कडा टक्कर दिइरहेका छन्। विशेषगरी ‘ब्लु टोकाई’जस्ता स्पेसालिटी कफी रोस्टर र सस्तो मूल्यमा कफी उपलब्ध गराउने ‘एबी कफी’जस्ता नयाँ स्टार्टअपहरूले स्टारबक्सको बजार हिस्सामा चुनौती थपेका छन्।
पछिल्लो त्रैमासिकमा एउटै स्टोरको बिक्री वृद्धि ३ प्रतिशतमा खुम्चिए पनि टाटा स्टारबक्सले आक्रामक विस्तारलाई नै आफ्नो मुख्य हतियार बनाउने स्पष्ट संकेत दिएको छ।
Shares

प्रतिक्रिया