सरकारले नयाँ बजेटमार्फत आगामी आर्थिक वर्षमा सुरुङ, रेल र जलमार्ग निर्माणलाई तीव्रता दिने भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकताबारे संसदलाई जानकारी दिँदै नयाँ बजेट सोहीअनुसार ल्याउने बताएका हुन्।
सडक निर्माणलाई प्राथमिकतामा राखी निर्माणाधीन रणनीतिक सडक, द्रुतमार्ग, शाखा सडक र स्थानीय सडकलाई केन्द्रसम्म जोड्ने सडकलाई आवश्यक स्रोत व्यवस्थापन गरिने उनले बताए।
उनले सहरी क्षेत्रमा विद्यमान यातायात चापलाई व्यवस्थित गरी यात्रुलाई सुरक्षित परिवहन सेवा उपलब्ध गराउन तथा सार्वजनिक यातायात सञ्चालनलाई प्रोत्साहन गरिने उनको भनाइ छ।
यसैगरी आधुनिक र स्वच्छ ऊर्जामा सबै नेपालीको पहुँच र निर्माण कार्य सुरु भएका आयोजनालाई तीव्रता दिइने भएको छ।
‘जलविद्युत्, वायु तथा नवीकरणीय ऊर्जामार्फत कार्वन उत्सर्जनमा न्यूनीकरण गरिनेछ’, मन्त्री खतिवडाले आइतबार संसदमा भने, ‘अन्तर्देशीय प्रसारणलाइनको निर्माणलाई तीव्रता दिई विद्युत् व्यापारलाई सहज बनाउन थप पूर्वाधार निर्माण गरिनेछ।’
आपूर्तिलाई भरपर्दो बनाई आन्तरिक खपतलाई प्रत्साहन गरिने उनले बताए ।
त्यस्तै सार्वजनिक निर्माण क्षेत्रमा आबद्ध निर्माण व्यवसायीको क्षमता विकास गरी जवाफदेहिता खोजिने उनको भनाइ छ।
‘निर्माणाधन आयोजनाको काम समयमा सम्पन्न गर्नुका साथै गुणस्तर वृद्धि गर्न आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी तुल्याइनेछ’, उनले भने, ‘हाल विकास निर्माणका काममा उत्पन्न भएका चुनौतीलाई ध्यानमा राखी १५औं पञ्चवर्षीय योजनालाई पुनः प्राथमिकीकरण गरिनेछ।’
प्रदेश र स्थानीय तहमा गएका आयोजना सम्पन्न गर्न स्रोत व्यवस्थापन गरिने बताउँदै उनले प्रत्येक आयोजनाको उपलब्धि सुनिश्चित हुने गरी बजेट तर्जुमा गरिने दाबी गरे।
आगामी आर्थिक वर्षमा धेरै पुनर्निर्माणका काम सम्पन्न हुने गरी बजेट विनियोजन हुने अर्थमन्त्री खतिवडाको भनाइ छ।

प्रतिक्रिया