गत शुक्रबारदेखि लगातार घटिरहेको सुनको भाउ आज सोमबार पनि घटेको छ। तीन दिनदेखि घटिरहेको पहेँलो धातुको मूल्य आज प्रतितोला १३ हजार ४ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
नेपाली बजारमा गत बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो।
पछिल्लो चार दिनको तथ्याङ्क हेर्दा सुनको मूल्य अस्वाभाविक रूपले घटेको देखिन्छ।
गत बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। तर, त्यसको भोलिपल्टै शुक्रबार २० हजार ५ सय रुपैयाँले मूल्य घट्यो।
गिरावटको यो क्रम आइतबार पनि रोकिएन, जहाँ थप १८ हजार ८ सय रुपैयाँ घटेर मूल्य ३ लाखमा झरेको थियो। आजको गिरावटसँगै चार दिनको अवधिमा सुनको मूल्यमा कुल ५२ हजार ७ सय रुपैयाँको कमी आएको छ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र केन्द्रीय बैंकहरूको नीतिमा आएको परिवर्तनका कारण सुनको मागमा संकुचन आएको विश्लेषण गरिएको छ। सामान्यतया विश्वबजारमा अस्थिरता बढ्दा सुरक्षित लगानीका रूपमा सुनको भाउ बढ्ने गर्छ।
तर हालैका केही अन्तर्राष्ट्रिय आर्थिक सूचकांकहरूमा सुधार आएसँगै लगानीकर्ताहरू सुन छोडेर अन्य क्षेत्रतर्फ आकर्षित भएका छन्।
नेपाली बजार पूर्ण रूपमा अन्तर्राष्ट्रिय दरमा निर्भर रहने भएकाले त्यहाँको सानो परिवर्तनले पनि स्थानीय बजारमा ठूलो प्रभाव परेको हो। विवाह र चाडपर्वको सिजन नजिकिँदै गर्दा भएको यो ठूलो गिरावटले उपभोक्तालाई केही राहत दिए पनि लगानीकर्ताहरू भने त्रसित देखिएका छन्।
Shares

प्रतिक्रिया