नेपाली बजारमा नक्कली चुरोट पाउन थालिएको छ। शिखर ब्रान्ड र सूर्य नेपाल प्रालिद्वारा उत्पादित खुकुरी ब्रान्डको नक्कली चुरोट दक्षिण सीमावर्ती क्षेत्रमा छ्यापछ्याप्ती बिक्री भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय गुलरिया, बर्दिया माघले ९ गते भन्सार छली चोरी निकासी गरी ल्याएको लाखौँ मूल्यबराबरको लेडिज सुट र खुकुरी चुरोट बरामद गरेको छ।
प्रहरी चौकी चेपाङ बर्दियाबाट खटिएको प्रहरी टोलीले बाँसगढी नगरपालिका वडा नम्बर १ चेपाङमा उक्त नक्कली चुरोट बरामद गरेको हो। नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा चेकजाँच गर्दा १ लाख ७९ हजार रुपैयाँबराबरको लेडिज सुट र खुकुरी चुरोट बरामद गरिएको हो।
फेला परेको उक्त अवैध सामान आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए।
राजपुर भन्सार कार्यालयका प्रमुख जिवन केसीले ४८ बन्डल अवैध चुरोट प्राप्त भएको जानकारी दिए। समितिको निर्णयको आधारमा छिट्टै उक्त चुरोट नष्ट गरिने उनले बताए।
चालू आर्थिक वर्षमा चोरी पौठारीको ३४८ मुद्दा दर्ता भएको भन्सार कार्यालयले जानकारी दिएको छ।
चुरोट मानव स्वास्थ्यका लागि नकारात्मक मानिन्छ।
नेपालमा उद्योग स्थापना गरी राज्यको नियम कानुन अनुसार उत्पादन हुने वस्तु अवैध रुपमा चोरी पैठारी हुँदा राज्यले ठूलो राजस्व गुमाउनुका साथै प्रतिष्ठित ब्राण्डको ख्यातीमा प्रतिकुल असर पनि पर्छ।
तराईका विभिन्न जिल्लामा भारतको गोरखपुर तिरका साना कम्पनीहरुसहित गोल्डेन टोबाकोले उत्पादन गर्ने नक्कली चुरोट तस्करीका माध्यमबाट नेपाल भित्रिने गरेको छ।
‘नक्कली चुरोटले ब्राण्डको छविमा असर गरेको छ। नक्कली चुरोट र सूर्य टोबाको गुणस्तरमा फरक हुन्छ’, केसीले भने।
चुरोटमा अन्य वस्तुको तुलनामा करका दर उच्च छ। चोरी पौठारी हुँदा राज्यको करोडौं राजस्व गुमिरहेको छ। विशेषगरी तराईका जिल्लामा नक्कली चुरोटको बिगबिगी रहेको उनी बताउँछन्।
कम्पनीले सूचना दिएको आधारमा केही स्थानमा त्यस्ता चुरोटहरु बरामद हुने गरेको छ। भन्सारमा कडाई र बजार अनुगमन नबढाएसम्म यस्ता चोरी पौठारी नियन्त्रण गर्न कठिन हुने उनी बताउँछन्।
स्टिकर, प्रिटिङ र स्वादका माध्यमबाट नक्कली चुरोट पहिचान गर्न सकिन्छ।
Shares

प्रतिक्रिया